७९५ पटक हेरिएको
प्रकाशित: २०७५ श्रावण २५ , ११:१३ बजे

अस्थिरताको नयाँ अश्त्र बन्न सक्छ कांग्रेस !

Image

-खेम भण्डारी
प्रतिपक्षविनाको लोकतन्त्रको कल्पनासमेत गर्न सकिंदैन । जहाँ सक्रिय, स्वतन्त्र र प्रतिवद्ध प्रतिपक्ष हुँदैन त्यहाँ लोकतन्त्र आडम्बरी मात्रै रहन्छ । विश्वका कतिपय मुलुकमा राज्यसत्ताले लोकतन्त्रको आवरण ओढेका छन् तर अन्तर्य लोकतान्त्रिक छैन । ती मुलुकमा कि प्रतिपक्ष दबाइएको छ, कि प्रतिपक्ष नै जन्मन नदिने गरी शासन प्रणालीको नसबन्दी गरिएको छ । त्यस्ता उदाहरण हेर्न धेरै टाढा जानु पर्दैन, छिमेकमैं हेरे पुग्छ । पाकिस्तान र बंगलादेशमा आवधिक निर्वाचन हुन्छ, जनताले चुनेका प्रतिनिधिले सत्ताको बागडोर सम्हाल्छन् तर सरकारहरुको आयू न कुनै संविधान, न निश्चित परम्पराको आधारमा पूर्वानुमान गर्न सकिन्छ । सेना (र, पछिल्लो समय धार्मिक कट्टरतावादी)को इच्छामा जनताका सरकारहरुको अस्तित्व निर्भर हुन्छ ।

भर्खरै सैन्य शासकहरुको मुट्ठीबाट मुक्त भए पनि म्यानमारको लोकतन्त्र विश्वव्यापी मान्यताबाट सञ्चालित छैन, एउटा खास जातीय विभ्रमबाट त्यो निर्देशित छ । श्रीलंकामा शान्त र स्थिर प्रकृतिको लोकतन्त्र देखिन्छ तर त्यो राज्यशक्तिको दुरुपयोगमा हुर्केको शासनतन्त्र मात्रै हो ।

लोकतन्त्रको आडम्बरमा तानाशाही उम्रेका देशहरुको आफ्नो विशिष्टता छ र त्यही विशिष्टताकै कारण देशअनुरुपको आडम्बरी लोकतन्त्र पनि विकसित भएको छ । तर, ती सबै देशको सत्ता करिब–करिब निरङ्कुश हुनुका पछाडि एउटा साझा कारण देखिन्छ, त्यो हो – अस्थिर, अवसरवादी र अप्रतिवद्ध प्रतिपक्ष । उदाहरणमा उल्लेख गरिएका देशमा सत्तारुढ र प्रतिपक्ष दुबै अस्थायी रहने गरेका छन् तर सत्तारुढ हुनेवित्तिकै उनीहरुको लोकतान्त्रिक प्रतिवद्धतामा अचानक स्खलन हुन्छ र शासन प्रणाली जहिले पनि कलेवरमा लोकतान्त्रिक तर व्यवहारमा तानाशाही रहिरहन्छ ।

अहिले नेपालमा अधिनायकवादको हौवा खडा गरिएको छ । पछिल्लो संसदीय निर्वाचनमैं बाम गठबन्धनले जिते अधिनायकवाद आउने भविष्यवाणी गरिएको थियो र अहिले अधिनायकवादले मुलुक ख्वाप्पै पारिसकेको तरिकाले रुवावासी भइरहेको छ । यो रोइलोको सर्जक र प्रचारक स्वयं नेपाली कांग्रेस हो जो सत्ता रसास्वादनको लामो अवधिपछि कम्तीमा पाँच वर्षका लागि प्रतिपक्षी कित्तामा पुगेको छ ।

