११०६ पटक हेरिएको
प्रकाशित: २०७५ आषाढ १५ , १०:३७ बजे

भीमदत्तका भष्मासुरको चाला : ७५ लाख खर्च, हात लाग्यो शून्य

Image

–मानसखण्ड
महेन्द्रनगर, १५ असार । भीमदत्त नगरपालिकाले छाडाचौपाया नियन्त्रणमा अहिलेसम्म ७५ लाख रुपैयाँ खर्च गरिसकेको छ भन्दा नझस्किनु होला । तपाईको वरिपरी जतातै छाडाचौपाया देखिए पनि लगभग ७५ लाख रुपैयाँ भने खर्च भइसकेको समाचार सत्य हो, पत्याईदिनु होला ।

स्थानीय तह निर्वाचनका बेला नगर प्रमुख सुरेन्द्र विष्ट र उपप्रमुख सुशीला चन्दले प्रमुख मुद्दा बनाएको छाडाचौपाया नियन्त्रणको समस्या जस्ताको तस्तै रहे पनि भौतिक पूर्वाधार बनाउने भन्दै त्यो रकम खर्च भइसकेको छ । नगरपालिकाको वडा नं. १९ मा आठ बिगाह जग्गा भाडामा लिएर संरचना निर्माण गरिएको छ भने वडा नं. ९ को सामुदायिक वनमा पनि पक्की र स्थायी खालको संरचना बनाउने काम जारी छ ।

रकम खर्च भइसके पनि महेन्द्रनगर बजार गाउँघरमा घुमिरहेका चौपाया त्यहाँ कहिले लगिने भन्ने अझै टुंगो लागेको छैन । अहिले व्यक्तिका गोठमा रहेका चौपायालाई ट्याग लगाउने काम भइरहेकोले तुरुन्त छाडाचौपाया बनाइएका संरचनामा हुल्ने सम्भावना पनि कम छ ।

पहिलो नगरसभाले छाडाचौपाया नियन्त्रणका लागि ३० लाख रुपैयाँ मात्रै विनियोजन गरेको भए पनि कार्यपालिकाको अधिकार भन्दै बागफाँटामा ११ लाख रुपैयाँ बढी खर्च गरिएको छ । अहिलेसम्म त्यहाँ ४१ लाख रुपैयाँ खर्च भइसकेको वडा नं. १९ का अध्यक्ष दामोदर महराले बताए । ब्रमहदेवमा निर्माणाधिन संरचना भने दीर्घकालका लागि गाइपालन गर्ने किसिमले पक्की बनाईंद । ३४ लाख रुपैयाँ इस्टिमेट गरिएको सो संरचनामा ५० भन्दा धेरै गाई अट्न सक्ने ठाउँ देखिंदैन । उपभोक्ता समितिका अध्यक्ष लक्ष्मी भट्टले अहिलेसम्म २५ लाख रुपैयाँ खर्च भइसकेको बताए ।

गत मंसिरदेखि संरचना बनाउन सुरु गरिएको हो तर एउटा पनि छाडाचौपाया अहिलेसम्म नियन्त्रणमा लिइएको छैन । नगरपालिकाका प्रवक्ता तथा वडा नं. १८ का अध्यक्ष राजेन्द्र पाण्डेले गोठमा रहेका चौपायालाई ट्याग लगाइसकेपछि छाडा नियन्त्रणमा लिइने बताए ।

निर्वाचित भएलगत्तै गोठका चौपायालाई ट्याग लगाउने भन्दै लगत संकलन गरिए पनि सो काम एक महिना अगाडिसम्म थन्क्याइउको थियो । दैनिक मानसखण्डले यस विषयमा तीन साता पहिले समाचार प्रकाशित गरेपछि भने रातारात भारत गएर ट्याग किनिएको छ । ३५ हजार ट्याग किनिए पनि अहिले नगरका सात वडामा मात्रै ट्याग लगाउने काम भइरहेको र ती वडामा काम सक्न अझै केही समय लाग्ने पशु स्वास्थ्य इकाका कर्मचारीले बताएका छन् ।

बाँकी १३ वडाहरुमा ट्याग लगाउने काम सुरु नै भएको छैन । सबै वडामा ट्याग लगाउने काम सक्न कम्तीमा तीन महिना लाग्ने नगरपालिकाका कर्मचारीको अनुमान छ । प्रतिगोटा १० रुपैयाँमा खरिद गरिएका प्लास्टिकका ट्यागमा लेखिएको नम्बर मेटिने खालको छ । ट्याग लगाउने काम चलिरहेका वडाका कृषकले कर्मचारीहरुले ट्याग लगाउँदा चौपायाको कानबाट रगत बग्ने गरेको गुनासो गरेका छन् ।

दीर्घकालिन योजनाजस्तो
छाडाचौपायाको समस्या अस्थायी भए पनि भीमदत्त नगरपालिकाले यसलाई दीर्घकालिन योजनाजस्ता रुप दिएको छ । बागफाँटा र ब्रम्हदेवका संरचना तथा ट्याग खरिदमा झण्डै ७५ लाख रुपैयाँ खर्च गरिएको छ । बागफाँटाको आठ विगाहा जग्गा प्रति विगाहा २० हजार रुपैयाँका दरले १० वर्षका लागि भाडामा लिइएको छ । उता, ब्रम्हदेवमा ५० चौपाया अट्ने पक्की संरचनामा खर्च भइरहेको छ ।

अस्थायी रुपमा छाडाचौपाया नियन्त्रण गरेर कृषक तथा नगरवासीलाई राहत दिनेतर्फ भने नगरपालिकाको ध्यान जान सकेको छैन । गोठमा रहेका चौपायालाई लगाइएको ट्याग अत्यन्त कमजोर भएकोले त्यसलाई भाँचन कठीन छैन । ट्यागसहित नै कसैले आफ्नो चौपाया छोडमा के गर्ने भन्ने नीति पनि बनिसकेको छैन ।

जथाभावी खर्च
छाडाचौपाया नियन्त्रणका नाममा पनि जथाभावी खर्च भएको देखिएको छ । पहिलो नगरसभाले यो समस्याका लागि ३० लाख रुपैयाँ छुट्याएको भए पनि डल्ले बजेटको फाइदा उठाउँदै बागफाँटाको संरचना निर्माण गर्न मात्रै ११ लाख रुपैयाँ थपिएको छ । दोस्रो नगरसभा बसेपछि ब्रम्हदेवको संरचनाका लागि कार्यपालिकाले ३४ लाख खर्च गर्ने निर्णय गरेको भए पनि तेस्रो नगरसभामा सभासदहरुले थाहा पाउने गरी अनुमोदन प्रस्ताव पेश गरिएन ।
एउटै शीर्षकमा खर्च गर्दा दोहोरो मापदण्ड अपनाइएको छ । एउटै आर्थिक वर्षमा कानुनले दिएको हदभन्दा बढी उपभोक्ता समितिबाट खर्च गर्न चालबाजी गरिएको देखिएको छ । छाडाचौपाया नियन्त्रणका लागि बनाइएका दुईवटा उपभोक्ता समिति कानुनतः गैरकानुनी हुने जानकारहरुको भनाई छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्माले नगरसभाले अधिकार प्रत्योजन गरी डल्ले बजेट बाडफाँडको अधिकार कार्यपालिकालाई दिएको जानकारी दिए । कानुनतः यसरी नगरसभाको अधिकार प्रत्यायोजन गर्न मिल्दैन । छिटो–छिटो नगरसभा सक्नुको कारण यस्तै जथाभावी गर्न बाटो खोल्नु हो ।


About Author
-मानसखण्ड