१५३ पटक हेरिएको
प्रकाशित: २०७५ श्रावण १७ , ०९:३४ बजे

ठकेदार र सरकारको उही पाराले भुजेलावासी खतरामा

Image

– मदन गिरी
महेन्द्रनगर, १८ साउन । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेला स्थित महाकाली नदी किनारमा निर्माण गरिएको तटबन्ध भत्किन सुरु भएपछि नदी किनारका स्थानीय वासिन्दा त्रसित भएका छन् । पहाडी जिल्लामा भईरहेको वर्षाका कारण नदीमा जलस्तर बढेकाले कटान बढ्दै गएको छ ।

गत सातादेखि सुरु भएको तटबन्ध कटान नरोकिएको स्थानीयले बताएका छन् । बुधबार भने त्यसमा केही कमी आएको छ । भुजेलाका धर्मराज जोशीले तटबन्ध बलियो नहुँदा भत्किन सुरु भएको बताए । ठेकेदारले कमसल खालको निर्माण समाग्री प्रयोग गरेर तटबन्ध निर्माण गर्दा तटबन्ध भत्किएको जोशीको दावी छ । नदी नियन्त्रणका लागि गत वर्ष मात्रै निर्माण गरिको तटबन्ध महाकाली नदीले भत्काउन सुरु गरेको हो ।

नदीले तटबन्ध भत्काउन सुरु गरेकाले महाकाली गाँउ पस्ने खतरा समेत बढेको छ । नदी गाँउ पस्ने डरले स्थानीय त्रसित बनेका छन् ।

भीमदत्त नगरपालिका–११ का वडाध्यक्ष प्रेमप्रकाश जैसीले ठेकेदारकै लापरवाहीका कारण समस्या निम्तिएको बताए । समयमै काम नगरिदिदा तटबन्ध भत्किन लागेको उनको दावी छ । यस्तै अवस्था जारी रहे महाकाली गाउँ पस्न सक्ने खतरा उनले औल्याएका छन् । भीमदत्त नगरपालिका–११, १२ र १३ वडा महाकालीको उच्च जोखिमा छन् ।

तटबन्ध भत्किन सुरु भएपछि जनताको तटबन्ध कार्यालयले ठेकेदारलाई काममा खटाएको छ । अहिले तटबन्ध निर्माणको जिम्मा पाएको केएस कष्ट्रक्सनले जाली भरान गरिरहेको कार्यालयले जनाएको छ ।

जनताको तटबन्ध कार्यालय कञ्चनपुरले महाकाली नदी नियन्त्रणका लागि चालु आर्थिक बर्ष २०७४÷०७५ का लागि ५६ करोडका तीन ठेक्का दिएको थियो । तीनै ठेक्कामा निर्माण कम्पनीले भुक्तानीको विषयलाई लिएर सम्झौता अनुसार काम सम्पन्न गरेका छैनन् । गत बैशाखमै सम्झौता सकिए पनि निर्माण कम्पनीले भुक्तानी नपाएका कारण काम प्रभावित बनेको थियो ।

जनताको तटबन्ध कार्यालय कञ्चनपुरका ईन्जिनियर महादेव विष्टले तटबन्ध भत्किएको क्षेत्रमा निर्माण कम्पनीलाई काम गर्न निर्देशन दिएको बताए । उनका अनुसार कटान क्षेत्रमा ढुङगा र तारजाली उपलब्ध गराएर रोकथाम गर्न निर्देशन दिईएको छ ।

 


About Author
-मदन गिरी