नेपाली कांग्रेसले अनुमान गरेझैं नेपालमा अधिनायकवाद आउन सक्ने बस्तुगत अवस्थाको बिजारोपण पनि भएको देखिंदैन । दुई बामपन्थी दलले मिलेर निर्वाचन लड्दैमा वा दुई बामपन्थी दल एकीकृत भएर एउटा दल बन्दैमा अधिनायकवाद आउने कल्पना गर्नु र त्यही कल्पनाको आडमा रोइलो गर्नु लोकतन्त्रको चिन्ता भएर हो भन्ने ठान्नु गलत हुनेछ । त्यो रोइलो नेपाललाई जहिल्यै राजनीतिक अस्थिरताको दलदलमा फसाइरहने ‘कोभर्ट डक्ट्रिन’को उपज हो भन्न नसकिने कुनै कारण छैन । दुई तिहाई हुँदैमा देशले स्थिर सरकार पाउँदैन भन्ने दृष्टान्त हामीसँगै छ । बीपी कोइरालाको सरकार ढालिएको मात्रै थिएन, बहुदलीय व्यवस्थाको जरो पनि उखेलिएको थियो । इतिहासको त्यो अध्यायलाई गहिरिएर अध्ययन गर्नेहरुलाई थाहा छ ः बीपी कोइरालाको प्रधानमन्त्रित्व कालमा पनि अहिलेको जस्तै रोइलो मच्चाइएको थियो । अहिले र उहिलेको फरक के मात्रै हो भने अहिले कम्युनिष्टहरुले अधिनायकवाद ल्याउँछन् भन्ने तर्क दिइदैछ, उहिले कांग्रेसले नेपालको सिक्किमीकरण गर्छ भनिएको थियो । अर्को साझा तत्व के हो भने, हिजो कांग्रेसीले गाउँगाउँमा आतंक मच्चाएर राजा महेन्द्रलाई सत्ता कब्जा गर्ने वातावरण बनाउँदा उनीहरु सत्तापक्ष थिए, आज अधिनायकवादको हल्ला मच्चाएर अस्थिरता निम्त्याउने र लोकतन्त्रलाई फेरि एक पटक शक्तिकेन्द्रको जिम्मा लगाउँदै गर्दा कांग्रेसीहरु प्रतिपक्षमा छन् ।

अस्थिरतामा लोकतन्त्रले जरा गाड्न पाउँदैन । आधारभूत तहसम्म लोकतन्त्र र लोकतान्त्रिक संस्कृतिलाई स्थापित गराउने हो भने राजनीतिक स्थिरता पहिलो शर्त हो । निर्वाचनमा प्रष्ट बहुमत ल्याएर आइसकेको राजनीतिक दललाई एक वर्ष नपुग्दै ध्वस्त पारिदिने छिर्केदाउ प्रतिवद्ध प्रतिपक्षले कहिल्यै गर्दैन । जबसम्म संविधानमाथि आक्रमण हुँदैन, जबसम्म सरकार र सत्तापक्षले लोकतन्त्रका आधारभूत मान्यताहरु भत्काउन थालेको प्रष्ट देखिंदैन प्रतिपक्षले अनर्गल र आधारहिन मुद्दाको आडमा जुर्मुराउनु भनेको नियतमैं खोट भएको अवस्था हो भन्न सकिन्छ ।

वर्तमान सरकारको कुन कदम, निर्णय वा सरकारमा रहेका मन्त्रीहरुको कुन अभिव्यक्तिले अधिनायकवाद भित्र्याउने पृष्ठभूमिको संकेत गर्छन् भन्ने बहस नगरिकनै कांग्रेसजनहरु बुरुक्क–बुरुक्क उफ्रेको देख्दा दया लागेर आउँछ । तीन दशकको पञ्चायत र झण्डै त्यति नै लामो अस्थिरताको हण्डर खाएको मुलुकको जिम्मेवार राजनीतिक दलले बौद्धिक जमातले समेत नपत्याउने नारा अगाडि सारेर साना–साना घटनालाई अधिनायकवादसँग जोडेर पेश गर्नुले त्यो दल आफ्नो हित अस्थिरतामा मात्रै देख्छ भन्ने आरोप लगाउन सकिन्छ । प्रतिपक्षले चुप लागेर पाँच वर्ष बस्नुपर्छ भन्ने होइन । चुप लागेर बस्नु हुँदैन, सक्रिय प्रतिपक्षको भूमिका गर्नुपर्छ । तर, आज नेपाली कांग्रेसले बोलिरहेका र उचालिरहेका नाराले भने लोकतन्त्रकै भलो नगर्ने देखिएको छ ।

नेपाली कांग्रेस स्वयंकै ७ दशकको संघर्षबाट मुलुकले प्राप्त गरेको लोकतन्त्र अचानक खतरामा परेर अधिनायकवादको उदय हुने संवैधानिक त्रुटि कहाँनिर छ भन्ने जनतालाई प्रष्ट पारिदिएको भए राम्रै हुने थियो । जनतालाई खतरा कहाँ छ र त्यसलाई रोक्न के गर्नुपर्छ नभन्ने अनि विश्व नै हाँस्ने गरी अधिनायकवादको त्रास फैलाउन खोजेर नेपाली कांग्रेस प्रतिपक्षी भूमिका गर्न समेत सक्षम नभएको सन्देश प्रवाह हुन थालेको छ । प्रधानमन्त्री केपी ओली र उनको दलले चाहँदैमा अधिनायकवाद निम्तिने संविधान बनाउन किन कांग्रेसले सघायो त उतिबेला भन्ने प्रश्नको जवाफ पनि कांग्रेसले नै दिनुपर्छ । कि प्रष्ट बहुमत वा दुईतिहाई बहुमत आएमा लोकतन्त्र खतरामा पर्छ भन्ने कुनै सिद्धान्तको आधारमा कांग्रेसजनहरु बोलिरहेका हुन् ?

