२१५५ पटक हेरिएको
प्रकाशित: २०७५ आषाढ २० , ०८:५२ बजे

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय :  यसरी बनाइँदै छ प्राज्ञिक वेश्यालय  !

Image

-खेम भण्डारी
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको स्थापनाको इतिहास संघर्षमय छ । यो विश्वविद्यालय स्थापनाका लागि कञ्चनपुरवासीले लामो र कडा आन्दोलन गर्नुपरेको थियो । करिब तीन साता सबैले आफ्नो काम छोडेर होमिएपछि विश्वविद्यालय स्थापनाका लागि तत्कालिन सरकार बाध्य भएको थियो । विश्वविद्यालय महेन्द्रनगरवासीको सपना थियो । महेन्द्रनगरलाई शिक्षाको केन्द्र बनाउने सपना बोकेर यो विश्वविद्यालय स्थापना भएको हो ।

तर, आज सुदूरपश्मिाञ्चल विश्वविद्यालय महेन्द्रनगरकै लागि लज्जाको विषय बन्ने त होइन भन्ने आशंका उब्जन थालेको छ । राज्यले पूर्वाधार र अन्य पक्षमा करोडौं रुपैयाँ लगानी गरिसकेको भए पनि यो विश्वविद्यालय राजनीतिको गोलचक्करमा फसेर महेन्द्रनगरकै लागि घाँडो बन्न थालेको छ । शैक्षिक र प्राज्ञिक दुबै दृष्टिकोणबाट विश्वविद्यालय असफलतातर्फ गइरहेको आभाष हुन थालेको छ ।

हो, विश्वविद्यालयजस्तो प्राज्ञिक संस्थाको विकास समाजसँग अनुक्रमानुतिक हुन्छ र स्तरोन्नति क्रमिक हुन्छ । तर, हुने विरुवाको चिल्लो पात भन्ने नेपाली लोकोक्ति यस विश्वविद्यालयको हकमा पनि लागू हुन्छ । संकेत र संस्कार हेर्दा विश्वविद्यालय गर्भमैं अपांग होला जस्तो छ । एकातिर आवश्यकताभन्दा बढी राजनीति र अर्कोतिर कमजोर प्राज्ञिक धरातलका कारण विश्वविद्यालयको विकास कुँजिन थालेको छ । यो अवस्था अझै केही समय कायम रहने हो भने जतिसुकै बजेट खन्याए पनि यो विश्वविद्यालय एउटा सामान्य शैक्षिक केन्द्रभन्दा माथिल्लो स्तरमा उठ्न सक्ने देखिन्न ।

मान्छेले आफ्नो पेशा र कर्तब्यलाई राजनीतिसँग तब मात्रै जोड्छ, जब उ त्यो कर्मका लागि पूर्णतः सक्षम हुँदैन र उसमा आत्मविश्वासको ठूलो संकट हुन्छ । यस्तो अवस्थामा त्यो व्यक्तिसँग राजनीतिक शक्तिबाट आफूलाई उकास्ने र वृत्ति विकासमा राजनीति नै उसका लागि अन्तिम विकल्प हुन्छ । आज नेपालका प्रायः सबै पेशा र कर्म राजनीतिसँग अन्योन्याश्रित भएर गाँसिनुको मूल कारण यही हो ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा कार्यरत जनशक्ति अनावश्यक स्तरमा राजनीतिमा उत्रिएको र राजनीतिक दलहरुकै गोटीका रुपमा काम गरिरहँदा विश्वविद्यालयको हालत यस्तो हुन पुगेका आम बुझाई छ । यो बुझाई सत्यको निकट छ । उच्च ओहदामा बसेका अधिकारीहरुले राजनीतिक भक्तिका लागि नितान्त घटिया हर्कत गरेका दृष्टान्त पनि बेलाबखत देखिने गरेका छन् । यसबाट विश्वविद्यालयको प्राज्ञिकदेखि कर्मचारीसम्मको जनशक्तिको क्षमता र कटिवद्धता प्रश्नको घेरामा परेको छ । विश्वविद्यालय नै धरापमा पर्ने गरी उनीहरु वृत्ति विकासका लागि लज्जाको हद नाघेर राजनीतिक दलको फरिया समात्न पुगेका सबैले देखेकै कुरा हो ।

