९९४ पटक हेरिएको
प्रकाशित: २०७५ श्रावण १८ , ११:५४ बजे

स्वार्थ मिले सिण्डिकेट पनि ठीक !

Image

आधुनिक भनिएको बसपार्कमा कांग्रेसका कट्टर समर्थकलाई काउण्टर बाँड्न जिम्मा दिएपछि नेकपाका व्यवसायी क्रुद्ध

-मानसखण्ड
महेन्द्रगर, १८ साउन । हालै सञ्चालनमा आएको र आधुनिक कहलाइएको महेन्द्रनगर बसपार्कमा फेरि सिण्डिकेट पक्षधरकै कब्जा भएको छ । भीमदत्त नगरपालिकाकले संघीय सरकारको नीतिविरीत काम गर्दा बसपार्कमा प्रालि अन्तर्गत सञ्चालित यातायातले टिकट काउण्टर समेत नपाउने अवस्था बनेको छ ।

संघीय सरकारले सिण्डिकेट समाप्त घोष्णा गरे पनि भीमदत्त नगरपालिकाले सिण्डिकेटकै पक्ष पोषण हुने गरी बसपार्कका टिकट काउण्टर वितरणको जिम्मेवारी सिण्डिकेट पक्षलाई दिएको छ । गरपालिकाको यो कदमलाई यातायात व्यवसायीले ‘दाम कमाउने दाउ’का रुपमा अथ्र्याएका छन् ।

नवनिर्मित बसपार्कमा रहेका १२ काउण्टर वितरणका लागि मेयर सुरेन्द्र विष्टले महाकाली सेती वस व्यवसायी समितिका अध्यक्षलाई मौखिक रुपमा जिम्मेवारी दिएपछि निजी कम्पनीले टिकट काउण्टर नपाउने लगभग निश्चित भएको व्यवसायीहरुको दावी छ ।

नगरपालिका आफैले काउण्टर वितरण गर्नुपर्ने भए पनि महाकाली यातायातका अध्यक्ष डम्बर पन्तलाई काउण्टर वितरणको जिम्मा दिइएको छ । पन्त नेपाली कांग्रेसका कट्टर समर्थक पनि हुन् । उनलाई जिम्मेवारी दिएपछि मेयर विष्टको पार्टी नेकपाका व्यवयायी भने क्रुद्ध बनेका छन् । उनीहरुले मेयर विष्टले पैसाको लोभमा काम गरिरहेको आरोप लगाएका छन् ।

नगरपालिकाको यो हर्कत सिण्डिकेटको पक्षमा रहेको निजी कम्पनीका सञ्चालकको आरोप छ । समितिका रुपमा सिण्डिकेट लाद्न खोज्ने महाकाली यातायातका अध्यक्षलाई काउन्टर वितरणको जिम्मा दिइएपछि नेकपा समर्थक यातायात व्यवसायी आक्रोशित भएका छन् । आफ्नो सरकारले सिण्डकेट विरुद्ध कदम चाल्दा भीमदत्तका मेयरले सिण्डिकेटधारी र कांग्रेसका कट्टर समर्थकलाई काउण्टर वितरणको जिम्मा दिएपछि उनीहरु क्रुद्ध भएका हुन् ।

पवनदूत यायायात एण्ड अटो व्यवस्थापन प्रालिका सञ्चालक कृष्णदेव पन्तले सिण्डिकेट पक्षधरसँग साँठगाठ गरी नगरपालिकाले प्रांलिलाई काउन्टर नदिएको गुनासो गरे । ‘नेपाल सरकारबाट खारेज भईसकेका यातायात समितिलाई काउन्टर दिइयो तर वैधानिक रुपले दर्ता भएका प्रालिलाई काउन्टर उपलब्ध गराईएको छैन’ उनले भने ।

पन्तले महाकाली सेती यातायात व्यवसायी समितिका अध्यक्ष डम्बर पन्तले अन्य समितिको सहमति भन्दै काउन्टर वितरणको जिम्मा लिए पनि सिण्डिकेट बाहेकका निजी कम्पनी काउण्टर पाउनबाट बन्चित रहेका दावी गरे । उनले आफ्नो प्रालिका लागि काउन्टर उपलब्ध गराई दिन नगर प्रमुख सुरेन्द्र विष्टलाई आग्रह गर्दा महाकालीका यातायात अध्यक्ष पन्तलाई सम्पर्क गर्न भनेको बताए ।

निजी यातायात कम्पनीबाट मनोमानी रुपमा पार्किङ शुल्क लिएर पनि टिकेट काउन्टर उपलब्ध नगराएको प्रति उनले आपत्ति जनाएका छन् ।

महाकाली यातायात व्यवसायी समितिका अध्यक्ष पन्तले अन्य कम्पनीसँग सहकार्य गर्ने गरी नगरपाालिकाबाट काउन्टर जिम्मा लिएको स्वीकार गरेका छन् । तर उनले सिण्डिकेटकै पक्षमा अभिव्यक्ति दिएका छन् ।
महेन्द्रनगरबाट सञ्चालन हुने गरी जम्मा दुई निजी कम्पनीले अनुमति प्राप्त गरेका छन् । यसअघि सञ्चालनमा रहेका दुई समितिसहित जम्मा चार सेवाप्रदायक भए पनि काउण्टर वितरणको अनौपचारिक जिम्मेवारी पाएका महाकाली यातायातका अध्यक्ष डम्बर पन्तले सिण्डिकेट नै कायम गर्ने गरी व्यवहार गरिरहेको अन्य कम्पनीका सञ्चालकहरुको आरोप छ ।

दैनिक मानसखण्डले यसबारे जिज्ञासा राख्दा पन्तले आफू नै आधिकारिक भएको शैलीमा कुरा गरे । उनले सिण्डिकेटविरुद्ध सरकारको नीतिको आलोचना गर्दै भने, ‘सरकारले घर–घरमा पनि प्रालि खोल्न सकिने अवस्था बनाएको छ । सबैलाई काउण्टर कसरी दिन सकिन्छ ?


About Author
-खेम भण्डारी