५७७ पटक हेरिएको
प्रकाशित: २०७५ श्रावण ०४ , १०:५३ बजे

धमिलो पानीमा माछा मार्ने कांग्रेसी दाउ : पाँच रुपैयाँ कर बृद्धिमा बबाल

Image

नेविसंघका नेता नाराजुलुस र भाषणबाजीमा व्यस्त, नेकपा निकट व्यसायी नेताहरुसँग मन्त्रणा गर्दै

–मानसखण्ड
महेन्द्रनगर, ४ साउन । भीमदत्त नगरपालिकाले पटके सवारी कर बृद्धि गरेको विरोधमा उत्रेका अटोरिक्सा व्यवसायीको आन्दोलन बिहीबार दोस्रो दिनमा प्रवेश गरेको छ । दोस्रो दिनसम्म आइपुग्दा आन्दोलनको राजनीतिकरण भइसेकोले व्यवसायी बीचनै विभाजन बढ्ने सम्भावना देखिएको छ ।

कञ्चनपुर यातायात प्रालिको नेतृत्वमा बुधबारबाट सुरु भएको आन्दोलनमा नेपाली कांग्रेसनिकट विद्यार्थीहरुको सहभागिताले आन्दोलनलाई राजनीतिकरण गरेको हो । नेविसंघका विद्यार्थी नेताहरु नै आन्दोनको जुलुसमा नारा लगाउँदै हिंड्न थालेपछि नेपाल कम्युनिष्ट पार्टी समर्थक व्यवसायीहरुले आफ्नो पार्टीका नेताहरुसँग छलफल गरेका खबर प्राप्त भएको छ ।

नेपाली कांग्रेसका तर्फबाट नगर कार्यपालिकामा प्रतिनिधित्व गर्ने सातजना वडाअध्यक्षहरु समेतको सहमतिमा पटके सवारी कर निर्धारण गरिए पनि व्यवसायीको आन्दोलनमा कांग्रेस कार्यकर्ताको घुसपैठलाई अस्वाभाविक मानिएको छ । नेपाली कांग्रेसले नगरपालिकाका तीनवटै नगरसभा र अहिलेसम्मका १७ कार्यपालिका बैठकमा कुनै पनि विषयमा असहमति जनाएको लिखित दस्तावेज छैन । केही साताअघि वडा नं. ४ का अध्यक्षले नगरपालिकामा सर्वसम्मतिबाट निर्णय हुने गरेको स्वीकारोक्तिसहित विज्ञप्ति नै जारी गरेका थिए ।

नेविसंघका कार्यकर्ता आन्दोलनमा सहभागी हुन थालेपछि आन्दोलन उग्रसमेत हुन थालेको छ । बिहीबार बिहान भानुचोकमा थालिएको २ घण्टे चक्काजामका क्रममा आन्दोलनकारी उग्र हुँदा प्रहरी जवान नन्दा कुँवर घाइते भएकी डीएसपी ज्ञानबहादुर सेटीले बताए । उनका अनुसार आन्दोलनकारीको प्रहारबाट धामीको बंगरामा गम्भीर चोट लागेको छ । महाकाली अञ्चल अस्पतालमा उपचाररत उनलाई शुक्रबार थप उपचारका लागि काठमाडौं पठाउन लागिएको डीएसपी सेटीले बताए ।

प्रहरी जवान कुँवरमाथि अशोक कार्की नाम गरेका अटो व्यवसायीले आक्रमण गरेको प्रहरीको भनाई छ । कार्कीलाई प्रहरीले हिरासतमा राखेको सेटीले बताए ।

चक्काजामका क्रममा प्रहरीले अन्य ६ जनालाई पनि पक्राउ गरेको थियो । उनीहरुलाई बिहीबार साँझ छोडिएको छ ।

बिहीबार नै आन्दोलनकारीले नगरप्रमुख सुरेन्द्र विष्टसँग वार्ता गरेका छन् । शुक्रबार फेरि वार्ता गर्ने सहमति भएको प्रालिका उपाध्यक्ष चेतराज भट्टले बताए ।

आन्दोलनमा सहभागी हुने नेविसंघका पदाधिकारीहरुसित भने सम्पर्क हुन सकेको छैन ।

व्यवसायीहरुको समूहले बिहीबार नै नेकपाको कार्यालयमा स्थानीय नेताहरुसँग छलफल पनि गरेका छन् । बिहान नगरपालिकामा धर्ना बसेका केही व्यवसायी नेकपाको कार्यालय पुगेका थिए । आफ्नो पार्टी आवद्ध व्यवसायी समेत आन्दोलनमा सहभागी भएकाले पार्टी कार्यालयमा सरसल्लाहका लागि बोलाइएको नेकपाका नेता इश्वरीप्रसाद खरेलले बताए । तर, उपाध्यक्ष भट्टले भने नगरप्रमुख विष्टले छलफलका लागि पार्टी कार्यालयमा बोलाएका हुनाले आफूसहितका व्यवसायी गएको बताए ।

जम्मा पाँच रुपैयाँ कर बृद्धि हुँदा बबाल
भीमदत्त नगरपालिकाले टेम्पुका हकमा आर्थिक वर्ष २०७२/०७३ मा पारित गरी उठाएको पटके करभन्दा आर्थिक वर्ष २०७५/०७६ मा कायम गरेका करको दर जम्मा पाँच रुपैयाँ बढी रहेको पाइएको छ । २०७२/०७३ मा तीन पांग्रे सवारीसाधन (टेम्पो)बाट १५ रुपैयाँ पटके कर लिइएको थियो भने यस आर्थिक वर्षमा २० रुपैयाँ मात्रै कर कायम गरिएको छ ।


About Author
-मानसखण्ड