४२८ पटक हेरिएको
प्रकाशित: २०७५ श्रावण ०३ , १३:०० बजे

२० वर्षपछि पनि उस्तै काम गरे गनिएका ठेकेदारले !

Image

८ करोड रुपैयाँ खर्च गरी पुनर्निमाण गरिएको महेन्द्रनगर बसपार्कको रामकहानी दोहरिने सम्भावना

–मदन गिरी
महेन्द्रनगर, ३ साउन । करिब दुई वर्ष लगाएर पुननिर्माण गरिएको महेन्द्रनगर बसपार्कको उद्घाटन साउन १० गते हुने कार्यक्रम तय भएको छ । तर, उद्घाटनकै दिन बसपार्क टालटुले हुने पनि निश्चित भएको छ ।

ठेकेदार कम्पनीले गुणस्तरहिन काम गरेपछि ‘आधुनिक’ भनेर प्रचारित बसपार्क टालटुल गरेर उद्घाटन गरिने भएको हो । मंगलबार नगरपालिकाका पदाधिकारीले अनुगमन गर्दा नवनिर्मित बसपार्कको ठाउँ–ठाउँमा पीच उप्केको पाइएको छ भने केही ठाउँमा पिच भासिएको छ ।

नगर विकास कोषको ८ करोड रुपैयाँ ऋण सहयोगमा भीमदत्त नगरपालिकाले २ वर्ष अगाडि बसपार्क बनाउन महेन्द्ररस्थित जोशी निर्माण सेवालाई ठेक्का दिएको थियो । २०५४ सालमा पनि सोही निर्माण कम्पनीले करिब २ करोड लगानीमा सो बसपार्क निर्माण गरेको थियो । त्यसबेला पनि निर्माण सम्पन्न भएको केही महिनामैं बसपार्कमा खाल्डाखुल्डी परेका थिए ।

बसपार्कमा झन्डै सात सय यात्रु अटाउन सक्ने टर्मिनल भवन निर्माण गरिएको छ । टर्मिनल भवनमा दुईवटा टिकट काउन्टर सहित ३ सय ५० वटा यात्रु बस्ने सिट बनाईएको छ । तर, बसपार्कमा ४० वटा मात्रै बस अट्ने पार्किङ वे छ । प्रत्येक दिन महेन्द्रनगरमा कम्तीमा २ सय बस, मिनीबस र माइक्रोबसले रात बिताउने गर्छन् । पर्याप्त पार्किङको अभावमा ती बस अझै पनि सडक किनारमा राख्नुपर्ने बाध्यता कायम रहने छ ।

बसपार्क कमसल गुणस्तर भएको विषयले मंगलबार सामाजिक सञ्जालमा चर्चा पायो । बसपार्कको पिच ठाउँ–ठाउँमा उप्किएको र भासिएको तस्विरसमेत सामाजिक सञ्जालमा पोष्ट गरिएका छन् ।

२०७४ चैतसम्ममा निर्माण कार्य सम्पन्न गरिसक्ने लक्ष्य लिईएको भए पनि समयमै निर्माण सम्पन्न नहुँदा निर्माण कम्पनीलाई बैशाख १५ सम्म म्याद थपिएको थियो । मंगलबार परीक्षणका लागि बसपार्क खोलिएपछि पिच गुणस्तरहिन भएको पाइएको हो ।

निर्माण व्यवसायी गणेश जोशीले बसपार्क हस्तान्तरण नभएको भन्दै जहाँ कमजोरी देखिन्छ मर्मत गरिने बताए ।
मंगलबार बसपार्कको अनुगमन पछि भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले निर्माण कार्य सम्पन्न भएपनि केही काम सम्झौता अनुरुप नभएको स्वीकार गरे ।

बसपार्क नयाँ भए पनि सुरुदेखि नै टालटुल गरेर चलाउनुपर्ने अवस्था आएको छ । निर्माणका क्रममा नगरपालिकाका प्राविधिकले अनुगमनमा हेलचेक्र्याई गरेको आरोप पनि लगाउन थालिएको छ ।

साउन १० गते बसपार्कको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ । निर्माण व्यवसायीको कमजोरीका कारण नयाँ बसपार्क टालटुल गरेर उद्घाटन गरिने तयारी भइरहेको नगरपालिका स्रोतको कथन छ ।


About Author
-मदन गिरी

सम्बन्धित