२१२ पटक हेरिएको
प्रकाशित: २०७५ श्रावण ०३ , १३:१२ बजे

कञ्चनपुरमा सवा अर्व बजेट फ्रिज

Image

– मदन गिरी
महेन्द्रनगर, ३ साउन । कञ्चनपुर जिल्लामा आर्थिक वर्ष २०७४/७५ सवा अर्व रुपैयाँ बजेट फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) कञ्चनपुरका सूचना अधिकारी तथा कोष नियन्त्रक नन्दराज भट्टका अनुसार गत आर्थिक वर्षमा एक अर्व २५ करोड ४३ लाख ६० हजार पाँच सय ३३ बजेट फ्रिज भएको छ ।

कञ्चनपुरका स्थानीय तह तथा सरकारी कार्यालका विभिन्न योजना र चालु खर्च अन्तर्गत विनियोजन भएको बजेटमा खर्च नभएको उक्त रकम केन्द्र सरकारलाई फिर्ता भएको हो ।

सूचना अधिकारी भट्टका अनुसार चालुतर्फ ५७ करोड ३७ लाख ७५ हजार आठ सय तथा पुजीगत खर्चतर्फ ६८ करोड पाँच लाख ८४ हजार छ सय रुपैयाँ फ्रिज भएको हो ।

चालु तर्फ सात अर्व ५८ करोड ५८ लाख १७ हजार कुल विनियोजित बजेट रहेकोमा ९२ दशमलव ४४ प्रतिशत रकम खर्च भएको छ भने पुजीगततर्फ चार अर्व ९५ करोड एक लाख २९ हजार आठ सय बजेट रहेकोमा ८६ दशमलव २५ प्रतिशत बजेट खर्च भएको सुचना अधिकारी भट्टले जानकारी दिए ।

कञ्चनपुरमा गत आर्थिक वर्षमा कुल विनियोजित बजेटमध्ये १० प्रतिशत बजेट खर्च हुन सकेको छैन् ।

नौ स्थानीय तहमा सात करोड बजेट फ्रिज
दुई गाँउपालिका तथा सात नगरपालिका सहित नौ स्थानीय तह रहेको कञ्चनपुरमा कुल निकासा बजेटमा ६ करोड ८८ लाख ४० हजार छ सय ५१ रुपयाँ फ्रिज भएको छ । नियन्त्रक भट्टले सशर्त अनुदान अन्र्तगत स्थानीय तहलाई निकासा भएको बजेटमा उक्त रकम र्फिता भएको बताए । तर वित्तीय समानिकरण अन्तर्गत निकासा भएको बाँकी बजेट फिर्ता नहुने र त्यसको रेकर्ड कोलेनिकामा आई नसकेको उनको भनाई छ ।

बजेट फिर्ता हुने स्थानीय तहमा सबै भन्दा बढी भीमदत्त नगरपालिकामा दुई करोड ५१ हजार र सबै भन्दा कम कृष्णपुर नगरपालिकामा सात लाख १७ हजार बजेट फ्रिज भएको छ । त्यस्तै पुनर्वासमा १६ लाख ६५ हजार, बेदकोटमा ५५ लाख १८ हजार र बलौरी नगरपालिकामा आठ लाख २९ हजार रुपैयाँ फिर्ता भएको छ ।

त्यस्तै माहाकाली एक करोड ४८ लाख, शुक्लाफाँटा नगरपालिकामा ४७ लाख ११ हजार तथा लालझाडीमा एक करोड तीन लाख ३६ हजार र बेल्डाँडी गाँउपालिका ७० लाख ६५ हजार रुपैयाँ खर्च हुन नसकी फिर्ता भएको कोष नियन्त्रक भट्टले जानकारी दिए ।

कञ्चनपुरका स्थानीय तहमा वित्तीय र सशर्त अनुदान गरी तीन अर्व ३२ करोड ६१ लाख ६३ हजार रुपैयाँ विनियोजन भएको थियो । आर्थिक वर्ष २०७३/७४ मा चालुतर्फ ९४ तथा पुजीगततर्फ ९० प्रतिशत बजेट खर्च भएको थियो ।


About Author
-मानसखण्ड