१४७६ पटक हेरिएको
प्रकाशित: २०७५ आषाढ ३१ , ०९:३८ बजे

कञ्चनपुरमैं किन आउँछन् यस्ता एसपी–डीएसपी ?

Image

पोष्टमार्टमको रिपोर्ट नआउँदै र अनुसन्धान टोली गठन नहुदै  एसपी र डीएसपीको किटानी अभिव्यक्ति रहस्यपूर्ण ।

–मदन गिरी
महेन्द्रनगर, ३१ असार । भीमदत्त नगरपालिका–११ भुजेला बस्दै आएका नैन राम सार्कीको मृत्युको घटनामा प्रहरीले अनौठो भूमिका गरिरहेको पाइएको छ । गत मंगलबार महाकाली नदी किनारको तटबन्धमा माथिल्लो शरीर क्षतविक्षत भएको अवस्थामा सार्कीको शव पाइएको थियो ।

महाकाली तटबन्धमाथि बनेको सडकको पूर्वी किनारमा टाउकोबाट गिदी निस्केको र हातमा गहिरो चोट लागेको अवस्था पाइएको शवको पोष्टमार्टम रिपोर्ट नआउँदै र प्रहरीले व्यवस्थित अनुसान्धान नथाल्दै प्रहरी अधिकारीहरु भने निकर्षका साथ बोल्न थालेका छन् ।

गत साता बुधबार नै जिल्ला प्रहरी कार्यालयका डीएसपी ज्ञानबहादुर सेटीले शवको प्रहृति हेर्दा सावारसाधनले किचेको जस्तो देखिने मानसखण्डलाई बताएका थिए । तर, घटनाको छानविनका आगि प्रहरीले शनिबार मात्रै अनुसन्धान टोली बनाएको छ । कञ्चनपुरका प्रहरी प्रमुख डिल्लीराज विष्टले शनिबार मात्रै छानविन टोली बनाइएको बताए छन् । उनले शनिबार मानसखण्डसँग कुरा गर्दै डीएसपी सेटीकै शैलीमा सवारी साधनले किचेको ठोकुवा गरेका छन् । ‘प्रारम्भिक अनुसान्धबाट सवारी साधनले किचेको जस्तो देखिन्छ,’ एसपी बिष्टले भने ।

अनुसन्धान अगावै प्रहरीको यस्तो निष्कर्षले घटनालाई झन् रहस्यमयी बनाएको छ । अनुसन्धान नै नगरी प्रहरी अधिकारीले यस्तो निष्कर्षसहित मिडियालाई अभिव्यक्ति दिनु आश्चर्यजनक पनि हो ।

घटनामा स्थानीय टीका सार्कीको संलग्नता रहेको किटाननी जोहरी दिन समेत तयार रहेको बेला प्रहरीले भने हत्यालाई दुर्घटनाको रुप दिन खोजेको मृतकका आफन्तहरुको आरोप छ ।

टीका सार्कीले पहुँच र पैसाको आडमा प्रहरीलाई समेत प्रभावित गरेको मृतकका आफन्तहरुको दावी छ । मानसखण्डसँग कुराकानी गर्दै उनीहरुले प्रभावशाली व्यक्तिको प्रभावमा आएर प्रहरीले घटनाको छानविन नै अर्को दिशामा मोड्न खोजेको बताएका छन् ।

प्रहरीले पीडित पक्षले दर्ता गर्न खोजेको किटानी जाहेरी पनि दर्ता गर्न मानेको छैन । यस सम्बन्धमा एसपी बिष्टले भने, ‘किटानी जाहेरीले अनुसन्धानको दायरा खुम्चने भएकोले किटानी जाहेरी नभई फुटकर जाहेरी दिनका लागि अनुरोध गरेका हौं ।’ तर, मृतकका आफन्तले हत्यारा उम्काउनकै लागि किटानी जाहेरी दर्ता गर्न नमाने दावी गरेका छन् ।

शव पाइएकै दिनदेखि प्रहरी अधिकारीहरुले सवारीसाधनले किचेको निकर्षका साथ मिडियामा बोलिरहेका भए पनि शनिबार मात्रै प्रहरी निरीक्षक ऐकेन्द्र खड््काको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान टोली खटाईएको एसपी बिष्टले बताए । उनले टोलीले शनिबारबाटै काम थालेको जानकारी दिए ।

अनुसन्धान टोली नै गठन नभएको अवस्थामा प्रहरी अधिकारीहरुले निकर्ष सहित अभिव्यक्ति दिनुले मृतकका आफन्तले प्रहरीमाथि लगाएको आरोपलाई बल मिलेको छ ।

घटनालगत्तै गड्डाचौकी प्रहरीले टीका सार्की र मृतककी पत्निलाई नियन्त्रणमा लिएर केही घण्टापछि छोडेको थियो । मृतकका आफन्तहरु ती दुईजना विरुद्ध किटानी जाहेरी दिन तयार रहे पनि प्रहरीले अनुसन्धानका लागि हिरासतमा नराखेर छोड्नुलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ । मृतकका आफन्तले सुरुदेखि नै टीका सार्की र मृतककी पत्निबीचको सम्बन्धसहित घटनाबारे आफ्नो दावी प्रहरीलाई बतारहेका छन् । तर, प्रहरीले भने घटनाको पाँचौ दिन मात्रै अनुसन्धान टोली बनाएको छ ।

गत मंगलबार दार्चुलाको लेकम गाउँपालिका– ३ घर भई विगत केही वर्षयता भुजेलामा जग्गा अँधियामा लिएर बस्दै आएका ४५ वर्षीय नैनराम सार्की महाकाली नदी नियन्त्रणका लागि बनाइएको तटबन्ध छेउमा मृतावस्थामा भेटिएका थिए । शव नउठाउँदै घटनास्थल पुगेका मानसखण्ड सम्वाददाताले खिचेका तस्विर र अवलोकन गरेका दृश्य हेर्दा घटनास्थलमा नभई अन्यत्र हत्या गरिएको देखिन्थ्यो । प्रकाशन योग्य नरहेका तस्विर हेर्दासमेत सवारीसाधनले किचेको देखिंदैन । मृतकको टाउको आधा भाग काटिएको र गिदी बाहिर निस्केको देखिन्छ । घटनास्थलमा न रगत देखिन्थ्यो, न कुनै सवारी साधन गुडेको जस्तो देखिन्थ्यो । प्राण त्याग्दा मृतक छटपटाएको संकेतसमेत घटनास्थलमा देखिंदैन थियो ।

मृतका दाजु धौलेराम सार्कीका अनुसार भुजेलामा बस्दै आएका मृतक नैनसिङ सार्कीकी श्रीमति भुजेलाकै टिका सार्कीसँग भागेर केही महिना भारत बसेकी थिइन् । भुजेला फर्केपछि पनि टीकाले मृतककी पत्निलाई आफ्नै घरमा राखेको धौले रामको भनाई छ । मृतक सार्की बेला बेलामा श्रमति खोज्न टीको घरमा जाने तर टीकाले हप्काएर–दम्काएर पठाउने क्रम चलिरहेकै बेला उनको शव पाइएको धौलेरामले बताए ।

 


About Author
-मदन गिरी