प्रसंगलाई प्रारम्भतर्फ जोडौं । प्रतिपक्ष अस्थिर, अवसरवादी र अप्रतिवद्ध भए लोकतन्त्र मात्रै होइन मुलुककै अस्तित्व पनि संकटमा पर्छ । आज नेपाली कांग्रेस इतिहासको त्यो कांग्रेसभन्दा फरक व्यवहार गरिरहेको छ । त्यो दल अत्यन्त अस्थिर र अवसरवादी बनेको छ, लोकतन्त्रप्रतिको उसको आस्था पनि धर्मराउन थालेजस्तो छ ।

नेपाली कांग्रेसमा देखिएको अस्थिरता र अवसरवादको पुष्ट्याई गर्न धेरै लामो दसीप्रमाण आवश्यक छैन, भर्खरैका दुई घटनालाई लिए पुग्छ । डा. गोविन्द केसीको अनसन प्रकरणमा नेपाली कांग्रेस कुनै दयावान र परोपकारी दूतका रुपमा उदाएको हो भन्ने कसैलाई पत्यार नै लागेको छैन । हिजो आफूले डा. केसीसँग गरेको व्यवहार बिर्सेर अचानक मसिहा बन्न खोजेको कांग्रेसको तात्पर्य प्रतिपक्षलाई सचेत गर्नु मात्रै थिएन । केसीको लासमा समेत राजनीति गरेर यो सरकारलाई पाँच वर्ष अगावै ढाल्ने तानाबाना बुनिएको सबैले महसुस गरेको सत्य हो । प्रतिपक्षले सत्ताका लागि अवसरवादको यो पराकाष्ठा प्रदर्शन गरेपछि कसरी मुलुकमा राजनीतिक स्थिरता सुनिश्चित हुन्छ ?

प्रधानन्यायाधीश नियुक्तका क्रममा संसदीय सुनुवाई विशेष समितिले गरेको निर्णयपछि सार्वजनिक भएको नेपाली कांग्रेसको धारणा र अभिव्यक्तिले समेत उसको अस्थिर र अवसरवादी चरित्रकै खुलासा गरेको छ । न्यायाधीश दीपक जोशीलाई संसदीय समितिले अस्वीकार गरेपछि मात्रै कांग्रेसले संसदीय सुनुवाईको औचित्यमा प्रश्न उठायो । यो भन्दा कच्चा राजनीति अरु के हुनसक्छ ? आफूलाई लोकतन्त्रको मसिहा दावी गर्ने राजनीतिक दलले संविधान निर्माणका क्रममा संसदीय सुनुवाईको यो व्यवस्थाप्रति आपत्ति जनाएको गुगल सर्चमा पनि भेटिदैन । दीपकराज जोशीबाहेक अरु कोही अस्वीकृत भएको भए के नेपाली कांग्रेस यस्तै निष्कर्ष पुग्ने थियो ?

साना–तिना घटनाको फेर समातेर प्रतिपक्षको भूमिका गर्न थालेको कांग्रेस जिल्ला तहमा त सामाजिक र आपराधिक मुद्दाहरुको समेत राजनीतिकरण गर्दै हिंड्न थालेको छ । यसबाट त्यो दलमा प्रतिपक्षमा बसेर धैर्य गर्न सक्ने क्षमता नरहेको प्रष्ट हुँदै गइरहेको छ । अर्कोतर्फ, नेपाली कांग्रेस अस्थिर, अवसरवादी र अप्रतिवद्ध हुँदै जाँदा मुलुक अस्थिरताको नयाँ चक्रमा फस्ने जोखिम पनि बढ्दै गएको छ ।

मुखले जे बोले पनि नेपाल अस्थिर हुँदा धेरैलाई फाइदा पुग्छ । नेपालमा राजनीतिक स्थिरता भयो भने आफ्नो सामरिक स्वार्थ पूरा गर्न कठिन हुने बुझाई भएका मुलुकहरु शब्दमा नेपालको स्थिरताको कामना गर्छन् तर भित्रभित्रै अस्थिरताको जाल बुन्न छोड्दैनन् । पृथ्वीनारायण शाहकै पालादेखि यस्तो हुँदै आइरहेको छ । जब–जब नेपाल स्थिर हुन्छ तब अस्थिरता उत्पन्न गर्ने नयाँ ब्रम्हाश्त्रको अविस्कार गरिन्छ र ती अश्त्र बोक्ने नेपाली भरिया पनि फेरिन्छन् । अबको अस्थिरता अधिनायकवादको हौवारुपी अश्त्रमार्फत् लाद्न खोजिएको हुन सक्ने सम्भावना देखिंदैछ । कदाचित त्यसो हो भने भरिया चाँही नेपाली कांग्रेस बन्ने पक्का छ ।


About Author
-खेम भण्डारी