४८० पटक हेरिएको
प्रकाशित: २०७५ श्रावण १६ , १२:०२ बजे

कञ्चनपुरको यो समस्यातर्फ कसको ध्यान जाने ?

Image

– मदन गिरी
महेन्द्रनगर, १६ साउन । आपराधिक श्रेणीमा रहेका हत्याका अभियोगमध्ये आत्महत्या पनि एक हो । आत्महत्यालाई गम्भीर मनोरोगको परिणाम मानिन्छ र यो कानुनका नजरमा अपराध पनि हो । जुन समाजमा आत्महतयाको दर उच्च छ त्यसलाई स्वस्थ समाज मानिन्न ।

तथ्यांकले कञ्चनपुर जिल्ला पनि स्वस्थ समाजमा पर्दैन किनभने यस जिल्लामा हुने हत्याका घटनामा लगभग आधा आत्महत्याका घटना रहने गरेका छन् । गत आर्थिक वर्षको प्रहरी प्रतिवेदनले नै यो तथ्य प्रकाशमा ल्याएको हो ।

कञ्चनपुर प्रहरीको अभिलेख अनुसार गत वर्ष जिल्लामा भएका ‘हत्या’का कूल २ सय ६९ घटनामध्ये १ सय ५४ आत्महत्याका रहेका छन् । दुर्घटना तथा दुस्मनीबाट हुने घटना जम्मा १ सय ११ हुँदा आफैले आफ्नो ज्यान लिने आत्महत्याका घटना १ सय ५४ हुनु सामाजिक स्वास्थ्यको सूचकांकमा ‘खतरनाक’ मानिन्छ ।

कञ्चनपुरमा आत्महत्याको अवस्था भयावह रहेको पाईएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङक अनुसार गत आर्थिक वर्षमा एक सय ५४ जनाले आत्महत्या गरेका छन ।

जिल्ला प्रहरी कार्यायल कञ्चनपुरका प्रवक्ता ज्ञानबहादुर सेठीले आर्थिक वर्ष २०७४/७५ मा विष सेवन गरि ८५ र झुन्डिएर ६९ जनाले आत्महत्या गरेको बताए ।

उनका अनुसार अकालमैं ज्यान गुमाउनेमा अधिकांश आत्महत्याका घटना रहेका छन । आत्यहत्या गर्नेमा सबै भन्दा बढी युवा रहेको प्रवक्ता सेठीको भनाई छ ।

गत आर्थिक वर्षमा कतव्र्य ज्यान अन्तर्गत २१, भवितव्य ४३, सडक दुर्घटनामा २६ र फुटकर २५ जना गरी दुई सय ६९ को ज्यान गएको प्रवक्ता सेठीले बताए ।

उनका अनुसार आत्महत्या गर्नेमध्ये तनाव प्मुख कारण रहेको छ । विभिन्न सामाजिक, पारिवारिक कारणले अवसाद (डिप्रेसन)मा जाने र त्यसकोे उपचारमा ध्यान नदिंदा आत्महत्याको घटना हुने गरेको उनको भनाई छ । साथै लागु औषध दुव्र्यसन पनि आत्यहत्याको मुख्य कारणमध्ये पर्न गएको छ ।

मनोविज्ञानका जानकारहरु बढ्दो प्रविधि, डिप्रेसन र सामाजिक कारणले आत्यहत्याको जोखिम बढ्दै गएको बताउँछन् । सुदूरपश्मिाञ्चल विश्वविद्यालयको विशेष शिक्षा कार्यक्रम संयोजक एवं उप–प्रध्यापक(मनोविज्ञान विषयका) राजेन्द्रप्रशाद जोशीले प्रविधिसँगै भित्रिएको सामाजिक संञ्जालले आत्महत्याको घटना बढाएको बताए । उनका अनुसार पछिल्लो समय सामाजिक सञ्जालमा बढी सक्रिय हुने गरेले युवापंक्तिमा अवसाद बढ्न गई आत्महत्याको संख्या बढ्न गएको हो ।

उपप्राध्यापक जोशीले पछिल्लो अवस्थामा फेरिएको सामाजिक अवस्था र जीवन शैलीका कारणले पनि आत्महत्यालाई बल पुगेको बताउदैँ भने, ‘सामाजिक तथा आर्थिक अवस्थाको परिर्वतसँगै व्यक्तिका ईच्छा आकांक्षा पनि बढ्दै जान्छन्, आपेक्षकृत रुपमा चाहना परिपूर्ति नहुँदा केहीले आत्महत्या रोज्छन् ।’

आत्महत्या न्यूनिकरणका लागि आमा–बुवा तथा परिवारले नै मुख्य जिम्मेवार बन्नुपर्ने उनले बताए । ‘विभिन्न कामको व्यस्तताले आमाबुवाले छोराछोरीका गतिविधिमा खासै ध्यान दिन सकेका छैनन्, परिवारले नै आफ्ना सदस्यलाई समय दिन सके र डिप्रेसनको प्रारम्भिक अवस्थामा नै उपचार गरिएमा आत्महत्याको जोखिम कम गर्न सकिन्छ’, उनले भने ।

सुदूरपश्मिाञ्चल विश्वविद्यालयको मानविकीशास्त्रका सह–प्राध्यपक हरि प्रशाद बडुले सामाजिक, आर्थिक तथा राजनितिक पक्षहरु नै मुख्य गरि आत्यहत्यासँग जोडीएको बताए । उनका अनुसार आफ्नो भावना कसैले बुझ्दैन भन्ने मनोभावले एक्लोपन महशुस गर्दा आत्यहत्या हुन्छ । बढ्दो सामाजिक सञ्जालका कारणले पनि युवापंक्तिमा आत्यहत्या बढ्दै गएको बताउँदै बडुले भने, ‘सामाजिक सञ्जालबाट अवास्तविक (भर्चुअल)सम्बन्धहरु बन्छन् जसमा चाहाना बढी र परिपूर्ति कम हुँदा मान्छे डिप्रेसनको अवस्था पुग्छ र आत्महत्याका लागि डिप्रेसन नै प्रारम्भिक कारण हो ।’

 


About Author
-मदन गिरी