२३९० पटक हेरिएको
प्रकाशित: २०७५ श्रावण २३ , ११:१५ बजे

मानबहादुरले राखे नेताको मान !

Image

– मदन गिरी
महेन्द्रनगर, २३ साउन । कञ्चनपुर निर्वाचन क्षेत्र–३ को ‘ख’बाट निर्वाचित प्रदेशसभा सदस्य मानबहादुर सुनारले महेन्द्रनगर नगर विकास समितिको जग्गा लिज घोटाला बारे उल्लेखनीय तरिकाले विरोधी अभिव्यक्ति दिएका छन् ।

कञ्चनपुर जिल्ला समन्वय समितिको दोस्रो जिल्लासभाको उद्घाटन समारोहमा प्रदेशसभा सदस्य सुनार महेन्द्रनगर विकास समितिको अर्वौको लिज घोटाला प्रकरणबारे कडा रुपमा प्रस्तुत भएका छन् । लिज प्ररणकरणबारे प्रदेश सरकारको ध्यानार्कषण गराउने राम्रो मौका रहेको जिल्लासभामा सदस्य सुनारले मात्र उक्त मुद्दा उठाएका हुन् ।

प्रदेश सरकारका मन्त्री तथा सदस्य र सबै स्थानीय तहका प्रमुख उप प्रमुखको सहभागिता रहेको जिल्लासभामा आर्वौँको लिज घोटालाबारे तत्काल छानबिन आवश्यक रहेको प्रदशेसभा सदस्य सुनारले खुलेरै उल्लेख गरे । उनले तत्कालिन नगर विकासका पदाधिकारीले मनोमानी रुपमा सार्वजनिक जग्गा लिजका नाममा वितरण गरेको बताए । उक्त कार्यले सार्वजनिक सम्पत्तिको दोहन भईरहेकाले यसलाई तत्काल रोक्न सम्बन्धित निकायले पहल गर्नुपर्ने उनको भनाई छ । लिज घोटाला प्रकरण बारे छानबिन प्रतिवेदनको कार्यान्वयन गरी अवैध लिज बदर गरिनुपर्ने उनको माग छ ।

जिल्लासभामा आफ्नै निर्वाचन क्षेत्रको लिज प्रकरणबारे प्रदेश सदस्य प्रकाश रावल भने मौन देखिए । उनले प्रदेशको समृद्धिका लागि प्राकृतिक स्रोत साधनको वैज्ञानिक प्रयोगमा जोड दिनु पर्ने औल्याए ।

प्रदेश–७ का भौतिक पूर्वाधार मन्त्री पठान सिंह बोहराले योजना प्राथकिमताका आधारमा कार्यान्वयन गर्न स्थानीय तहलाई निर्देशन दिएका छन् ।

मंगलबार कञ्चनपुरका नौ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखको सहभागिता रहेको दोस्रो जिल्लासभाको उद्घाटन सत्रमा बोल्दैँ मन्त्री बोहराले यस्तो निर्देशन दिएका हुन् ।

बजेटलाई साना–साना अंशमा विनियोजन गर्दा योजना प्रभावकारी नहुने र बजेटको सदुपयोग नहुने उनको भनाई छ । योजनाको महत्वबारे गम्भीर रुपमा छलफल गरि तत्काल आवश्यक र बढी सार्वजनिक महत्वका विषयलाई प्राथमितामा राख्नु पर्ने उनले बताए ।

मन्त्री बोहराले कतियप स्थानीय तहहरुमा एक अर्काको देखासिकी गरी उस्तै योजना छनौटमा परेको बताउँदै उनले भने, ‘धेरै योजनामा सानो–सानो बजेट छुट्याउनु भन्दा केहि राम्रो योजनामा लगानी गर्नुपर्छ ।’ त्यसका लागि मन्त्रालय र प्रदेश सरकारकोतर्फबाट सक्दो सहयोगका लागि आफू प्रतिबद्ध रहेको उनले बताए ।

भौतिक पूर्वाधार मन्त्री बोहाराले प्रदेश सरकार कानुन निर्माणसँगै आर्थिक समृद्धिको दिशामा अघि बढेको उल्लेख गरे । गत आर्थिक वर्षमा बजेट खर्च गर्न विभिन्न पूर्वाधारको अभावमा समस्या भएको बताउँदै उनले भने, ‘गत आर्थिक वर्षमा हामीले आवश्यक पूर्वाधार निर्माण गरेको छौँ, अब बजेटको पुर्ण प्रभावकारी कार्यान्वयन गर्छौँ ।’

दोस्रो जिल्लासभाको उद्घाटन कार्यक्रमा बोल्दै प्रदेशसभा सदस्य महेशदत्त जोशीले जनप्रतिनिधिहरुले ईमान्दार भएर जनसेवामा लाग्नु पर्नेमा जोड दिए । हरेक योजनामा स्थानीयको अपनत्व र स्वामित्वलाई ध्यानमा राखेर निस्वार्थ भावले काम गर्न उनको सुझाव छ ।

जनप्रतिनिधिले आफ्नो कार्यकालमा नमुना विकासका आयोजना निर्माणमा जोड दिन अर्का प्रदेश सदस्य तारालामा तामाङ्ले सुझाएका छन् । प्रदेश नामाकरण तथा राजधानी निर्धारण समितिका संयोजक समेत रहेका तामाङ्ले अबको एक हप्ता भित्रमा नामाकरण र राजधानी तोकिने बताए । प्रदेशको उपयुत्त राजधानी र नामाकरणका लागिसझाव दिन समेत संयोजक तामाङले आग्रह गरेका छन् ।

जिल्ला सभामा प्रदेश सदस्य प्रकाश रावल, लाल बहादुर खड्का लगायत स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले पनि धारणा राखेका थिए ।

उद्घाटन सत्रमा दार्चुला जिल्ला समन्वय समितिका प्रमुख करविर सिंह कार्की, डडेल्धुराका गणेश भट्ट, कञ्चनपुर जिविसा पूर्व सभापति ऋषिराम लुम्साली लगायतको उपस्थिति रहेको थियो ।

 

 


About Author
-मदन गिरी