२३९ पटक हेरिएको
प्रकाशित: २०७५ श्रावण ०४ , ११:०४ बजे

निजी वनका लागि पहिलो पटक लाखौंका विरुवा उत्पादन

Image

- मदन गिरी
महेन्द्रनगर, ४ साउन । जिल्ला वन कार्यालय कञ्चनपुरले आर्थिक वर्ष २०७४/७५ मा ११ हजार ८३ हजार विरुवा उत्पादन गरेको छ । जिल्ला वन कार्यालय कञ्चनपुरका प्रमुख शिव प्रशाद शर्माले गत आर्थिक वर्षमा स्थानीय तह र वन कार्यालयले छुट्टाछुट्टै बिरुवा उत्पादन गरी स्थानीयलाई वितरण गरिएको बताए । उनका अनुसार बिरुवा उत्पादनका लागि वन कार्यालय र स्थानीय तहको गरी ९४ लाख ५७ हजार रुपैयाँ खर्च भएको छ । वन कार्यालयले बिरुवा उत्पादनको लागि ३६ लाख २७ हजार र निजी नर्सरी बनाउनका लागि सात जना किसानलाई १६ लाख रुपैयाँ अनुदान दिएको छ भने बाँकी रकम स्थानीय तहले खर्च गरेको प्रमुख शर्माले बताए ।

स्थानीय तहले पनि आफ्नै लगानीमा पाँच लाख ५० हजार बिरुवा उत्पादन गरेका छन् । जसमा भीमदत्तमा एक लाख ५० हजार, बेदकोटमा ३० हजार, शुक्लाफाँटामा एक लाख, पुनर्वासमा एक लाख ५० हजार, बेलौरी नगरपालिकामा एक लाख र लालझाडी गाँउपालिकाले ५० हजार बिरुवा उत्पादन गरेको प्रमुख शर्माले बताए ।

निजी वन स्थापना गरी वनमाथि स्थानीय बासिन्दाको निर्भरता हटाउन तथा आर्थिक अवस्थामा सुधार ल्याउन स्थानीयलाई बिरुवा वितरण गरिएको कार्यालय प्रमुख शर्माको भनाई रहेको छ ।

सरकारी र सामुदायिक वनमा रोप्नका लागि मात्रै विगतमा बिरुवा उत्पादन गर्दै आएकोमा यस वर्षदेखि स्थानीय बासिन्दालाई निजी जग्गामा बिरुवा रोप्नका लागि समेत बिरुवा उत्पादन र वितरण गरिएको छ ।


About Author
-मानसखण्ड