४९२२ पटक हेरिएको
प्रकाशित: २०७५ आषाढ १७ , २२:३८ बजे

पहिलो पटक महाकाली अञ्चल अस्पतालको मुद्दा प्रतिनिधिसभामा

Image

–मानसखण्ड
महेन्द्रनगर, १७ असार । महाकाली अञ्चल अस्पतालको दुर्दशाले प्रतिनिधिसभामा आवाज पाएको छ । यो मुद्दा संसदमा उठाइएको यो पहिलो घटना हो ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद नरबहादुर धामीले संसदको शून्य समयमा आफूले पाएको तीन मिनेटको समयमा अस्पतालको दुर्दशाबारे स्पष्ट चित्रण गरेका छन् ।

सांसद धामीले महाकाली अञ्चल अस्पताल देशकै उत्कृष्ट रेफर सेन्टर भएको भन्दै व्यंग्य गरे । उनले २७ जना विशेषज्ञ डाक्टरको दरबन्दी रहेको अस्पताल पूर्वाधारका रुपमा सम्पन्न भए पनि तीनजना डाक्टर मात्रै कार्यरत रहेको सदनलाई जानकारी गराए ।

‘डाक्टरहरुका लागि सुविधा सम्पन्न आवास बनाइएका छन्,’ सांसद धामीले संसदमा भने, ‘तर त्यहाँ बाँदर र कुकुर बस्छन् ।’ स्वास्थ्य मन्त्रालयले २७ जना विशेषज्ञ डाक्टरका लागि प्रत्येक वर्ष बजेट पठाउने गरेको भए पनि आर्थिक वर्षको अन्त्यमा फिर्ता जाने गरेको वास्तविकतालाई समेत अभिव्यक्त गरे ।

सर्पले टोकेका विरामी समेतले रेफर हुनुपर्ने अवस्था आएको बताउँदै सांसद धामीले बिरामी अस्पताल पुग्नुभन्दा पहिले नै रेफर लेटर तयार पारिने परम्परा रहेको सदनलाई जानकारी गराए ।

उनले सरकार र स्वास्थ्य मन्त्रालयसँग महाकाली अञ्चल अस्पतालमा डाक्टर पठाउन र अस्पतालको सुधार गर्न माग पनि गरेका छन् ।


About Author
-मानसखण्ड