६०८६ पटक हेरिएको
प्रकाशित: २०७५ श्रावण १३ , ११:३४ बजे

निर्मला हत्याकाण्ड : सुतेको प्रहरी, तातेको कांग्रेस र मातेका मेयर

Image

- मदन गिरी
महेन्द्रनगर, १३ साउन । भीमदत्त नगरपालिका–२ उल्टाखाममा शुक्रबार बलात्कारपछि मृत अवस्थामा फेला परेकी निर्मला पन्तको घटनामा प्रहरीको गम्भीर लापरवाही उजागर भएको छ । प्रहरीले खबर पाए लगत्तै एक्सन गरेको भए १४ वर्षीया वालिकाको प्राण सुरक्षित हुने स्थानीय वासिन्दाहरुको दावी छ । भीमदत्त नगरपालिका–२ उल्टाखाममा बिहीबार दिउँसोबाट हराएकी निर्मलाको शव शुक्रबार बिहान मात्रै फेला परेको थियो । 

स्थानीय वासिन्दाका अनुसार प्रहरीलाई बिहीबार साँझ करिब ५ बजे नै खबर गरिए पनि स्थानीय वासिन्दाले शब फेला पारेपछि मात्रै प्रहरी घटनास्थल पुगेको थियो । ‘आज हुन्न भोलि भात खाएर आएँछौ भन्यो प्रहरीले’, एक स्थानीयले शुक्रबार मानसखण्डलाई बताएका थिए ।घटनास्थलमा पहिलेदेखि नै आपराधिक क्रियाकलाप हुने आशंकामा स्थानीय वासिन्दाले पटक–पटक प्रहरीलाई जानकारी गराए पनि प्रहरीले मतलब नराखेको समेत बुझिएको छ । भाँसीखोला किनार रहेको घटनास्थलमा बोटविरुवाका कारण जंगलजस्तो परिदृश्य रहेको र सो क्षेत्रमा दुव्र्यसनी तथा शंकास्पद व्यक्तिहरु देखिने गरेको स्थानीय वासिन्दाले पहिले नै प्रहरीलाई सूचित गरेका बताइएको छ । तर, प्रहरीले त्यसलाई गम्भीर रुपमा नलिएको स्थानीय वासिन्दाहरुको कथन छ ।

बिहीबार साँझ निर्मलाका आफन्तहरुले प्रहरीलाई वेपत्ता भएको जानकारी गराए पनि प्रहरी करिब १५ घण्टापछि शुक्रबार बिहान ८ बजेपछि घटनास्थल पुगेको थियो । मृतकका आफन्तहरुले प्रहरी समयमैं आएको भए निर्मलाको ज्यान बच्न सक्ने सम्भावना रहेको आफन्तहरुको दावी छ ।

जघन्य हर्कत
प्राप्त तस्विरहरुका आधारमा निर्मलाको जघन्य हत्या भएको छ । हत्याअघि उनको बलात्कार गरिएको पनि तस्विरहरुबाट अनुमान गर्न सकिन्छ । हत्यामा संलग्नका बारेमा प्रहरीले यकिन गर्न सकेको छैन । प्रहरीले पाँचजनालाई नियन्त्रणमा लिएको शनिबार बताएको छ । तर, शुक्रबार दुई स्थानीय वासिन्दालाई नियन्त्रणमा लिए पनि प्रहरीले मानसखण्डसँग ‘कसैलाई पनि नियन्त्रणमा नलिइएको’ बताएको थियो । डीएसपी ज्ञानबहादुर सेटीले शुक्रबार मानसखण्डसँग बताएको यो भनाईले घटना झन् रहस्यमयी बनेको छ ।

