२७५४ पटक हेरिएको
प्रकाशित: २०७५ श्रावण २० , ११:०२ बजे

निर्मला हत्याकाण्ड : झन् रहस्यमयी बन्दै

Image

 

गृहमन्त्री रामबहादुर थापाले संसदलाई दिएको जानकारी नै गलत भएको जिल्ला प्रहरीको भनाई । सीआइबी अझै सूत्रविहिन

– भुवन भट्ट
साउन, २० महेन्द्रनगर । निर्मला पन्त हयाकाण्ड झन् रहस्यमयी बन्दै गएको छ । घटनाको १० दिन वितिसक्दा पनि दोषीको पहिचान गर्न प्रहरी असफल भइरहेकै बेला संघीय सरकारका गृहमन्त्रीले प्रतिनिधिसभालाई दिएको विवरणले घटनालाई झन् रहस्यमयी बनाएको छ । गृहमन्त्रीले ‘च्यानलबाहिर’बाट प्राप्त विवरण संसदमा प्रस्तुत गरेको आशंका गरिएको छ ।

शुक्रबार गृहमन्त्री रामबहादुर थापाले बलात्कारपछि हत्या गरिएकी भिमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षिया निर्मला पन्तको प्रकरणमा प्रतिनिधिसभामा दिएको जानकारी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले ‘असत्य’ बताएको छ ।

संसदमा गृहमन्त्रीले निर्मला हत्याकाण्डमा दुईजना पक्राउ परेको भन्दै नाम र ठेगना समेत खोलेका थिए । उनको सो जानकारीपछि निर्मला हत्याकाण्डबारे प्रहरी अन्तिम नतिजामा पुगेको आकलन गरिएको थियो । तर, कञ्चनपुर प्रहरीले गृहमन्त्रीले संसदमा नाम लिएका व्यक्तिलाई सोधपुछका लागि ल्याइएको ४० मध्ये रहेका बताएपछि गृहमन्त्रीको अभिव्यक्ति विवादस्पद बन्न गएको छ ।

गृहमन्त्रीले संसदमा दिएको सो जानकारी गलत भएको कञ्चनपुर प्रहरीले नै बताएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले गृहमन्त्रीले संसदमा नाम लिएका दुबैजना सोधपुछका लागि मात्रै ल्याइएका र सो जानकारी गृहमन्त्रीसम्म पुग्ने गरी सम्प्रेषण नगरिएको बताएको छ ।

जिल्लाका प्रहरी प्रवक्ता तथा डीएसपी ज्ञानबहादुर सेठीले निर्मला पन्तको हत्यामा संलग्न भएको आशंकमा कैलालीको मोहन्याल गाउँपालिका–५ का २२ वर्षीय जीवन घर्तीमगर र १७ वर्षका दीपक नेगीलाई सामान्य सोधपुछका लागि नियन्त्रणमा लिइएको बताए । उनले सो जानकारी गृहमन्त्रीसम्म कसरी पुग्यो भन्नेमा अनविज्ञता प्रकट गरे । दुबैजनालाई तत्काल छाडिएको उनले बताए । उनले अहिलेसम्म ४० जनालाई सोधपुछका लागि जिप्रका ल्याईएको तर दोषीको एकिन भैनसकेको बताए ।

गहृमन्त्रीले जिल्लाले नपठाएको जानकारी संसदलाई दिनु आश्चर्यजनक हो । गृहमन्त्रीलाई सो जानकारी पठाउने च्यानल केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) भएको अनुमान गरिए पनि सीआइबी समेतको सहमतिमा पक्राउ गरिएका दबैजनालाई छोडिएको हो । सीआइबीले हत्याकाण्डको छानविन गरिरहे पनि निष्कर्षमा पुग्न नसकेको बताइएको छ ।

गत साता बिहीवार निर्मला हत्याकाण्डबारे सत्तारुढ दलका सांसदहरुले नै संसदमा प्रश्न उठाएपछि गृहमन्त्री ‘बादल’ले बालिकाको घाँटी थिचेर हत्या भएको बताएका छन् । गृहमन्त्रीको यो कथनलाई पनि आश्चर्यजनक रुपमा हेरिएको गृहमन्त्रीको यो कथनलाई पनि आश्चर्यजनक रुपमा हेरिएको छ । पोष्टमार्टमको अन्तिम रिपोर्ट नआउँदै गृहमन्त्रीले संसदमा बोलेका हुन् ।

