२०४६ पटक हेरिएको
प्रकाशित: २०७५ श्रावण २२ , ०९:४७ बजे

ब्रम्हदेवमा भारतको यो दादागिरी !

Image


ब्रमहदेव बजारसँगै जोडेर भारतद्वारा नेपाली भूमिमा सडक निर्माण जारी, नेपालद्वारा काम रोक्न पत्राचार

– मदन गिरी
महेन्द्रनगर, २२ साउन । समय–समयमा नेपालको भूभाग मिच्दै आएको भारतले फेरि कञ्चपुरको सीमा क्षेत्रमा एकतर्फी रुपमा सडक निर्माण सुरु गरेको छ ।

भारतले भीमदत्त नगरपालिका–९ ब्रह्मदेव बजार नजिक टनकपुर बाँधको छेउमा सडक निर्माण गरिरहेको छ । भारतीय पक्षले ब्रह्मदेव बजारसम्मै सडक निर्माणको काम थालेको स्थानीयले बताएका छन् ।


साउन दोस्रो सातादेखि उक्त क्षेत्रमा डोजर लगाएर सडक सम्याउने काम सुरु गरिएको छ । टनकपुर ब्यारेजदेखि ब्रह्मदेव बजारसम्म १ हजार दुई सय ५८ मिटर सडक निर्माण भइरहेका हो ।

भारतीय पक्षले आफ्नै भूमि भएको दावी गरेपनि नेपाली पक्षले नेपालकै भूमि भएको दावी गरेको छ । टनकपुर बाँध निर्माणकै बेला सीमा नम्बर ३ पिलर हराएको थियो । त्यसयता उक्त भूमि विवादित बन्दै आएको नेपाली पक्षको भनाई छ ।

ब्रम्हदेवका स्थानीय श्यामसिह धामीले कालोपत्रे गर्नका लागि भारतीय पक्षले सडक चौडा गर्न लागेको बताए । उनका अनुसार साताअघिदेखि भारतीय पक्षले जेसिबी लगाएर सडक फराकिलो गरिरहेको हो ।

भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथले भारतीय पक्षले एकलौटी ढंगले नेपाली भूमिमा सडक विस्तार गरेको बताए । उनका अनुसार पिल्लर नम्बर ३ देखियता नेपाली भूमि भएपनि भारतीय पक्षले सडक विस्तार गरिरहेको छ ।

कालोपत्रेका लागि भारतीय पक्षले एकलौटी ढंगगबाट काम गरिरहेको बारे नगर कार्यपालिलाई जानकारी गरेएको वडाध्यक्ष नाथको भनाई छ ।

सडक बनाएर थप नेपाली भूमि हडप्नका लागि भारतले ब्रम्हदेब बजारको पश्चिमतिरको छेउसम्मै सडक ल्याउन लागेको छ । ब्रम्हदेब बजारको कल्र्भटमा भारतीय पक्षले टिबिएम–३, टिबी डब्लु लेखेर निसाना लगाएको छ ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार खडकाले सडक विस्तारका लागि नेपाली पक्षसँग कुनै सहमती नभएको बताए । प्रमुख जिल्ला अधिकारी खडकाले सीमा सुरक्षा बल मार्फत भारतीय पक्षलाई संयुक्त सीमा सर्भे टोली अनाउञ्जेल काम रोक्न पत्रचार गरिएको बताए ।

सशस्त्र प्रहरी बल मझगाउँका एसपी विनोदराज श्रेष्ठले वर्षातको समय भएकाले सीमा सर्भेको काम रोकिएको बताए । उनले दुई पक्षीय सर्भे टोलीबाट उक्त विवाद टुंगीने बताए । हाल रोकीएको सिमासर्भे कार्य वर्षातपछि पुनः सुरु हुने एसपी श्रेष्ठको भनाई छ ।

नेपाली पक्षसँग समन्वय नै नगरी भारतले एकलौटी रुपमा सडक विस्तार गरेको प्रति स्थानीयले विरोध जनाएका छन ।

स्थानीयले नेपाली भूमि हडप्नका लागि भारतीय पक्षले एकलौटी सडक निर्माण गरिरहेको दावी गरेका छन् । भारतको नेपालप्रतिको हेपाहा प्रवृत्ति फेरि झल्किएको स्थानीयको भनाई छ ।

 

 


About Author
-खेम भण्डारी