१४६६ पटक हेरिएको
प्रकाशित: २०७५ श्रावण १५ , १०:५७ बजे

निर्मलाको अन्येष्ठी र त्यसपछि....

Image

 

राजनीतिकरणको घिनलाग्दो प्रकरण पनि सकियो । भीमदत्तका मेयर अन्त्येष्ठीमा सहभागी । बेदकोटका मेयरद्वारा १० हजार रुपैयाँ व्यक्तिगत सहयोग । नेकपाद्वारा वृहत श्रद्धाञ्जलीसभा । पत्रकारमाथि दुव्र्यवहार गर्ने पक्राउ । सामाजिक सञ्जालमा प्रहरीको चरित्रहत्या गर्नैको खोजी सुरु । निर्मलाको स्मृतिमा चिलड्रेन पार्क बनाइने ।

– मदन गिरी
महेन्द्रनगर, १५ साउन । परिवार, आफन्त र अभिभावकले सदगत चाहे पनि ‘आन्दोलनकारी’का कारण महाकाली अञ्चल अस्पतालमैं थन्किएको १३ वर्षीया किशोरी निर्मला पन्तको शवको सोमबार विहान ७२ घण्टापछि अन्त्येष्ठी गरिएको छ ।

परिवारका सदस्य, प्रहरी र स्थानीय प्रशासनको पहलमा सोमबार विहान महाकाली नदीमा उनको शव चितामार्फत् सदगत गरिएको हो । अन्त्येष्ठी समारोहमा भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट सहभागी भएका छन् । उनले निर्मलाको पार्थिव शरीरमा श्रद्धाञ्जली दिएका थिए ।

अन्त्येष्ठी घाटमा पुगेका बेदकोट नगरपालिकाका मेयर अशोक चन्दले श्रद्धाञ्जलीका साथ व्यक्तिगत रुपमा पीडित परिवारलाई अन्त्येष्ठी खर्चवापत १० हजार रुपैयाँ प्रदान गरेका थिए । अन्त्येष्ठी स्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थित थियो । अन्त्येष्ठीमा प्रदेशसभा सदस्य प्रकाश रावल पनि सहभागी थिए ।

आइतबारसम्मको उग्र आन्दोलनलाई दृष्टिगत गरी स्थानीय प्रशासनले सोमबार सबेरै विहान महाकाली अञ्चल अस्पतालबाट शवयात्रा सुरु गर्न परिवारलाई सहयोग गरेको थियो । शवयात्रामा करिब २ सय व्यक्तिको सहभागिता रहेको थियो ।

सहभागी हुन पाएनन् आन्दोलनकारी
आइतबारसम्मसक्रिय आन्दोलनकारीलाई भने शवयात्रामा सहभागी हुन नदिने गरी स्थानीय प्रशासनले अन्त्येष्ठी कार्यक्रम बनाएर कार्यान्वयन गरेको छ । अत्यन्त गोप्य तरिकाले बनाइएको योजना अनुसार भीमदत्त नगरपालिका–२ का आन्दोलनकारीलाई मात्रै अन्त्येष्ठीमा सहभागी हुन अचानक खबर गरिएको थियो । तर, उनीहरुमध्ये अधिकांश सहभागी नभएको स्थानीय वासिन्दाले बताएका छन् ।

विभिन्न समूहमा विभाजित आन्दोलनकारीको सर्वसम्मत नेतृत्व नहुँदा उग्र बनेको आन्दोलनका कारण ७२ घण्टा अस्पतालको लास घरमैं थन्किएको शव निकाल्दा फेरि अप्रिय घटना हुन सक्ने भएकोले स्थानीय प्रशासनले पीडित परिवारको मन्जुरीमा एकाविहानै शवयात्रा सुरु गरेको बताइएको छ । स्थानीय प्रशासनको यो कदमको सर्वत्र प्रशंसा भएको छ ।

गत शुक्रबार मृत अवस्थामा फेला परेकी भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्त महुलियास्थित सरस्वती माध्यामिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिइन् । उनको बलात्कारपछि हत्या गरिएको प्रहरीले समेत पुष्टि गरेको छ । घटनामा संलग्न ५ जना प्रहरी हिरासतमा रहेका छन् ।

निर्मला हत्याकाण्डको गाम्भीर्य बुझेर सरकारले केन्द्रीय जाँच ब्यूरो खटाएर अनुसन्धान थालेको छ । आइतबार नै जाँच टोली महेन्द्रनगर पुगेर गहन अनुसन्धानमा जुटेको बताइएको छ ।

निर्मला हत्याकाण्डलाई नेपाली कांग्रेसको स्थानीय नेतृत्वले राजनीतिकरण गर्न खोजेको भन्दै सामाजिक सञ्जालमा व्यापक विरोध पनि भएको छ । घटना आराधिक भए पनि आन्दोलन भन्दै शुक्रबार भीमदत्त नगरपालिका घेराउ गरेर आन्दोलनकारीले मेयर सुरेन्द्र विष्ट विरुद्ध नाराबाजी गरेका थिए । प्रदर्शनमा नेपाली कांग्रेसका स्थानीय नेताहरुको सक्रियता देखिएपछि व्यापक विरोध हुँदा शनिबारबाट जिल्ला प्रशासन कार्यालय घेराउ गरिएको थियो ।

