८२८ पटक हेरिएको
प्रकाशित: २०७५ श्रावण १० , ०९:१८ बजे

'जगदगुरु'लाई अन्न खुवाउन २६ लाख खर्च, किसानको अन्न भने यस वर्ष पनि स्वाहा हुने

Image

–मानसखण्ड
महेन्द्रनगर, १० साउन । छाडाचौपायाले सिंगो नगरपालिका आक्रान्त भइरहेको बेला भीमदत्त नगरपालिकाले ५२ छाडाचौपाया व्यवस्थापन गरेको छ । करिब ५ हजार छाडा चौपाया रहेको अनुमान गरिएको भीमदत्त नगरपालिकाको वडा नं. ९ ब्रह्मदेवमा पर्ने सिद्धनाथ सामुदायिक वनमा झण्डै २७ लाख रुपैयाँ खर्च भइसकेको गौशाला भवनमा ५२ छाडाचौपाया हुलिएका छन् ।

खर्च र नियन्त्रणको दर हेर्दा एउटा छाडा चौपायाका लागि नगरपालिकाले ५० हजार रुपैयाँ खर्च गरेको छ । यही दरले खर्च हुने हो भने नगरभित्रका चौपया नियन्त्रण गर्न २५ करोड रुपैयाँ खर्च हुने देखिन्छ ।

भीमदत्त नगरपालिकाको २६ लाख १० हजार रुपैयाँको लागतमा निर्माण भएको गौशाला भवनको भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले उद्घाटन गरे । उनले छाडा पशु व्यवस्थापन समस्याका रुपमा रहेकाले नगरपालिकाले नगरका विभिन्न क्षेत्रमा गौशाला निर्माण गरिरहेको जानकारी दिए ।

सामुदायिक वनको करीव १२ बिघा क्षेत्रफल लिएर निर्माण गरिएको गौशालामा ५२ गाई राखिएका छन् । नगरपालिकाको आर्थिक सहयोग र जगत्गुरु बालसन्त मोहनशरण देवाचार्यको संरक्षकत्वमा गौशाला सञ्चालनमा ल्याइएको हो । देवाचार्यले केही महिना अगाडि छाडाचौपाया नियन्त्रण नभए प्रदेश–७ मा उत्पादित अन्न नखाने घोषणा गरेका थिए । ५२ चौपाया गौशालामा हुलिएपछि उनले अन्न ग्रहण गरेको बताइएको छ ।

झण्डै तीन वर्षदेखि प्रदेश–७ मा छाडा पशु देखेपछि त्यसको व्यवस्थापनका लागि जगत्गुरुले चिन्ता व्यक्त गर्दै आएका थिए । ३ दिन अगाडिसम्म गौविज्ञान अनुसन्धान केन्द्र भनी प्रचार गरिएको सो गौशालाको उद्घाटनका लागि मुख्यमन्त्री त्रिलोचन भट्ट आउने बताइए पनि उनी आएनन् ।

भीमदत्त नगरपालिकाले करिब ७५ लाख रुपैयाँ खर्च गरे पनि अहिलेसम्म एउटा चौपाया पनि नियन्त्रण गरेको थिएन । बुधबार पहिलो पटक नगरपालिकाले ५२ चौपाया नियन्त्रण गरेको हो । नगरपालिकाले वडा नं. १९ मा पनि करिब ४५ लाख रुपैयाँको लागतमा गौशाला बनाएको छ । तर, त्यो सञ्चालनमा आउन सकेको  छैन ।


About Author
-मानसखण्ड