१३५७ पटक हेरिएको
प्रकाशित: २०७५ आषाढ २१ , ०९:४९ बजे

यस्तो ट्रिक चलेको छ भीमदत्त नगरपालिकामा !

Image

कानुनी प्रावधानलाई छल्न शीर्षककै मतलब नराख्ने प्रवृत्ति, प्रतिस्पर्धाविनै लाखौंका कामको भुक्तानी

–मानसखण्ड
महेन्द्रनगर, २१ असार । भीमदत्त नगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ मा लाखौं रुपैयाँ अनियमित तरिकाले खर्चेको खुल्न आएको छ । दैनिक मानसखण्डका सम्पादक खेम भण्डारीले सूचनाको हकको प्रयोग गरी मागेका केही कागजातबाट नगरपालिकामा ब्रम्हलुट भइरहेको संकेत प्राप्त भएको हो ।

सम्पादक भण्डारीलाई नगरपालिकाले उपलब्ध गराएको सूचना अनुसार कानुन र कार्यविधि बाहिर गएर नगरपालिकामा काम भइरहेको पाइएको छ । बोलपत्र (टेण्डर)मा जानुपर्ने कानुनी बाध्यता छल्न एउटै शीर्षकलाई खण्डिकरण गर्ने र सार्वजनिक सूचनामार्फत दरभाउपत्र (कोटेसन) समेत नमागेर काम गराएर भुक्तानी दिने गरिएको प्राप्त दस्तावेजहरुबाट देखिएको छ ।

प्रचलित कानुन र नगरपालिका स्वयंको कार्यविधि अनुसार एक लाख रुपैयाँभन्दा तलका खर्च सोझै गर्न सकिन्छ भने पाँच लाख रुपैयामुनीका खर्च दरभाउ आव्हान गरी गर्नुपर्ने हुन्छ । भीमदत्तमा भने दरभाउपत्र समेत नमागेर काम भइरहेको छ । कानुन अनुसार एक आर्थिक वर्षमा एउटै शीर्षकमा टुक्रा–टुक्रामा खर्च गर्न पाइने भए पनि सार्वजनिक सूचना जारी गरेर सबै टुक्राको एउटै सूचना प्रकाशित गर्नुपर्ने कञ्चनपुर अडिटर्स एसोसियसनका अध्यक्ष दिवान चन्दले बताए । उनले भने, ‘काम टुक्रामा गराउन सकिन्छ तर एकै पटक दरभाउपत्र वा बोलपत्र मार्फत प्रतिस्पर्धा गराउनुपर्छ ।’ तर, भीमदत्त नगरपालिकामा एउटै शीर्षकलाई धेरै खण्डमा बाँडेर प्रतिस्पर्धा नै नगराई काम दिइएको छ ।

नगरपालिकाले चालु आर्थिक वर्षमा वृत्तचित्र निर्माणमा कूल नौ लाख ८४ हजार दुई सय ५८ रुपैयाँ खर्च गरेको छ । यो रकमबाट दुईवटा वृत्तचित्र निर्माण गरिएको प्राप्त दस्तावेजमा उल्लेख छ । राजभिजन प्रालिलाई वृत्तचित्रका लागि नगरपालिकाले चार लाख ९१ हजार रुपेयाँ भुक्तानी दिईसकेको छ भने अर्को वृत्तचित्रका लागिटीभी टुडे नेटवर्क प्रा. लि.लाई चार लाख ९२ हजार रुपैयाँ भुक्तानी दिइएको छ ।

आश्चर्यजनक त के भने यसरी टुक्रा पार्दा हरेक टुक्राको रकम उस्तै–उस्तै रहेको छ ।

नगरपालिकाका सूचना अधिकारी हरिसंह धामीले वृत्तचित्र निर्माणका लागि सार्वजनिक सूचना जारी नगरिएको स्वीकारेका छन् ।

त्यस्तै, विभिन्न गुरुयोजना बनाउने काममा पनि नगरपालिकाले प्रक्रिया मिचेर भुक्तानी दिएको पाइएको छ । गुरुयोजनाको एउटै शीर्षअन्तर्गत २९ लाख रुपैयाँ खर्च गरिएको छ । त्योमध्ये ११ लाख रुपैयाँको काम बोलपत्रमार्फत् गराइएको छ भने १८ लाख रुपैयाँ प्रतिस्पर्धाविनै भुक्तानी दिइएको छ । १८ लाख रुपैयाँको त्यो कामलाई चार टुक्रा पारिएको छ । अडिटर्स एसोसियसनका अध्यक्ष चन्दले यसरी एउटै प्रकृतिको काम टुक्रा पारेर दिंदा सबै टुक्राको संयुक्त बोलपत्र आव्हान हुनुपर्ने बताए । उनले भने, ‘यस्तो कामलाई महालेखाले बेरुजु निकाल्ने निश्चित छ ।’

नगरपालिकाले सितारा कन्सल्ट प्रा.लि.लाई प्रतिस्पर्धाविनै महाकाली अञ्चल अस्पतालको गुरु योजना बनाउन चार लाख ३० हजार रुपैया भुक्तानी दिएको छ । त्यसैगरी फलपूmल, तरकारीबजार र पार्कको गुरुयोजनाका लागि पिस कन्सल्ट प्रालिलाई ४ लाख ८५ हजार र भ्यूटावरको गुरुयोजनाका लागि स्टुडियो ग्रिन अल्का पोलिसलाई ४ लाख ८३ हजार रुपैयाँ भुक्तानी गरिएको छ । ब्राइट फ्यूचर कन्सल्टेन्ट प्रालिले नगरपालिका परिसरको गुरुयोजना बनाएवापत प्रतिस्पर्धाविनै चार लाख ८३ हजार रुपैयाँ भुक्तानी लिएको प्राप्त दस्तावेजबाट देखिएको छ ।

नगरका सडक गुरुयोजनाका लागि भने प्रतिस्पर्धा गराइएको सूचना अधिकारी धामीले बताए । मुनलाइट सिभिल सोलुसनलाई सडक गुरुयोजनावापत ११ लाख ३ हजार रुपैयाँ भुक्तानी दिइसकिएको छ ।


नगरपालिकाका अधिकारीहरु जनप्रतिनिधिले निर्णय गराए अनुसार भुक्तानी दिइएको बताउँछन् । तर, जनप्रतिनिधिहरु भने प्रक्रिया मिलाउने काम कर्मचारीको भएकोले कार्यपालिकाले निर्णय मात्रै गर्ने गरेको तर्क गर्छन् । नगरपालिकाका प्रवक्ता तथा वडा नं. १८ का अध्यक्ष राजेन्द्र पाण्डले भने, ‘प्रक्रिया मिलेकोलाई मात्र भुक्तानी गर्ने जिम्मेवारी कर्मचारीहरुको हो ।’


About Author
-मानसखण्ड