७८१ पटक हेरिएको
प्रकाशित: २०७५ श्रावण १५ , ११:११ बजे

एक गफाडीको गफमा फस्यो शुक्लाफाँटा नगरपालिका !

Image

हिलोमा डुबेर वनहरामा गाईगोरु मर्दै, शुक्लाफाँटा नगरपालिका भने मूकदर्शक

- भुवन भट्ट
साउन, १६ महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित बनहरामा गौशालाको व्यवस्थापन गर्ने जिम्मा लिएका एकजना बेपत्ता भएपछि तारबारमा घेरिएको गाईगोरु मर्न थालेका छन् ।

माधव भण्डारी नामक व्यक्तिले नगरपालिकाले बनाएको टहरा र तारबारमा आफ्नै खर्चमा चौपाया व्यवस्थापन गर्ने वाचा गरेपछि शुक्लाफाँटा नगरपालिकाले उनको विश्वास गरेर सुम्पेको थियो । तर, अहिले भण्डारी सम्पर्कविहिन भएपछि नगरपालिकालाई समस्या परेको छ ।छाडाचौपाया व्यवस्थापन भनेर ०७४ कात्तिकमा करिब ५ लाख रुपैयाँ लगानीमा सामान्य गौशाला निर्माण गरिएको थियो । गौशाला निर्माण गरेको करिब ६ महिनासम्म त्यसको व्यवस्थापन नगरपालिकाले गरेको थियोे । तर गत जेठ २८ गते गौशालाको व्यवस्थापन माधव भण्डारीलाई दिइएको थियो । वडा नम्बर ११ का वडा अध्यक्ष दिलबहादुर बुढाले गौशालाको व्यवस्थापन गर्ने प्रतिबद्धता अनुरुप माधव भण्डारीलाई गत जेठ २८ मा जिम्मा लगाईएको बताए । उनका अनुसार भण्डारीले सम्पूर्ण खर्च आफैले बेहोर्ने भनेपछि जिम्मा दिइएको हो ।

अहिले ठेकेदार भण्डारीको अत्तोपत्तो नभएको अध्यक्ष बुढाको भनाई छ । भण्डारी सम्पर्कविहिन भएपछि आफू फसादमा परेको उनले बताए । अहिले गौशाला पूरै हिलाम्य भएको उनले बताए । हिलोका कारण दैनिक २ देखि ३ वटा गाईगोरु मरिरहेका उनको भनाई छ ।

ठेकेदार भण्डारी एक महिनाभन्दा लामो समयदेखि सम्पर्कमा नआए पनि नगरपालिकाले भने गाईगोरु बचाउन पहल नगरेको स्थानीय वासिन्दाहरुको भनाई छ । खुला आकासमुनि जंगलको छेउमा तारवार लगाएर निर्माण गरिएको गौसालामा अहिले करिब २ सयवटा गाईगोरु रहेका छन् । स्थानिय ज्ञानेन्द्रबहादुर धामीले हिलोमा डुबेर गाईगोरु मरिरहेका जानकारी दिए ।

 


About Author
-भुवन भट्ट

भट्ट दैनिक मानसखण्डका सम्वाददाता हुन् । उनी दुई वर्षदेखि पत्रकारितामा क्रिाशील छन् ।