६२८ पटक हेरिएको
प्रकाशित: २०७५ आषाढ १८ , ०८:४२ बजे

लावारिस बनेको बन्यै सुदूरपश्चिमाञ्चल विश्वविद्यालय !

Image

–मानसखण्ड
महेन्द्रनगर, १८ असार । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा करिब तीन हप्तादेखि लागेको ताला खोल्न अझै कुनै पहल भएको छैन । उपकूलपति र रजिष्ट्रार काठमाडौंमैं रहेकाले आन्दोलनरत विद्यार्थी संगठनसँग वार्ताको पहल गर्ने व्यक्ति नै नभएपछि केन्द्रीय कार्यालयमा आन्दोलनकारीको ताला अझै झुण्डिरहेको छ ।

विश्वविद्यालयले आफूले नपढाउने विषयको समेत सम्बन्धन दिने सूचना जारी गरेको विरोधमा तत्कालिन नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको थियो । तालबन्दीका कारण केन्द्रीय कार्यालयका कर्मचारी फुर्सदिला भएका छन् भने विश्वविद्यालयका प्रशासनिक काम पनि ठप्प छन् । प्रशासकीय अधिकृत गोविन्दवल्लभ पन्त पनि अहिले काठमाडौंमैं रहेका छन् ।

विश्वविद्यालयले गेटास्थित आँखा अस्पताललाई नेत्र सम्बन्धी मेडिकल कलेजको सम्बन्धन दिने आशयले नेपाल नेत्रज्याति संघसँग समझदारी गरी सूचना आव्हान गरेपछि क्रान्तिकारीले त्यसको विरोधमा तालाबन्दी गरेको हो ।

प्रशासकीय अधिकृत पन्तले अझै एक हप्ता तालाबन्दी गर्ने पक्षसँग सम्वाद हुन नसक्ने संकेत दिएका छन् । उनले आंगिक क्याम्पस समायोजनको प्रक्रिया अन्तिम चरणमा पुगेकोले उपकूलपति र रजिष्ट्रार महेन्द्रनगर आउन नसक्ने बताउँदै अझै केही दिन वार्ता हुन नसक्ने बताए । सुदूरपश्चिम विश्वविद्यालय पटक–पटक तालाबन्दी र आन्दोलनको सिकार हुने गरेको छ ।

झोलीझिम्टा कस्दै
काठमाडौंमा रहेका सबै विश्वविद्यालयका सम्पर्क कार्यालय बन्द गर्ने मन्त्रीस्तरीय निर्णयको कार्यान्वयनका लागि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले पनि तयारी गरिरहेको बताइएको छ । पन्तले असार मसान्तभित्रै सम्पर्क कार्यालय बन्द गर्नका लागि अहिले सरसामान प्याकिङ गर्ने काम भइरहेको बताएका छन् । सम्पर्क कार्यालयका घरधनीले भवनमा ‘भाडामा उपलब्ध’ भनी बोर्डसमेत टाँगिसकेको पन्तको भनाई छ ।

सरसामान प्याक गर्ने काम चलिरहेकाले सम्पर्क कार्यालय पूरै बन्द हुन अझै २० दिन लाग्ने पन्तको कथन छ । काठमाडौंमा सम्पर्क कार्यालय रहेपछि विश्वविद्यालयका उपकूलपति र रजिष्ट्रारले आफ्नो मुख्य कार्यालय नै त्यहाँ बनाएका थिए । उनीहरु वर्षको एक महिना पनि निरन्तर महेन्द्रनगरस्थित केन्द्रीय कार्यालयमा बसेको अभिलेख छैन । सम्पर्क कार्यालय बन्द भएपछि उनीहरु महेन्द्रनगर बस्न बाध्य हुने अनुमान गरिएको छ ।

आफ्नै भवन तयार तर बाटो छैन
विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि अत्याधुनिक भवन निर्माण सम्पन्न भएको छ । करिब ६ करोड रुपैयाँमा सालघारीमा निर्मित भवन हस्तान्तरणको चरणमा पुगेको प्रशासकीय अधिकृत पन्तले बताए ।

तर, विश्वविद्यालयसम्म जाने सडक निर्माणको प्रक्रिया भने अहिलेसम्म सुरु भएको छैन । भगतपुर ब्यारेक नजिक खानेपानी ट्यांकीबाट बनाइनुपर्ने सडकको लागि भर्खरै टेण्डर भएको पन्तले जानकारी दिए । सो सडक नबनेसम्म केन्द्रीय कार्यालय आफ्नो भवनमा सर्न नसक्ने देखिएको छ । अहिले केन्द्रीय कार्यालय भाडाको भवनमा रहेको छ ।

केन्द्रीय कार्यालय भवन निर्माणमा करिब ३ वर्ष लागेको हो । यो बीचमा सडक बनाउनेतर्फ ध्यान नजानु आश्चर्यजनक मानिएको छ ।

 


About Author
-मानसखण्ड

सम्बन्धित