२९ पटक हेरिएको
प्रकाशित: २०७५ आषाढ २१ , १६:११ बजे

एक वर्षमा एक हजारभन्दा बढीलाई तालीम

Image

महेन्द्रनगर, २१ असार । व्यावसायिक तथा सीप विकास तालीम केन्द्र महेन्द्रनगरले चालु आर्थिक वर्ष २०७४/७५ मा एक हजार तीन सय जनाले व्यावसायिक तालीम लिएका छन् ।

तालिम लिनेमा पुरुष ४ सय ५३ र महिला ९ सय ९ रहेका छन् । चालू आवको जेठसम्म दलित १ सय ६९ महिला र ६७ पुरुष गरी जम्मा २ सय ३६, जनजाति ३ सय २३, अपाङ्ग एक तथा अन्य ८ सय २ जनाले तालीम लिएको कार्यालयका प्रमुख तर्कराज बिष्टले बताए । सञ्चालन गरिएका तालीममा सबैभन्दा बढी सिलाइकटाइ, ब्युटिपार्लर र कम्प्युटर सम्बन्धी रहेको छ ।

केन्द्रबाट तालीम सिकेका विभिन्न क्षेत्रका एक/एक जनालाई स्वरोजगारका लागि २२ हजार रुपैयाँसम्मको अनुदान सहयोग गरिएको विष्टले बताए । कार्यालयले कटाइ सिलाइ, केश शृंगार, विद्युत् जडान, मेकानिकल वेल्डिङ, मोटरसाइकल मर्मत, प्लम्बिङ, इलेक्ट्रोनिक्स, कम्प्युटर, पम्पसेट मर्मत तथा वैदेशिक एवं युवा स्वरोजगार विशेष सीप विकास तालीम निःशुल्क रुपमा सञ्चालन गर्दै आएको छ ।

यसैबीच, कर्मचारी र कार्यालय प्रदेश वा संघ कहाँ रहने भन्ने अन्यौलताका कारण तालीम प्रभावित भएका छन् । व्यावसायिक तथा सीप विकास तालीम केन्द्र महेन्द्रनगर अहिले विभागस्तरीय रहेको र अब केन्द्र, प्रदेश वा स्थानीय तह कसको मातहतमा कसरी रहने भन्ने अन्यौलमा परेको विष्ट बताउँछन् ।


About Author
-रासस

राष्ट्रिय समाचार समिति नेपालको एक मात्र समाचार एजेन्सी हो । यो नेपाल सरकारको पूर्ण स्वामित्व रहेको संस्थान हो ।