हत्याराका बारेमा स्थानीय वासिन्दा समेत अन्योलमा छन् । घटनास्थलमा प्रायः एकजना मगज बिग्रेको व्यक्ति देखिने गरेको र बिहीबारयता उ वेपत्ता रहेको मृतकका आफन्तले बताएका छन् । ती आफन्तका अनुसार मगजी अवस्था खराबजस्तो देखिने सो व्यक्ति र घटनास्थल दुव्र्यसनीहरुको अड्डाका रुपमा रहेको जानकारी पटक–पटक प्रहरीलाई दिइएको थियो । तर, प्रहरीले गम्भीरतापूर्वक नलिएको उनीहरुको आरोप छ ।

लगातार विरोध प्रदर्शन
बलात्कारपछि हत्या गरेर उखुबारीमा फालिएकी निर्मलाका हत्यारालाई कारवाहीको माग राख्दै महेन्द्रनगरमा शनिबार पनि प्रर्दशन भएको छ । प्रदर्शनकारीले शनिबार दिनभरि महेन्द्रनगर बजार क्षेत्र ठप्प पारी चक्काजाम सहित विरोध र्‍याली गरेका छन् ।

शुक्रबार प्रदर्शनकारीले दिनभरि नै भीमदत्त नगरपालिका घेराउ गरेका थिए । प्रदर्शनले उग्र रुप लिन थालेपछि प्रहरीले अश्रुग्यास समेत प्रहार गर्नु परेको थियो ।

आन्दोलनकारीले दोस्रो दिन पनि हत्याराको पहिचान गरी कारवाही गरिनु पर्ने र घटनास्थलमा अस्थायी प्रहरी बिटको माग राख्दै बजार क्षेत्रमा प्रदर्शन गरेका छन् ।

माग सम्बोधन नभएसम्म शव नबुझ्ने
मृतकका आफन्तले माग सम्बोधन नभएसम्म शव नबुझ्ने बताएका छन् । शुक्रबार साँझ पोष्टमाष्र्टम भएपनि आफन्तले शव बुझेका छैनन् । मृतकका आफन्त भोजराज पन्तले घटनाका दोषी पत्ता लगाएर घटनास्थलमा प्रहरी विट स्थापना गरी पीडित परिवारलाई राहत नदिएसम्म शव नबुझ्ने बताए । निर्मलाको शव पोष्टमाष्र्टमपछि महाकाली अञ्चल अस्पतालमै राखिएको छ ।

विज्ञप्तिको वर्षा
बिहीबार भएको उक्त घटनाको घोर भत्र्सना गर्दै विभिन्न निकायले कारवाहीको माग गरेका छन् । भीमदत्त नगर कार्यपालिकाले बालिका बलात्कारपछि हत्या भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । नगर कार्यपालिकाका प्रवक्ता राजेन्द्र पाण्डेयद्वारा जारी विज्ञप्तीमा बलात्कारपछि हत्या भएको घटनाले नगरपालिका स्तब्ध भएको उल्लेख गर्दै दोषी पत्ता लगाई कारवाही गर्न माग गरिएको छ ।

त्यस्तै भीमदत्त नगरपालिका–२ वडा कार्यालयले पनि घटनाको सत्यतथ्य छानविन गरी दोषिउपर कारवाहीको माग राख्दै प्रेस विज्ञप्ती जारी गरेको छ । वडाध्यक्ष डम्बर सिंह कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तीमा घटनाले वडा कार्यालय परिवार स्तब्ध भएको बताइएको छ । बालिका अध्ययनरत महुलियास्थित सरस्वति माध्यामिक विद्यालयका प्रधानाध्यापक जगन्नाथ पाण्डेयद्वारा हस्ताक्षरित विज्ञप्तिमा गहिरो शोक प्रकट गर्दै हत्यारा पत्ता लगाउन माग गरिएको छ ।

