११६२ पटक हेरिएको
प्रकाशित: २०७५ आषाढ २५ , १०:२५ बजे

प्रदेश-७ : डाडुपन्यू आफ्नै हातमा, महिनाको करोड खाने प्रस्ताव

Image

–मानसखण्ड
महेन्द्रनगर, २५ असार । प्रदेश–७ को प्रदेशसभाका सभामुख लगायत पदाधिकारी तथा सदस्यको मासिक पारिश्रमिक र भत्ता प्रस्ताव गरिएको छ ।

‘प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ मा सभामुखको पारिश्रमिक मासिक ५५ हजार रुपैयाँ प्रस्ताव गरिएको छ । यस्तै, विपक्षी दलका नेता र उपसभामुखको ५१/५१ हजार, सत्तापक्षको प्रमुख सचेतकको ४९ हजार ५सय, सत्ता पक्षका सचेतक र विपक्षी दलका सचेतकको ४९ हजार र प्रदेशसभा सदस्यको ४८ हजार रुपैयाँ मासिक पारिश्रमिक प्रस्ताव गरिएको छ ।

पदाधिकारी तथा सदस्यको प्रतिदिनको बैठक भत्ता समान ८ सय ५० तोकिएकामा मासिक आवास सुविधाबापत सभामुखलाई २० हजार, विपक्षी दलका नेता र उपसभामुखलाई १८/१८ हजार, सत्ता पक्षका प्रमुख सचेतक तथा विपक्षी दलका सचेतकलाई १६/१६ हजार र सदस्यलाई १५ हजार रुपैयाँ तोकिएको छ ।

फर्निचर खर्चबापत एक पटकका लागि एकमुष्ट सभामुखलाई ४० हजार र अन्यलाई ३५ हजारका दरले रकम उपलब्ध गराइनेछ ।

प्रदेशसभा सदस्य र सत्ता पक्षको सचेतक र विपक्षी दलका सचेतकबाहेक सबैलाई एक/एक वटा गाडी, सभामुखलाई मासिक १ सय २५ लिटर र विपक्षी दलको नेता, उपसभामुख, सत्तापक्षका प्रमुख सचेतकलाई मासिक १ सय लिटरका दरले इन्धन सुविधा दिने प्रस्ताव गरिएको छ ।

विधेयकमा पदाधिकारी तथा सदस्यलाई मासिक एक हजार ५ सय सञ्चार सुविधा प्रस्ताव गरिएको छ । सभामुख, विपक्षी दलको नेता र उपसभामुखको दैनिक भ्रमण भत्ता दुई हजार ५ सय र अन्यको दुई हजार ३ सय रुपैयाँ भ्रमणभत्ता प्रस्ताव गरिएको छ ।

यस्तै, विदेश भ्रमणमा जाँदा पदाधिकारी तथा सदःयको दैनिक भ्रमण भत्ता प्रतिदिन २ सय २५ अमेरिकी डलर पाउने प्रस्ताव गरिएको छ ।


About Author
-मानसखण्ड

सम्बन्धित