८१० पटक हेरिएको
प्रकाशित: २०७५ श्रावण ०८ , ११:१८ बजे

नैनराम सार्कीका आफन्त भन्छन् : एसपी र डीएसपीले यस्तो गरे !

Image

– मानसखण्ड
महेन्द्रनगर, ८ साउन । भीमदत्त नगरपालिका–११ भुजेलामा अस्थायी बसोबास गर्दै आएका नैनराम सार्कीको मृत्यु प्रकरणमा प्रहरीको भूमिका संदिग्ध देखिएको छ ।

मृतकका परिवारजन र आफन्तको शंकालाई पूरै वेवास्ता गर्दै प्रहरीले सुरुदेखि नै एकतर्फी ढंगले काम गरिरहेकोले प्रहरीको भूमिका शंकास्पद देखिएको हो ।

मृतकका आफन्तले भुजेलाकै एक व्यक्तिविरुद्ध किटानी जाहेरी दिन प्रयास गर्दा आलटाल गरेको प्रहरीले घटनालगत्तै विना अनुसन्धान सार्कीको मृत्यु गाडीले किचेर भएको निष्कर्ष सार्वजनिक गरेको थियो । घटनास्थल र शवको प्रकृति हेर्दा सार्कीलाई गाडीले किचेको विश्वास नहुने अवस्था भए पनि अहिले प्रहरीले ट्रिप्परले किचेको भन्दै घटना विर्सजन गर्ने तयारी गरिरहेको छ ।

घटनास्थलमा सवारी साधन गुडेको संकेतसम्म नभेटिए पनि प्रहरीले तत्काल सार्कीको मृत्यु गाडीले किचेर भएको निष्कर्ष सार्वजनिक गरेको थियो । अनुसन्धान टोली गठन हुनुभन्दा तीन दिन पहिले नै कञ्चनपुर प्रहरीका अधिकारीहरुले त्यस्तो निष्कर्ष सुनाउन थालेका थिए । मृतकका आफन्तले प्रहरी नेपाली कांग्रेसका नेता रमेश लेखकको प्रभावमा काम गरिरहेको आरोप समेत लगाएका छन् ।

मृतकका आफन्त भुजेलाकै स्थानीय टीका सार्कीको संलग्नता रहेको किटानी जोहरी लिन प्रहरीले इन्कार गर्दै अनुसनधान नहुँदै प्रहरीले निष्कर्षका साथ गाडीले कुल्चेर नैनरामको मृत्यु भएको दावी गरेको थियो । प्रहरीको सो दावीको अभिलेख मानसखण्डसँग सुरक्षित छ । टीका सार्कीबाट पैसा खाएर एसपी डिल्लीराज विष्ट र डीएसपी ज्ञानबहादुर सेटीले घटना तोडमरोड गरेको मृतकका आफन्तहरुको आरोप छ । उनीहरुले टीका सार्की जग्गा जमिन भएको व्र नेपाली कांग्रेका नेता रमेश लेखकसँग राम्रो सम्बन्ध भएकोले प्रहरीको नियत बिग्रेको आरोप समेत लगाएका छन् । टीका र मृतककी पत्निबीचको अवैध सम्बन्धका कारण नैन रामको हत्या भएको आफन्तको भनाई छ । यस प्रसंगमा नेता लेखकले प्रत्यक्ष हस्तक्षेप गरी प्रहरीलाई प्रभावित गरेको पनि उनीहरुको दावी छ ।

टीका सार्की नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता रहेको बताइएको छ ।

घटनालगत्तै गड्डाचौकी प्रहरीले टीका सार्की र मृतककी पत्निलाई नियन्त्रणमा लिएर केही घण्टापछि छोडेको थियो । मृतकका आफन्तहरु ती दुईजना विरुद्ध किटानी जाहेरी दिन तयार रहे पनि प्रहरीले अनुसन्धानका लागि हिरासतमा नराखेर छोडेको थियो । किटानी जाहेरी नै पर्न सक्ने व्यक्तिलाई छोडिनुले पीडित पक्षको दावीलाई बल मिलेको छ ।