आइतबार भने नेपाली कांग्रेसको जिल्ला नेतृत्वले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग संयुक्त विज्ञप्ति जारी गरी आफ्ना कार्यकर्तालाई पछाडि हट्न आव्हान गरेपछि परिस्थितिमा सुधार आएको थियो । पार्टी नियन्त्रणबाहिरका व्यक्तिले भने आइतबार प्रहरीले बल प्रयोग नगरेसम्म अञ्चल अस्पताल बाहिर प्रदर्शन गरेका थिए । अस्पतालजस्तो संवेदनशील क्षेत्रमा पनि उनीहरुले टायर बालेर अराजकता प्रदर्शन गरेका थिए ।

नेकपाद्वारा वृहत श्रद्धाञ्जलीसभा
निर्मलाप्रति श्रद्धाञ्जली अर्पण गर्न नेकपाको जिल्ला नेतृत्वले सोमबार नै वहृत श्रद्धाञ्जलीसभा आयोजना गरेको छ । कञ्चनपुर उदोग वाणिज्य संघको सभाकक्षमा उपस्थित सयौं नेकपा सदस्यहरुले मौनधारणका साथ निर्मलालाई श्रद्धाञ्जली दिएका थिए । सो समारोहमा तत्कालिन नेकपा एमालेका जिल्ला अध्यक्ष तारलामा तामाङ, नेकपाका नेता इश्वरीप्रसाद खरेल लगायत नेताको उपस्थिति रहेको थियो ।

मृतकको सम्झनामा चिल्ड्रेन पार्क बन्ने
भीमदत्त नगरपालिका–२ का वडाध्यक्ष डम्मर कार्की (डिके)ले वडा कार्यालयका तर्फबाट मृतक निर्मलाको सम्झनामा चिल्ड्रेन पार्क बनाउने घोषणा गरेका छन् । उनले मृतक पन्त अध्ययनरत सरस्वती माध्यामिक विद्यालयमा चाँडै चिल्ड्रेन पार्क निर्माण गर्ने प्रतिबद्धता जनाए । निर्मला हत्याकाण्डको विरोधमा सहयोग गर्ने स्थानीय वासिन्दा, मानव अधिकारकर्मी, पत्रकार लगायत सबैलाई वडाध्यक्ष कार्कीले धन्यवाद ज्ञापन गरेका छन ।

आन्दोलनमा दुई जना घाईते
तीनदिनसम्म लगातार प्रर्दशनका क्रममा दुई आन्दोलनकारी घाईते भएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । घाईते हुनेमा सर्वोदय बहुउद्देशीय सहकारीका कर्मचारी गोबिन्द जोशी र भीादत्त नगरपापालिका–४ भगतपुरकी लक्ष्मी मल्ल रहेका छन । घाईते जोशीलाई थप उचारका लागि कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज पठाइएको छ । उनलाई पेट्रोल बम सहित भीडबाट पक्राउ गरिएको प्रहरीको भनाई छ । त्यस्तै घाईते मल्ल महाकाली अञ्चल अस्पतालमा उपचारपछि घर फर्किएकी छन् ।

सिआइबीको टोलीबाट अनुसन्धान चल्दै
निर्मला हत्याकाण्डको सिआईबीको टोलीबाट अनुसन्धान सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवत्ता ज्ञानबहादुर सेठीका अनुसार सिआइबीका डिएपी अंगुर जिसीको नेतृत्वमा तीन सदस्यीय टोली घटनाको अनुसन्धान सुरु गरेको छ । घटनाको सुक्ष्म अनुसन्धान भइरहेको बताईएको छ । घटनामा संलग्न रहेको आशंकामा ५ जना नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रवत्ता सेठीको भनाई छ । सिआइबीका डिएसपी जिसीको नेतृत्वमा तीन सदस्यीय टोली आइतबार नै महेन्द्रनगर पुगेको हो ।

विद्यार्थी संगठनद्धारा प्रशाासनमा घर्ना
सोमबार पनि कञ्चनपुरका विभिन्न ६ विद्यार्थी संगठन शान्तिपूर्ण आन्दोलन गरेका छन् । अखिल क्रान्तिकारी, नेविसंघ, अनेरास्ववियु, बैद्य÷विप्लव क्रान्तिकारी र अखिल छैटौँले प्रशासनमा धर्ना दिएका हुन् ।


पत्रकार माथि दुव्र्यवहार गर्ने पक्राउ
आन्दोलनका क्रममा पत्रकारलाई दुव्र्यवहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आईतबार महाकाली अञ्चल अस्पतालमा स्थलगत रिर्पोटिङ् गरिरहेका पत्रकारमाथि दुव्र्यवहार गर्ने उमेश ओझालाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई छोडिएको छैन ।

सामाजिक सञ्जालमा प्रहरीको चरित्र हत्या गर्न खोज्नेको पनि अनुसन्धान सुरु भएको छ । निर्मला हत्या प्रकरणलाई जोडेर फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जालमा प्रहरीका एक जवानको तस्विर बलात्कारी र हत्यारा भन्दै पोष्ट गर्नेको खोजी सुरु भएको बताएइको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सोमबार विज्ञप्ति जारी गरी सामाजिक सञ्जालमा भ्रमपूर्ण पोष्ट गरेर प्रहरीको चरित्रहत्या गर्दै घटनालाई नै प्रभावित गराउने खाज्नेको अनुसन्धान भई रहेको जनाएको छ ।


About Author
-मदन गिरी