४९२ पटक हेरिएको
प्रकाशित: २०७५ आषाढ १८ , ०८:५३ बजे

प्रदेश–७ मा असारे विकास : मजुदर नै मार्नेलाई खोई सजाय ?

Image

–सुजित सिनाल/भूवन भट्ट
महेन्द्रनगर, १८ असार । भीमदत्त नगरपालिका–३ ऐठपुरमा बिजुली नयाँ लाईन तान्ने काम गरिरहेका पाँच मजदूरलाई करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ भने चारजना गम्भीर घाइते भएका छन् । गाड्न लागेको पोलले सँगैको एघार हजार भोल्टेज भएको प्रसारण लाईन (हाइटेन्सन लाईन)मा छुँदा करेन्ट लागेको घाइतेहरुको भनाई छ । ठेकेदार कम्पनीले हाइटेन्सन लाईन बन्द गरेर मात्रै काम गर्नु पर्नेमा विद्युत प्राधिकरणलाई खबरै नगरी पोल गाड्दा दुर्घटना भएको प्राधिकरणको दावी छ ।

घाइतेहरुको महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि आइतबार नै धनगढीस्थित सेती अञ्चल अस्पतालमा पठाइएको छ । महाकाली अञ्चल अस्पतालका अनुसार घाइते चारैजनाको अवस्था गम्भीर छ ।

आइतबार दिउँसो ऐंठपुरको मालिकार्जुन टोलमा बिजुलीको नयाँ खम्बा गाड्ने क्रममा करेन्ट लागेर कञ्चनपुरको लालझाँडी गाउँपालिका–५ देखतभुलीका २४ वर्षीय शिवराज रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ज्ञानबहादुर सेटीले बताए । देखतभूलीकै जयना राना र समीर चौधरी तथा कृष्णपुर नगरपालिका–६ का अनिल चौधरी र कैलालीको धनगढी उपमहानगरपालिका–१६ उर्माका बालकृष्ण चौधरी करेन्ट लागेका घाइते भएका छन् ।

मृतक र घाइते विद्युत प्राधिकरणको ठेकेदार कम्पनी अमृत कन्स्ट्रक्सनले ज्यालादारीमा लिएका कर्मचारी हुन् । घाइते बालकृष्ण चौधरीले सिमेन्टको पोलले हाइटेन्सन लाईनको तार छुँदा करेन्ट लागेको बताए अर्का घाईते अनिल चौधरीले आफूहरुले पोल उठाईरहको बेला पोलले तार छोएको बताए ।

शिवराजलाई उपचारका लागि महाकाली अञ्चल अस्पताल ल्याउँदा बाटोमा मृत्यु भएको हो ।

निर्माणको ठेक्का पाएको अमृत कन्स्ट्रक्सनका सञ्चालक पदम बोहराले घाइतेहरुको बयान सत्य भएको बताए । उनले हाइटेन्सन लाईनमा भिजेको पोलले छुँदा दुर्घटना भएको स्वीकारे ।

चरम लापरवाही
आइतबार दिनभरि बेला–बेलामा पानी परिरहेको अवस्थामा सँगै जोडिएको हाइटेन्सन लाईन बन्द (सटडाउन) नै नगरी मजदुरलाई काममा लगाउने गम्भीर लापरवाही देखिएको छ । विद्युत प्राधिकरणका इन्जिनियर ललितबहादुर चन्दले सो ठाउँमा काम गर्न सटडाउन अनिवार्य लिनुपर्ने भए पनि ठेकेदारले प्राधिकरणसँग सटडाउनका लागि अनुरोध गरेको थिएन ।

निर्माण व्यवसायी पदम बोहराले काम सुरु गर्दा हाईटन्सन लाईनको सटडाउन नमागेको स्वीकारेका छन् । ‘हतारमा काम गर्नु थियो त्यतापट्टि ध्यान गएन,’ उनले भने । असार मसान्त नजिकिंदै गर्दा उनले काम सक्न हतार गरेको अनुमान छ । जोखिमयुक्त काम गर्दा विद्युत प्राधिरणसँग सटडाउन नमागेर निर्माण कम्पनीले चरम लापरवाही गरेको छ ।

मृतकको क्षतिपूर्ति र घाइतेको उपचार खर्च ठेकेदारले नै बेहोर्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख भएको इन्जिनियर चन्दले बताए । ठेकेदार बोहराले भने मजदुरहरुको पाँच लाखको बीमा गरिएको बताए ।

गम्भीर घटना तर प्रहरीको बुझाई अर्कै
ठेकेदार कम्पनीले सटडाउन नै नगरी बर्खाको समयमा काम गराउँदा एक मजदुरको ज्यान जाने र थप चारजना गम्भीर हुने अवस्था आए पनि कञ्चनपुर प्रहरीले यस घटनालाई सामान्य दुर्घटनाको रुपमा लिएको संकेत पाइउको छ । डीएसपी सेठीले ठेकेदारलाई सोधपुछका लागि समेत सम्पर्क नगरिएको बताएका छन् ‘दुर्घटना भएकाले तत्काल ठेकेदारलाई पक्राउ गरिएको छैन,’ सेठीले भने ।

ठेकेदार कम्पनीले मजदुरहरुको सामान्य सुरक्षा मापदण्ड पनि नअपनाएको यो घटनामा प्रहरीको बुझाई आश्चर्यजनक छ ।


About Author
-मानसखण्ड