१२७६ पटक हेरिएको
प्रकाशित: २०७५ आषाढ २९ , १४:०५ बजे

दस करोडको बिल्डिङमा झक मार्दै अख्तियार !

Image

मदन गिरी
महेन्द्रनगर, २९ असार । अख्तियार दुरुपयोग अनुसन्धान आगोयको महेन्द्रनगर कार्यालय निर्माणका लागि राज्यले झण्डै १० करोड रुपैयाँ खर्च गरेको छ । तर, सो कार्यालयले भने आफूले गर्ने काम अरुलाई अह्राएर झक मार्दैछ ।

भीमदत्त नगरपालिकाको ग्राभेल सम्बन्धमा परेको उजुरीको अनुसन्धानमा अख्तियारले भद्रगोल तरिका अवलम्बन गरेको छ । आवश्यक कर्मचारी काजमा झिकाएर अनुसन्धान पूरा गर्न सक्ने अधिकार भए पनि अख्तियारले जिल्ला प्राविधिक कार्यालयलाई नै अनुसन्धानको जिम्मेवारी दिएको छ । तर, अख्तियारको पहिलो आदेश कार्यान्वयन जिल्ला प्राविधिक कार्यालयले पालना नगरेपछि अख्तियारका अधिकारी भने जिल परेका छन् । आफ्नो निर्देशन अनुसार काम नभएपछि फेरि अख्तियारले पुरानै ढर्रामा चिठी काटेर जिल्ला प्राविधिक कार्यालयलाई नै काममा खटाएको छ ।

अख्तिायरकै निरिहताका कारण भीमदत्त नगरपालिकाले चालु आर्थिक वर्षमा नगरका विभिन्न वडामा ग्राभेल हाल्दा भएको अनियमितताबारे थालिएको छानबिन लम्बिने भएको छ । ग्राभेल छानबिन प्रकरणमा जिल्ला प्राविधिक कार्यालयले अख्तियारलाई असहयोग गरेपछि छानविन लम्बिने संकेत पाइउको हो ।

ग्राभेलको अनियमितताको सम्बन्धमा अख्तियारले स्थलगत अनुगमन गरि प्रतिवेदन पठाउन १० दिनको समय दिएपनि जिल्ला प्राविधिक कार्यालयले स्थलगत अनुगमन नै नगरी प्रतिवेदन पठाउँदा छानबिन प्रक्रिया दोहरिने सम्भावना देखिएको हो ।

छानबिनमा सहयोगका लागि अख्तियारले जिल्ला समन्वय समिति (जिसस)लाई गत जेठ २७ मा पत्र पठाएको थियो । पत्रमा भीमदत्तको ग्राभेलमा अनियताबारे प्राविधिक टोली स्थलगत खटाएर १० दिनभित्र ग्राभेल सम्बन्धी सम्पूर्ण कागजात, छानविनको प्रतिवेदन सहित जिसस कार्यालयको प्रतिक्रिया माग गरिएको थियो ।
तर जिससले जिल्ला प्राविधिक कार्यालयलाई छानबिनका लागि निर्देशन दिएको भए पनि सो कार्यालयले स्थलगत अनुगमन नगरी प्रतिवेदन पठाएको छ ।

जिल्ला प्राविधिक कार्यालय कञ्चनपुरमा नासु कृष्णदत्त भट्टका अनुसार ग्राभेलको अनियमितताबारे नगरपालिकासँग स्पष्टीकरण मागिएको र सोहि आधारमा प्रतिवेदन तयार गरी अख्तियारलाई चिठ्ठी पठाईएको हो ।

अख्तियारले भने स्थलगत अनुगमन नै नगरी प्रतिवेदन तयार गरिएकाले पुनः पत्र काटेको छ । आयोगको महेन्द्रनगरका कार्यालय प्रमुख ज्ञानेन्द्र प्रसाद ढकालले स्थलगत अनुगमन नगरी प्रतिवेदन पठाएको हुँदा थप अनुसन्धान आवश्यक देखिएकाले पुनः पत्र पठाइएको बताए ।

ढकालका अनुसार ग्राभेलमा अनियमिता भएको भन्दै उजुरी परेकाले अख्तियारले छानबिन प्रक्रिया अगाडि बढाएको हो । घटनाको स्थलगत अनुगमन गरी बनाइएको प्रारम्भिक प्रतिवेदनको आधारमा प्रक्रिया सुरु हुने प्रमुख ढकालको भनाई छ । ढकालको यो भनाई अख्तियारकै लागि शर्मनाक हो । उजुरीमाथिको प्रारम्भिक छानविन अरुले गरेपछि मात्रै अख्तियारले प्रक्रिया सुरु गर्ने उनको भनाई आयोगकै प्रतिष्ठामा आँच पु¥याउने अभिव्यक्ति हो । ‘प्रारम्भिक प्रतिवेदनमा मुद्दा टुङ्गिन पनि सक्छ, होईन भने विस्तृत अनुसन्धान प्रक्रिया सुरु हुन्छ’ अख्तियार प्रमुख ढकालले भने ।

उनले स्थलगत अनुगमनका लागि अख्तियारसँग जनशक्ति अभाव रहेको र सम्बन्धित नियायबाट नै अनुसन्धानका लागि स्पष्टिकरण माग्ने कानुनी प्रक्रिया रहेको बताए । अख्तियारले पछिल्लो पटक साउन १५ भित्रमा स्थलगत अनुगमन गरी प्रतिवेदन पठाउने माग गरिएको छ ।

जिल्ला प्राविधिक कार्यालयका नासु भट्टले प्राविधिक जनशक्तिको व्यस्तताले स्थलगत अनुगमन गर्न नसकिएको बताए ।

अख्तियारले जिससलाई जेठ अन्तिम साता पठाएको पत्रमा भीमदत्तका विभिन्न वडामा अनियमितता भएको उजुरी परेकोले ‘अनुसन्धान कार्यमा सहयोग गरिदिन’ भन्दै सहयोग माग गरिएको थियो । वडा नं. २, ७, १०, ११, १२, १३ र १८ मा अनियमितता भएको उजुरी परेको सो पत्रमा उल्लेख छ ।


About Author
-मदन गिरी