२८९० पटक हेरिएको
प्रकाशित: २०७५ आषाढ २६ , ०९:४६ बजे

भीमदत्तमा गफ मात्रै, बेदकोटमा काम सकियो

Image

–मानसखण्ड
महेन्द्रनगर, २६ असार । भीमदत्त नगरपालिकाले भ्यू टावर बनाउने गुरुयोजनामा लाखौं खर्च गरेर सामाजिक सञ्जालमा प्रोपोगाण्डा मच्चाए पनि स्थलगत रुपमा भने माटो खोस्राने काम भएको छैन । बेदकोटमा भने पाँच तलाको भ्यू टावर तयार भएर छैटौं तला थप्ने काम भइरहेको छ ।

वेदकोट नगरपालिकाले निर्माण गरिरहेको भ्यू टावरमा एक तला थपिने भएको छ । वडा नम्बर ३ मा निर्माणाधिन पाँच तले वेदकोट भ्यू टावरमा अझ एक तला थप्न लागिएको हो ।

बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले पाँच तले भ्यू टावर बनाउने प्रारम्भिक योजना भए पनि पछिल्लो नगरसभाले तला थप्ने निर्णय गरेको बताए । उनले तला थप्न नगरपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरी टेन्डर प्रक्रियाबाट निर्माण कार्य सुरु गरि सकेको बताए ।

उक्त योजना पूरा भएपछि वेतकोट नगरपालिकामा ६० फिट अग्लो ६ तले भ्यू टावर बन्ने छ । भ्यू टावरबाट कञ्चनपुरको तराईको दृश्यावलोकन गर्न सकिने बताइएको छ ।

नगरप्रमुख अशोक कुमार चन्दले भ्यू टावर निर्माण पश्चात वेदकोट ताल, कैलाली र कञ्चनपरको समथर फाँटहरु अवलोकन गर्न सकिने बताए । उनका अनुसार वेदकोट ताललाई नेपालकै चर्चित पर्यटकीय क्षेत्रका रुपमा विकसित गर्ने योजना रहेको र सोही अनुसार भौतिक पूर्वाधार निर्माण भईरहेको छ ।

त्यस्तै वेदकोट ताल क्षेत्रका आन्तरिक तथा बाह्य पर्यटकले बस्ने तथा टिकट काउन्टर भवन, पर्खाल, गेट र पार्क पनि निर्माण समेत भईरहेको छ । प्रारम्भिक चरणको योजना अनुसार भ्यू टावर निर्माणका लागि ५८ लाख रुपैयाँमा अस्मिता बिल्डर्ससँग ठेक्का सम्झौता भएको थियो ।


About Author
-मानसखण्ड