९०२ पटक हेरिएको
प्रकाशित: २०७५ आषाढ १४ , ०६:१८ बजे

सत्ताको उन्मादबाट बच्नै पर्ने बेला !

Image

- खेम भण्डारी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) युगको आवश्यकताबाट जन्मेको पार्टी हो । मुलुकलाई दीर्घकालिन स्थिरता दिने उद्देश्यले एमाले र माओवादी केन्द्रको समागम भएर यो पार्टी बनेको हो । प्रधानमन्त्री केपी ओलीलाई यो कार्यकाल पूरा खुवाउनका लागि मात्रै पार्टी एकीकरण भएको भन्ने ठान्नु दृष्टिभ्रम हुने छ । अबका केही दशक नेकपाले राज्यसत्ता सञ्चालन गर्नुपर्छ भन्ने सोचबाट इतिहासको यो परिघटना सम्भव भएको हो । सम्वृद्धि प्राप्त गर्ने योजना पाँच वर्षे हुँदैन, यो लामो हुन्छ । त्यो उद्देश्य प्राप्त गर्न बनाइने योजना कार्यान्वयनका लागि त्यो लामो अवधिसम्म योजनाकारहरुले नै बागडोर सम्हाल्नुपर्छ भन्ने बुझाईबाट पार्टी एकीकरण भएको हो । तर, प्रतिपक्षमा नेपाली कांग्रेस छ । उसले नेकपाका नेताहरुको यो दूरदष्टिको स्वभावतः प्रशंसा गर्दैन र सक्दो बल लगाएर जतिसक्दो छिटो नेकपालाई राज्यको चालक सिटबाट हटाउने प्रतिपक्षी भूमिका गरिरहने छ ।

सम्वृद्धि प्राप्त गर्न नेकपा एकढिक्का भएर मात्रै पुग्दैन, आवधिक निर्वाचनमार्फत् पुनःअनुमोदन हुने काम पनि गर्नुपर्छ । नेकपाले चलाएका सरकारहरुले पनि सम्वृद्धिकै लागि काम गर्नुपर्छ । लोकतन्त्रका शास्वत सिद्धान्तमा टेकेर कल्याणकारी राज्यको निर्माणका लागि जिम्मेवारी पाएका सबै तहका सरकार प्रमुखहरुले आ–आफ्नो ठाउँमा पार्टीको साख बढाउने काम गरे मात्रै आगामी निर्वाचनहरुमा पार्टीले आफ्नो अवस्था सुदृढ गर्न सक्छ र सम्वृद्धिको यात्रामा उसले गर्ने चालकको भूमिका जारी रहन्छ ।

पार्टीले विश्वास जित्न सकेन भने आगामी निर्वाचनमा जनताले नेकपालाई पनि रसातलमा पुर्‍याएर देखाइदिने छन् । अत्यन्तै बलियो प्रतिपक्ष अस्तित्वमा रहेको पृष्ठभूमिमा वडादेखि केन्द्रसम्म पदासिन नेता–कार्यकर्ताले गर्ने एक–एक गल्तीले पार्टीको साखमा क्षति गर्नेछ र जनताले फेरि पत्याउने अवस्था समाप्त हुनेछ । काम गर्दाका स्वाभाविक गल्तीबाहेक जनताले अरु गल्तीका लागि निर्वाचित पदाधिकारीलाई मात्रै नभई पार्टीलाई नै दण्ड दिने निश्चित छ ।

त्यसैले स्थानीय तहदेखि केन्द्रसम्म अत्यधिक संख्यामा निर्वाचित नेकपाका नेता–कार्यकर्ताको काँधमा पार्टीको भविष्य अडेको छ । उनीहरुले गर्ने राम्रा कामले उनीहरु स्वयं र पार्टीको प्रतिष्ठा बृद्धि हुने छ र पार्टीले सम्वृद्धिको यो दीर्घकालिन यात्राको रथ हाँकिरहने अवसर पाउने छ । कदाचित निर्वाचितहरुले जनताको विश्वास गुमाए भने पार्टीको हातबाट त्यो रथको लगाम खुस्कने निश्चित छ ।