राजनीतिक दलहरुले जतासुकै हस्तक्षेप गर्छन्, यो राजनीतिक दलको स्वभाव हो । आफ्नो प्रभाव विस्तार गर्न राजनीतिक दलले स्वाभाविक रुपमा गर्ने हस्तक्षेपलाई स्वीकार्ने कि नस्वीकार्ने भन्ने सम्बनिधत पेशा र कर्ममा संलग्न व्यक्तिमा भर पर्छ । जब त्यो हस्तक्षेप स्वीकार गरिन्छ, बुझ्नुपर्छ त्यो पेशा वा कर्ममा क्षमताको संकट उत्पन्न भएको छ ।

प्रारम्भिक दिनमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा अब्बल करिअर र उत्कृष्ट क्षमता भएका सबल व्यक्तिहरु पदाधिकारमा थिए । उनीहरुले राजनीतिक हस्तक्षेपलाई प्रतिवाद गर्न सक्थे र गरेका पनि हुन् । तर, अक्षमहरुको बथानले राजनीतिक दलहरुको हस्तक्षेपमा मतियारको भूमिका गरेर विश्वविद्यालयमा राजनीतिक दलहरुको हस्तक्षेपलाई बलियो बनाएका हुन् । आज ती मतियारहरु हालिमुहालीमा छन् र विश्वविद्यालयको सिंगो नेतृत्व फगत राजनीतिक कठपुतली बनेको छ । यस्तो अवस्थामा यो विश्वविद्यालयको स्तरोन्नतिको कल्पना कसरी गर्ने ?

वर्षमा ४ महिना तालाबन्दी गर्नेहरु नै आफूलाई विश्वविद्यालयका सुधारक जस्तो दावी गर्ने अनौठो हर्कत देखिएको छ । विश्वविद्यालय सुधारका नाममा आन्दोलन गरेर कुर्सी पड्काउने निर्लज्जहरु प्राज्ञिकताको फुइं मार्छन् । रजिष्ट्रार जस्तो ओहदाको मान्छेले सामाजिक सञ्चालमा निर्वश्त्र राजनीतिक भक्तिगान गर्दा संकोच मान्दैन । विभागीय प्रमुखहरुको नियुक्ति हुँदा नांगो नाचेकाहरुले समाजमा छाति फुलाएर हिंड्ने दुष्प्रयास गर्छन् र शैक्षिक प्रमाणपत्र नै जसको शंकाको घेरामा छ उसले आफूलाई प्राज्ञ कहलाउनका लागि न्वारानको बल लगाउँछ । यस्तो अनौठो विश्वविद्यालय बनाउन कञ्चनपुरवासीले संघर्ष गरेका थिए ?

विद्यार्थीहरुको आन्दोलन बुझ्न सकिन्छ । उनीहरुले आफ्ना माउ पार्टीको नभई केही थान नेताको सेवा गरिरहेकैले चौबीस घण्टा ताल्चा खल्तीमा बोकेर हिंड्ने गरेका छन् । ती नेता विश्वविद्यालयकै कुनै महा–सक्षमको आग्रहमा चल्छन् र विद्यार्थीलाई नेताले तालाबन्दीको फर्मान् जारी गर्छन् । यो चक्रमा कुनै दल विशेष नभएर सबै दल चलेका छन् ।

समाजको उदाशिनताले विश्वविद्यालयका राजनीतिक खेलाडीलाई फराकिलो मैदान उपलब्ध गराइदिएको छ । नागरिक समाजको नाममा पदमा बुर्कुसी मार्ने र रहलपहलमा रमाउनेहरुले विश्वविद्यालयको चिन्ता गर्न भ्याएका छैनन् । हिजो आन्दोलनमा सकस पाएको व्यक्तिले पनि विश्वविद्यालयको दुर्गतिविरुद्ध आवाज उठाएको सुनिएको छैन । सुतिरहेको सहरमा विश्वविद्यालय स्थापना गर्ने केही अगुवाहरुको सोचमैं त त्रुटि थिएन त्यसबेला ? प्रश्न अब उठ्न थालेको छ ।

अझै सबै खत्तम भने भइसकेको छैन । सुधार गर्नका लागि अझै बेला छ । तर, कसरी यो विश्वविद्यालय सुधार्ने भन्ने सूत्र कसैसँग छैन । महेन्द्रनगरको भूमिमा महान अनुसन्धान हुने कल्पना गरेर खोलिएको विश्वविद्यालयमा एउटा त्यस्तो व्यक्ति छैन जसले दुर्गतिमा परेको आफ्नै संस्थाको उद्धार हुन सक्ने अवधारणा ल्याओस् । योभन्दा ठूलो दुर्भाग्य अर्को के हुन सक्छ ?


About Author
-खेम भण्डारी

सम्बन्धित