९०४१ पटक हेरिएको
प्रकाशित: २०७५ श्रावण ०९ , ०६:५५ बजे

एक मेयर जो लोकप्रिय हुँदैछन् !

Image

 

एक वर्षको अवधिमा वेदकोट नगरपालिकाले गरेका निर्णय र काममध्ये एउटा पनि विवादमा परेन ।

–मदन गिरी
महेन्द्रनगर, ९ साउन । नेपालमा संघीय प्रणाली अनुसार स्थानीय सरकार गठन भएको एक वर्ष पूरा भएको छ । यो अवधिमा व्यवहार, विकासप्रतिको प्रतिवद्धता, काम गर्ने शैली र नियतका कारण कतिपय जनप्रतिनिधि आलोचनाका पात्र बनेका छन् भने कतिपयले प्रशंसा पाएका छन् ।

कार्यशैली, जनतासँगको घुलमिल, पारदर्शिता र विकासप्रतिको प्रतिवद्धताका कारण प्रशंसा पाउनेमध्येका एक जनप्रतिनिधि हुन् वेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्द । उनी कञ्चनपुरका राम्रा जनप्रतिनिधिहरु मध्ये गनिन थालेका छन् । आमजनतासँग घुलमिल हुन सक्ने उनको व्यवहार मात्रै प्रशंसाको विषय बनेको छैन, एक वर्षअघिसम्म विकासको दृष्टिले छायाँमा परेको मानिने बेदकोट नगरपालिकाको मुहार फेर्ने साना तर प्रभावकारी योजनाका कारण पनि उनी लोकप्रिय हुन थालेका छन् ।

वितेको एक वर्षमा वेदकोट नगरपालिकाले गरेका निर्णय र बनाएका योजना एउटा पनि विवादमा परेका छैनन् । छाडाचौपाया नियन्त्रणमा पनि मेयर अशोक चन्दले इमान्दार प्रयास गरेको प्रतिपक्षीहरु नै बताउँछन् ।

जनप्रतिनिधको एक वर्षको समयावधिमा वेदकोट नगपालिकाले विकासमा गति लिएको छ । नगरपापिलकाका नगर प्रमुख अशोक कुमार चन्दले आफू निर्वाचित भएको एक वर्ष सोचेजस्तो नभए पनि सन्तोषजनक रहेको बताए ।

स्थानीय तहका एक वर्षको समिक्षा गर्दै मेयर चन्दले यस्तो बताएका हुन् । नगर प्रमुख चन्दले स्थानीय सरकार सञ्चालनका लागि आवश्यक कानुन तथा जनशक्ति अभावले सोचेजस्तो नभए पनि उपब्लध स्रोत साधन अनुसार सन्तोषजनक काम भएको बताए । साथै बितेको एक वर्षमा नगरलाई समृद्ध बनाउन योजना तथा नीति निर्माणसँगै कार्यान्वयनको दिशामा अघि बढेको उनको दावी छ ।

उनका अनुसार नगर पालिकाले आर्थिक वर्ष २०७४÷७५ मा विभिन्न ३३ वटा कानुन पारित गरेको छ । त्यस्तै नगरका १० वटै वडामा सकड निर्माणसँगै ४० किलोमिटर सडक ग्राभेल हालिएको छ भने नयाँ सडकको ट्र¥याक खोल्ने र नगरका केही सडक कालोपत्रे समेत गरिएको छ ।

नगरका सबै वडामा खेल मैदान निर्माण, बेदकोटताल र लिङ्गा क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र घोषणा गरी भौतिक पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिईएको छ भने एक करोड रुपैयाँ बजेट विनियोजन गरेर ५० शैयाको नगर अस्पताल निर्माणको काम थालिएको छ मेयर चन्दको भनाई छ । ३४ किलोमिटर लामो बेदकोट रिङ रोड बनाउनका लागि डिपीआर निर्माण गरिएको समेत उनले बताए ।

नगरपालिकाले गौरवका आयोजनाका रुपमा राष्ट्रिय स्तरको कभर्ड हल निर्माण, स्वीमिङ फुल सहितको फन पार्क निर्माण, उज्यालो वेदकोट लगायतका कार्याक्रम अगाडि बढाईएको छ ।

नगरपालिकाले सबै नगरवासीले अपनत्व महसुस गर्ने किसिमले योजना अगाडि बढाएको बताउदैँ नगर प्रमुख चन्दले भने, ‘स्थानीय राजनीतिक दल लगायत सरोपकारवालासँग छलफत तथा समन्वय गरी नगरका योजना तय गर्ने गरेका छौँ ।’

साथै एक वर्षमा आफूले नगरवासीबाट निकै सहयोग पाएको र नगरपालिकाका विकास निर्माणका गतिविधिहरुमा साकारात्मक प्रतिक्रिया प्राप्त भईरहेको नगर प्रमुख चन्दको भनाई छ ।


About Author
-मदन गिरी