दार्चुलाको लेकम गाउँपालिका– ३ घर भई विगत केही वर्षयता भुजेलामा जग्गा अँधियामा लिएर बस्दै आएका ४५ वर्षीय नैनराम सार्कीको शव महाकाली नदी नियन्त्रणका लागि बनाइएको तटबन्ध छेउमा भेटिएको थियो । मृतका दाजु धौलेराम सार्कीका अनुसार भुजेलामा बस्दै आएका मृतक नैनसिङ सार्कीकी श्रीमति भुजेलाकै टिका सार्कीसँग भागेर केही महिना भारत बसेकी थिइन् । भुजेला फर्केपछि पनि टीकाले मृतककी पत्निलाई आफ्नै घरमा राखेको धौले रामको भनाई छ । मृतक सार्की बेला बेलामा श्रीमति खोज्न टीको घरमा जाने तर टीकाले हप्काएर–दम्काएर पठाउने क्रम चलिरहेकै बेला उनको शव पाइएको धौलेरामले बताए । 

प्रहरीले सार्कीलाई किचेर मारेको भन्दै ट्रिप्पर र त्यसका चालकलाई नियन्त्रणमा लिए पनि ट्रिप्परका मालिक रघुनाथ साउदले घटनाबारेमा मानसखण्डसँग बोल्न चाहेनन् । मृतकका परिवारजन र स्थानीय वासिन्दा प्रहरीको दावीलाई झुठो बताइरहेका छन् । मृतकका आफन्तले प्रहरीले मोटो रकम खाएर घटनाको सत्यतथ्य बंग्याउन खोजेको आरोप पनि लगाएका छन् ।

किटानी जोहेरी लिन आनाकानी गर्ने प्रहरी भने ट्रिप्पर र त्यसका चालकलाई नियन्त्रणमा लिएपछि भने जाहेरी दिन आफन्तलाई दवाव दिइरहेको छ । प्रहरीले हत्यालाई दुर्घटनाको रुप दिन खोजेको भन्दै मृतकका आफन्त प्रहरीको दवावमा आएका छैनन् । मृतकका दाजु धौलेराम अहिले प्रहरीको सम्पर्क बाहिर रहेका छन् ।

मृतककी आफन्त तथा भीमदत्त–१२ की वडा सदस्य गिता सार्कीका अनुसार मृतकका दाजु कृपाराम सार्कीले भाईको मृत्यु नभई हत्या गरिएकाले प्रहरी प्रतिवेदन अस्वीकार गरेको बताईन् । प्रहरीले दाव दिने आशंकाले कृपाराम पनि अहिले सम्पर्कबाहिर बसेका छन् ।

ट्रिप्परले किचेर ज्यान गएको रिर्पोट तयार भएपछि प्रहरीले मृतकका दाजुलाई जाहेरी दिन जिप्रका बोलाकाएको थियो । तर उनले सडक दुर्घटनामा नभई भाईको हत्या गरिएकाले जाहेरी दिन मानेका छैनन् । मृतक पक्षले घटनास्थलको दृश्य तथा घटनाको प्रकृति अनुसार हत्या नै भएको दावी गर्दै आएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी ज्ञानबहादुर सेठीका अनुसार मृतकका दाजु सार्कीलाई जाहेरीका लागि बोलाईएको भए पनि उनले जाहेरी दिन नमानेको बताए ।

घटनाको स्थलगत अनुसन्धान गर्दा सडक दुर्घटनामा  परी मृत्यु भएको पाईएकोले सोही अनुसार रिर्पोट तयार पारिएको सेटीले बताए । डिएसपी सेटीका अनुसार घटनाको विस्तृत अनुसन्धान गर्दा सार्कीको सडक दुर्घग्नामा परि ज्यान गएको हो ।

ट्रिप्पर चालक काले बिकलाई गत शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको थियो । विकमाथि ज्यान मुद्दा सरह प्रक्रिया अगाडी बढाईने डिएसपी सेटीको भनाई छ ।


About Author
-मानसखण्ड