२२६१ पटक हेरिएको
प्रकाशित: २०७५ श्रावण १८ , ११:५९ बजे

निर्मला हत्याकाण्ड : सीआइबी पनि टवाँ

Image

महेन्द्रनगर, १८ साउन । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्त हत्याकाण्डमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अनुसन्धान गरिरहेको भए पनि अहिलेसम्म ठोस उपलब्धि नभएको कञ्चनपुर प्रहरीको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीलाई उधृत गर्दै राससले घटनाबारे सूक्ष्म अनुसन्धान भइरहे पनि उपलब्धि प्राप्त नभएको समाचार सम्प्रेषण गरेको छ । ‘ठूलो संख्यामा प्रहरी परिचालन गरेर विभिन्न कोणबाट अनुसन्धान हुँदैछ’, सेटीले राससलाई भने, ‘तर अहिलेसम्म घटनाबारे केही उपलब्धि भएको छैन ।’

घटनाको अनुसन्धान गर्न कञ्चनपुर प्रहरीे सक्षम नभएको दावीका साथ स्थानीयवासीले महेन्द्रनगरमा विरोध प्रदर्शन गरेपछिछ सिआइबीको टोली कञ्चनपुर पुगेर घटनाबारे विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ ।
घटनाको चार दिनपछि बालिकाको दाहसंस्कार गरिए पनि घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गर्दै प्रहरीमाथि दैनिक दबाब बढेको छ । बिहीबार बिहानसमेत महेन्द्रनगरमा विद्यार्थीले निर्मलाका हत्यारालाई कानूनी दायरामा ल्याउनाका साथै सुरक्षाको प्रत्याभूत हुनुपर्ने माग गर्र्दै प्रदर्शन गरेका छन् ।

त्यसैगरी मृतक बालिकाका आफन्तहरुलाई यहाँका स्थानीय तह र विभिन्न व्यक्तित्वबाट समेत सहयोग रकम प्रदान भइरहेको छ । घटनाबारे संघीय संसद्देखि प्रदेश सभासम्म भत्र्सना गर्दै दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरिएको छ । मृतकका आफन्त र स्थानीयवासीले सुरक्षाका लागि चौकी स्थापनाको माग गर्दै भीमदत्तनगरपालिका केन्द्रित आन्दोलनसमेत थालेका थिए ।

स्थानीय सरस्वती माविमा कक्षा ९ मा अध्ययनरत बालिका पन्त साथीको घरबाट गृहकार्य गरेर घर फर्किने क्रममा गत शुक्रबार बेपत्ता भएकी थिइन् । उनको शनिबार बिहान भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा शव भेटिएको थियो । बालिकाको बलात्कारपछि हत्या गरिएको हुनसक्ने आशंका छ ।


About Author
-मानसखण्ड