८४ पटक हेरिएको
प्रकाशित: २०७५ आषाढ १९ , १०:०८ बजे

छाडा चौपायाको समस्याले अरु कठिनाई ओझेलमा

Image

– भूवन भट्ट
महेन्द्रनगर, १९ असार । स्थानीय तहको निर्वाचनमा आफूले भोट दिएर चुनेका जनप्रतिनिधिले एक वर्षको अवधिमा अपेक्षाअनुसारको काम गर्न नसकेको भीमदत्त नगरपालिका वडा नं. ४ का मतदाताको गुनासो छ । दैनिक मानसखण्डले वडागत रुपमा सुरु गरेको एक वर्षे कार्यकालको मूल्यांकनका क्रममा मतदाताले असन्तोष प्रकट गरेका हुन् ।

नगरको मुख्य सहरी वडा क्षेत्र समेटेको भए पनि वडा नं. ४ छाडाचौपायाको समस्याबाट सबैभन्दा बढी ग्रसित वडा हो । मानसखण्डसले कुराकानी गरेका अधिकांश वडावासीका लागि पनि यो समस्या समाधान गर्न स्थानीय सरकार असफल भएको लागेको छ । स्थानीय वासिन्दा कल्पना जोशीले जनप्रतिनिधिले अपेक्षा अनुसार काम नगरेको आरोप लगाउँदै भनिन्, ‘छाडा चौपाया नियन्त्रण गर्न स्थानीय सरकार असफल भएको छ ।

वडा नं. ४ का सडक र गल्लीमा जतातै छाडा गाईगोरु देखिन्छन् । ती चौपायाको मलमूत्रका कारण बजारवासीले हैरानी खेप्नु परेको छ । चौपायाको मलमूत्र केही समय पहिलेसम्म नगरपालिकाले सोहर्ने गरेकोमा अहिले त्यो पनि बन्द भएको छ । ‘यो समस्या समाधानको चुनावी नारा फोस्रो सावित भएको छ,’ कल्पनाले भनिन्, ‘हामीले यो समस्या समाधान हुन्छ भन्ने आस मारिसकेका छौं ।’

वडा नम्बर ४ कै अर्का वासिन्दा नन्दराज जोशीले स्थानीय सरकारले जनतालाई थाहा हुने गरी योजना निर्माण तथा विकास कार्य नगरेको बताए । उनले काममा ढिलासुस्ती र विकासमा जनताको सुझाव लिने कोसिस पनि नभएको दावी गरे । वडा नं. ४ मा देखिने खालको एउटा पनि काम नभएको उनको ठम्याई छ । उनले विकासका योजना छनोटमा पहुचवालालाई मात्रै सहभागी गराउने पुरानो परम्परा कायम रहेको गुनासो गरे ।

जोशीले भनेजस्तै वडा नं. ४ मा नगरपालिकाले देख्न सकिने काम गरेको पाइएको छैन । केही ढल र सडकको काम भइरहेको भए पनि त्यो नगरपालिकाले नभई धनगढीस्थित सघन सहरी विकास कार्यक्रमको पुरानो बजेट अन्तर्गत भइरहेको हो । नगरपालिकाले बजार क्षेत्रका सडकमा धुलो जमे पनि झाडु लगाउने गरेको छैन । फोहर संकलनका लागि ट्रक कुदाउनुबाहेक यस वडामा सरसफाईका अरु काम नभएको स्थानीय वासिन्दाको भनाई छ ।
नगरपालिकाले सब्जिमण्डीलगायतका केही स्थानको विकास गर्न गुरुयोजनाका नाममा लाखौं खर्चे पनि सडक, चोक तथा सडकबत्तीमा दीगो लगानीको योजनासमेत ल्याएको छैन । वडा नं. ४ मैं रहेको रिजर्भ एरियामा गैरकानुनी लिजका आडमा अवैध निर्माण भइरहे पनि नगरपालिका मूकदर्शक बनेको वडावासीहरुको आरोप छ ।
बजार क्षेत्रमा झुण्ड्याइएका सडकबत्ती बिग्रेमा मर्मत नहुने वडावासीको गुनासो छ । अर्का स्थानीय वासिन्दा भुपेन्द्र शाहीले निर्वाचित जनप्रतिनिधिको निजी जीवन फेरिएको प्रष्ट देखिए पनि वडामा महसुस गर्न सकिने एउटा पनि विकास योजना सम्पन्न नभएको दावी गरे । उनले जिल्लाकै सदरमुकाम भए पनि बजार क्षेत्रका सडक फराकिलो बनाउन र चोक व्यवस्थापन गर्न कुनै पहल नभएको प्रति आश्चर्य प्रकट गरे ।

वडा नं. ४ पहिलेदेखि नै तुलनात्मक रुपमा विकास भएको वडा हो । अहिले आएर भने यस वडाले विकासमा समानताको नाराका कारण भेदभाव भोग्नु परेको छ । सबैभन्दा धेरै राजश्व दिने यस वडाको वजेट अरुभन्दा खासै फरक देखिंदैन ।

नगरको मुख्य करदाता वडा भए पनि यस वडाका वासिन्दा असारको पहिलो साता सम्पन्न तेस्रो नगरसभाले करको दर कति निर्धारण गर्‍यो भन्नेबारे अनविज्ञ रहनुपरेकोमा दुखी देखिन्छन् । नन्दराज जोशीले भने, ‘वडावासीलाई अन्धकारमा राखिएको छ ।’

वडा अध्यक्ष लक्ष्मीदत्त बोहराले भने बिकासको कामले गती लिएको दाबी गरे । उनले जनताको अपेक्षा पूरा गर्न वडा र नगरपालिका लागिपरेको बताए । बागफाँटामा छाडा चौपाया व्यवस्थापनका लागि पूर्वाधार निर्माण भइसकेको बताउँदै उनले भने, ‘अब छाडा चौपायाको समस्या पनि समाधान हुन्छ ।’


About Author
-भुवन भट्ट

भट्ट दैनिक मानसखण्डका सम्वाददाता हुन् । उनी दुई वर्षदेखि पत्रकारितामा क्रिाशील छन् ।