४७८ पटक हेरिएको
प्रकाशित: २०७५ आषाढ २० , ०८:४२ बजे

पुलिसको चाला कहिल्यै नसुध्रिने भो !

Image

–मानसखण्ड
महेन्द्रनगर, २० असार । भीमदत्त नगरपालिका–३ तिलकपुरमा बिजुली नयाँ लाईन तान्ने क्रममा भएको दुर्घटनालाई प्रहरी र सरोकारवालाले ‘सामान्य दुर्घटना’ मान्दा घटना रफदफा हुने बाटोतिर गएको छ ।

गाड्न लागेको पोलले सँगैको एघार हजार भोल्टेज भएको प्रसारण लाईन (हाइटेन्सन लाईन)मा छुँदा करेन्ट लागेर एकजना मृत्यु भएको थियो भने चारजना घाइते भएका थिए । ठेकेदारले एघार हजार भोल्ट बग्ने (हाइटेन्सनलाईन)लाइन बन्द गरेर (सटडाउन लिएर) काम गर्नुपर्ने भए पनि नलिंदा उक्त दुर्घटना भएको थियो ।
ठेकेदारको लापरवाहीका कारण दुर्घटना हुँदा एकजनाको मृत्यु भए पनि प्रहरीले सामान्य दुर्घटना जस्तै कारबाही प्रक्रिया बढाएको छ ।

जिल्ला प्रहरि कार्यालय कञ्चनपुरका प्रवक्ता एवं डीएसपी ज्ञान बहादुर सेटीले मृतक र घाइतेहरुलाई जनही पाँच लाख रुपैयाँको दुर्घटना बीमाबाट राहत तथा उपचार दिने प्रक्रिया अगाडि बढेको बताए । घटनालाई प्रहरीले सामान्य रुपमा लिएको आशय व्यक्त गर्दै सेटीले ठेकेदारसँग सोधपुछ समेत नगरिएको बताए ।

ठेकेदार कम्पनीले हाइटेन्सन लाईन बन्द गरेर मात्रै काम गर्नु पर्नेमा विद्युत प्राधिकरणलाई खबरै नगरी पोल गाड्दा दुर्घटना भएको प्राधिकरणका अधिकारीहरुले बताएका छन् ।

घाइतेहरुको महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि आइतबार नै धनगढीस्थित सेती अञ्चल अस्पतालमा पठाइएको थियो । त्यहाँ पनि उपचार हुन नसकेपछि काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको
छ । महाकाली अञ्चल अस्पतालका अनुसार घाइते चारैजनाको अवस्था गम्भीर छ ।

करेन्ट लागेर कञ्चनपुरको दक्षिणी लालझाँडी गाउँपालिका–५ देखतभुलीका २४ वर्षीय शिवराज रानाको मृत्यु भएको थियो भने देखतभूलीकै जयना राना र समीर चौधरी तथा कृष्णपुर नगरपालिका–६ का अनिल चौधरी र कैलालीको धनगढी उपमहानगरपालिका–१६ उर्माका बालकृष्ण चौधरी करेन्ट लागेका घाइते भएका थिए ।

प्राधिकरणको ठेकेदार कम्पनी अमृत कन्स्ट्रक्सनले दिनभरि बेला–बेलामा पानी परिरहेको अवस्थामा सँगै जोडिएको हाइटेन्सन लाईन सटडाउन नै नगरी मजदुरलाई काममा लगाएको थियो । प्राधिकरणका इन्जिनियर ललितबहादुर चन्दले सो ठाउँमा अनिवार्य रुपमा सटडाउन लिनुपर्ने थियो ।

ठेकेदारको लापरवाहीका कारण एकजनाको ज्यान गए पनि प्रहरीले लापरवाही गर्नेका विरुद्ध कारबाही सोच्दै नसोच्नु आश्चर्यजनक छ । मृतक तथा घाइतेहरु थारु समुदायका गरीब भएकाले पनि घटनाले चर्चा पाउन नसकेको हो ।

निर्माण व्यवसायी पदम बोहराले काम सुरु गर्दा हाईटन्सन लाईनको सटडाउन नमागेको स्वीकारेका छन् । ‘हतारमा काम गर्नु थियो त्यतापट्टि ध्यान गएन,’ उनले भने । असार मसान्त नजिकिंदै गर्दा उनले काम सक्न हतार गरेको अनुमान छ । जोखिमयुक्त काम गर्दा विद्युत प्राधिरणसँग सटडाउन नमागेर निर्माण कम्पनीले चरम लापरवाही गरेको छ । मृतकको क्षतिपूर्ति र घाइतेको उपचार खर्च ठेकेदारले नै बेहोर्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख भएको इन्जिनियर चन्दले बताए । ठेकेदार बोहराले भने मजदुरहरुको पाँच लाखको बीमा गरिएको बताए ।

तर, यो घटनाका मृतकको परिवारलाई बीमा रकममा ठग्न खोज्नु न्यायसंगत देखिंदैन घटनाको गहन छानविन समेत नहुने संकेत पाइएको छ । ठेकेदारले सोझै लापरवाही गरेर मजदुरको ज्यान गए पनि सामान्य घटनाको दर्जामा यसलाई टुंग्याउन लागिएको छ ।


About Author
-मानसखण्ड

सम्बन्धित