कञ्चनपुरका विभिन्न विद्यार्थी संगठनले घटनाको घोर भत्र्सना गर्दै घटनाको यथाशीघ्र छानविन गरेर दोषिउपर कारवाहीको माग गरेका छन् । कांग्रेस निकट नेवि संघ, तत्कालिन नेकपा एमालेनिकट अनेरास्ववियु, तत्कालिन माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र नेकपा विप्लव निकट क्रान्तिकारीले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेर घटनाको सत्यतथ्य छानविन गरी दोषिउपर कारवाहीको माग राखेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाको अनुसन्धान भईरहेको जनाएको छ । कञ्चनपुर प्रहरीले घटनामा शंकास्पद पाँच जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । डिएसपी ज्ञान बहादुर सेठीले तीन युवक सहित दुई युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको बताए ।

राजनीतिकरणको प्रयास
घटना नितान्त आपराधिक भए पनि राजनीतिक पूर्वाग्रहका कारण नेपाली कांग्रेसले राजनीतिक रुप दिन खोजेको पाइएको छ । आन्दोलनमा नेपाली कांग्रेसका भातृ संगठन नेवि संघ, तरुण दल र नेपाल महिला संघका नेताहरुको नेतृत्व रहेको थियो । शनिबारबाट प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय घेराउ गरे पनि शुक्रबार भीमदत्त नगरपालिका कार्यालय घेरेका थिए । प्रदर्शनकारीले नगरप्रमुख सुरेन्द्र विष्ट विरुद्ध चर्का नारा लगाएका थिए ।

मेयर विष्ट घटनास्थल नगएको भन्दै शुक्रबार नगरपालिका घेरिएको थियो । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले घटनाको राजनीतिकरण गर्न असम्बन्धित ठाउँमा आन्दोलन गराएको आरोप लागेपछि शनिबार भने जिल्ला प्रशासन कार्यालयको गेटमा धर्ना दिइएको थियो ।

शनिबारको प्रदर्शनमा समाजका सबै क्षेत्रका व्यक्तिको उपस्थिति रहेको थियो । वडा नं. २ का वासिन्दाको नेतृत्वमा प्रदर्शन भए पनि एक्यवद्धताका लागि हजारौं व्यक्ति शनिबार जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

मेयर विष्ट आलोचित
आफूहरुले शुक्रबार बिहानै नगर प्रमुख सुरेन्द्र विष्टलाई घटनाबारे जानकारी गराएर घटनास्थल आइदिन अनुरोध गरे पनि मेयरले मतलब नराखेको पीडित पक्षको दावी छ । मेयर घटनास्थल नपुगेपछि स्थानीय वासिन्दाले शुक्रबार दिनभरि नै नगरपालिका घेराउ गरेका थिए ।

शनिबार मेयर विष्टले प्रदर्शनकारीसँग दुव्र्यवहार गरेको प्रदर्शनकारीहरुको भनाई छ । मानसखण्डलाई प्राप्त एक भिडियोमा मेयर विष्ट आक्रोशित मुद्रामा बाहिरिएको दृश्य छ । जिल्ला प्रशासन कार्यालयमा धर्ना दिइरहेका एक युवकका अनुसार मेयर विष्टले शनिबार प्रदर्शनकारीलाई ‘राजनीति हामीलाई पनि आउँछ’ भन्दै धम्काएका थिए ।

प्रत्यक्षदर्शीहरुका अनुसार मेयर विष्टले शनिबार प्रदर्शनकारीहरुसँग गरेको व्यवहार पदीय हिसाबले ‘अशोभनीय’ थियो । नगरमा बलात्कारपछि हत्याको जघन्य काण्ड हुँदा समेत मेयर विष्ट घटनास्थल नजानु जनताले जनप्रतिनिधिमाथि गरेको विश्वासमाथि आघात हो भन्न सकिन्छ । कारणवश घटनास्थल जान नसके पनि प्रदर्शनकारीहरुसँग सम्वादको पहल गरेका भए मेयर विष्टप्रति जनमानस सकारात्मक हुने सम्भावना थियो । तर, उनले शनिबार प्रदर्शनकारीहरुसँग चर्काचर्की व्यवहार गरेका छन् । त्यो व्यवहारले मेयर विष्ट झन् आलोचित हुने देखिएको छ ।


About Author
-मानसखण्ड