घटनाको अनुसन्धान गरिरहेका प्रहरी अधिकारीहरुले समेत गृहमन्त्रीले संसदमा दिएको अभिव्यक्तिप्रति आश्चर्य प्रकट गरेका छन् । प्रवक्ता एवं डिएसपी सेठीले गृहमन्त्री समक्ष नाम पुगेको विषयमा बोल्न चाहेनन् । उनले अनुसन्धान चलिरहेकोे बताउँदै गृहमन्त्रीले नाम लिएका दुबैजनालाई दैनिक तारेखमा राखेर छोडिएको बताए ।

घटनाको जिल्ला प्रहरी कार्यालयसँगै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले अनुसन्धान गरिरहे पनि महत्वपूर्ण सुराक हात नपरेकोस्रोतको भनाई छ ।

भीमदत्त नगरपालिका–२ सरस्वती माविको कक्षा ९ मा अध्ययनरत् पन्त १० साउनमा हराएकी थिइन् । उनको शव भोलिपल्ट उखुबारीमा भेटिएको थियो । परिवारजनले हराएकै दिन प्रहरीलाई खबर गरे पनि प्रहरीले ‘भोलि आउने’ भन्दै उदाशिनता देखाएको थियो ।

वृहत प्रदर्शन
निर्मला हत्याकाण्डका दोषीलाई सार्वजनिक गर्न माग राख्दै शनिबार महेन्द्रनगरमा स्थानीय वासिन्दा र महिला अधिकारकर्मीले प्रर्दशन गरेका छन् । मृतक निर्मलाका आमा दुर्गादेवी र बाबु यज्ञराज पन्त पनि प्रदर्शनमा सहभागी थिए ।

घटना भएको साताभन्दा बढी समय हुन लागे पनि प्रहरीले दोषी सार्वजनिक नगरेको भन्दै प्रर्दशन गरिएको हो । प्रदर्शनकारी मिना भण्डारीले घटनाका दोषी सार्वजनिक नगरिएकाले दवाव दिन शान्तिपूर्ण प्रर्दशन गरिएको बताइन् । नयाँ शक्ति नेपालकी नेतृ समेत रहेकी अधिकारकर्मी माया नेगीले घटना भएको लामो समय वितिसक्दा पनि दोषीलाई सार्वजनिक नगरिएका कारण बाध्य भएर आन्दोलन थालिएको बताइन् । उनका अनुसार जिल्ला प्रहरी कार्यालय मूल गेट सहित बजारमा प्रर्दशन गरिएको छ । घटना सार्वजनिक नगरिएको बिरोधमा स्थानीय महिलाले आइतबार कञ्चनपुर बन्दको आब्हान गरेका छन् ।

जिल्ला प्रहरी कार्यायलका प्रवक्ता ज्ञानबहादुर सेठीले घटनाबारे अनुसन्धान भईरहेको बताएका छन ।

नेकपा विप्लव कञ्चनपुरले शनिबार एक प्रेस विज्ञप्ती जारी गर्दै राज्य गैरजिम्मेबारी भएको आरोप लगाएको छ । घटनाको १० दिन बितिसक्दा पनि दोषी पत्ता लगाउन नसकेको भन्दै सो पार्टीले आपत्ति जनाएको छ । सो पार्टीका कञ्चनपुर सचिव परिर्वतनद्वारा हस्ताक्षरित विज्ञप्तीमा जिल्लामा दिनानुदिन भईरेहका बलात्कार तथा हत्याहिंसाका घटना र लागु औषध दुव्र्यसन रोक्न समेत माग गरिएको छ ।

 


About Author
-भुवन भट्ट

भट्ट दैनिक मानसखण्डका सम्वाददाता हुन् । उनी दुई वर्षदेखि पत्रकारितामा क्रिाशील छन् ।