१४६५ पटक हेरिएको
प्रकाशित: २०७५ श्रावण १७ , ०९:४० बजे

मिलेमतोका कारण त उन्मत्त भएका होइनन् यी ठेकेदार ?

Image

– पुष्कर भट्ट
महेन्द्रनगर, १८ साउन । भीमदत्त नगरपालिकाबाट निर्धारित स्थानमा पार्किङ शुक्ल उठाउने ठेक्का लिएका एक व्यवसायीले राजमार्गमा गुडिरहेका भारतीय नम्बर प्लेटका सवारीसाधनबाट पनि रकम असुलीरहेको पाइएको छ । ३७ लाख १० हजार रुपैयाँमा पार्किङ शुल्कको ठेक्का सकारेका लिलाधर भट्टले भन्सार नाका प्रवेश गर्ने सबै सवारीसाधनबाट रकम संकलन गरिरहेका भए पनि सम्बन्धित निकायले भने रोक्ने प्रयास गरेका छैनन् ।

व्यवसायी भट्टले गरिरहेको कानुनविरीतको असुली बारे विभिन्न सञ्चारमाध्यमले समाचार दिए पनि उनको सो कार्य नरोकिएको पीडितहरुले बताएका छन् । उनले पार्किङ शुल्कको ठेक्का लिए पनि उनले सवारीसाधनका लागि जारी गर्ने रसिदमा सो उल्लेख छैन । अनुसूचिहरुको फहरिस्त लेखेर उनले करदाताबाट रकम उठाएका छन् । यस विषयमा भीमदत्त नगरपालिका पनि उदाशीन बनेको देखिएको छ ।

ठेक्का समझौता अनुसार भट्टले बजार क्षेत्रमा तोकिएका पार्किङ स्थलमा मात्रै रकम संकलन गर्नुपर्नेमा नाकाबाट निस्कने र पस्ने सवारी साधनबाट रकम लिइरहेका छन् । भीमदत्त नगरपालिका क्षेत्रमा नरोकिएका सवारी साधनबाट समेत उनले रकम असुल्ने गरेको बताइउको छ ।

अहिले उनले भन्सार गेट पुग्नुभन्दा पहिले पूर्व महेन्द्र राजमार्गमै पार्किङ्ग शुल्क संकलन गरिरहेका छन् । भिमदत्त नगरपालिकाबाट बिदेशी सवारी साधन महेन्द्रनगर बजारको पार्किङ क्षेत्रमा प्रबेश गरेवाफत लिईने शुल्कको ठेक्का बालाजी पवन दिप निर्माण सेवा का संचालक लिलाधर भट्ट ले पाएका थिए । उनको पार्किङ्ग शुल्क उठाउने क्षेत्राधिकार बजार क्षेत्र प्रवेश गरिसके पछि मात्र हो तर उनले राजमार्गमा गुडिरहेका गाडी रोकेर साना गाडी बाट १ सय ६० रुपैया र ठूलाबाट ४ सय ८० रुपैयाँका दरले असुली गरिरहेका छन ।

आफ्नै अगाडी ठेकेदारले मनोमानी ढंगले पैसा असुल्दा प्रहरी मुखदर्शक बनेर बसेको छ । भारतका बिभिन्न सहरबाट नेपाल भित्रिने सबै गाडीबाट भट्टले पैसा लिइरहेको सवारीचालकहरुले दुखेसो पोखेका छन । उनले नेपालबाट बाहिरिने सवारी साधनबाट पनि रकम लिने गरेका छन् । भैरहवाबाट महेन्द्रनगर पुग्दा कुनै पनि नगरपालिकामा एक पैसा नतिरेका नेपाली नागरिक श्याम गुप्ताले नाममा गड्डाचौकी ब्यारियल नजिक राजमार्गमा पार्किङ शुल्क भन्दै आफूबाट ४ सय ८० रुपैयाँ असुल गरिएका बताए । उनले ठूलो बसमा नेपाली पर्यटकलाई भारतीय राजधानी दिल्ली लैजाँदा रकम तिर्नुपरेको हो ।

भट्ट भने भीमदत्त नगरपालिकाले आफूलाई १९ वटै वडामा रकम उठाउने अधिकार दिएको बताउछन् तर ठेक्का सम्झौतमा भने पार्किङ क्षेत्रमा मात्रै कर असुल्ने शर्त उल्लेख छ । गड्डाचौकीस्थित ईलाका प्रहरी कार्यालयका प्रमुख सई डिकरदेव पन्त भन्सार ब्यारीयल भन्दा पहिले नै यसरी रकम असुल्न नमिल्ने बताउँछन । भट्टले रकम असुल गरिरहेका भए पनि प्रहरीले उनलाई रोकेको छैन ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले भन्सार ब्यारीयलभन्दा पहिले र राजमार्गमा ठेकेदारले पार्किङ्ग शुल्क लिन नमिल्ने बताउँछन । भट्टले अवैध रुपमा रकम असुल गरिरहेका मेयर विष्टलाई एक साता अगाडि नै थाहा भए पनि नगरपालिकाले यसमा नियन्त्रण गर्न कुनै कदम उठाएको छैन ।


About Author
-– पुष्कर भट्ट