यो पार्टीको भविष्य यही पार्टीका नेता र कार्यकर्ताको काम र व्यवहारमा निर्भर छ । निर्वाचितहरु जनप्रिय हुन सके र उनीहरुले सम्वृद्धिको यात्रामा इमान्दार अगुवाको भूमिका गर्न सके भने पदमा नरहेका कार्यकर्ताले ताली पिट्नैपर्छ । तर, निर्वाचितहरुले अन्धाधुन्ध गर्न लागे, पार्टीकै छविमा आँच पुर्‍याउने काम गरे भने पार्टीले उनीहरुलाई रोक्ने हो । नयाँ पार्टी निर्माणको प्रक्रिया चलिरहेकोले अहिलेको संक्रमणकालमा पार्टी कमिटीहरुले निर्वाचितहरुलाई न निगरानी गर्न सक्ने अवस्था छ, न त उनीहरुका अवांछित कामकारबाही रोक्न सक्ने सम्भावना छ । यस्तो अवस्थामा पार्टीका आम कार्यकर्ताहरुकै काँधमा विरोध गरेर गलत काम रोक्ने र सहीलाई ताली पड्काएर प्रोत्साहित गर्ने जिम्मेवारी थपिएको छ । एउटा सत्य बिर्सनु हुँदैन – नेपाली कांग्रेसले नेकपा जोगाई दिने होइन ।

पार्टीले ठोस आकार पाउन घटीमा अझै दुई वर्ष लाग्ने प्रष्ट छ । यी दुई वर्षमा निर्वाचितमध्ये कोही उन्मत्त हुन थाले, विधि र प्रक्रियाभन्दा बाहिर गएर पद्दति नष्ट गर्दै भोलिका दिनमा पार्टीलाई नै बदनाम गर्न थाले भने आम कार्यकर्ताहरुले सचेत रुपमा निर्वाचितहरुका त्यस्ता काम रोक्न सतत प्रयास गर्नुपर्छ । व्यक्तिगत रुपमा सल्लाह दिएर हुने भए त ठीकै हो, नभए सार्वजनिक रुपमैं विरोध प्रकट गर्न पछि पर्नु हुँदैन । पार्टीको जीवन लामो हुन्छ । अहिले निर्वाचितहरु आवधिक हुन् । भोलिका दिनमा पनि पार्टीले निर्वाचन लड्नुपर्छ, त्यतिबेला आज गरिएका गल्तीले रुन नपरोस् भन्नेतर्फ कार्यकर्ता पंक्तिले सचेत हुन जरुरी छ ।

स्वाभावैले मानिस फरक–फरक हुन्छन् । निर्वाचित भएर जनताको काममा लागेका हजारौं पार्टी नेता–कार्यकर्ताहरुको पंक्ति जनताप्रति इमान्दार देखिएको छ । तर, सानै संख्यामा भए पनि केही निर्वाचितहरु एकै वर्षमा अकल्पनीय रुपमा आलोचित बनेका छन् । जनप्रतिनिधिको आसनमा बसेर राजामहाराजाको जस्तो व्यवहार प्रदर्शन गर्ने प्रवृत्ति पनि देख्न थालिएको छ । पार्टीको भविष्यलाई उपेक्षा गरेर नितान्त व्यक्तिगत आर्जनमा लागेका जनप्रतिनिधिहरु पनि छन् । कसैलाई ऋण तिर्न त कसैलाई भावी सन्ततिका लागि जोहो गर्न हतार भएको छ । नातागोतालाई च्याप्ने, नक्कली कुरा गर्ने र मौकामा चौका हान्ने प्रवृत्ति पनि सतहमा पोखिएका छन् । 

राजकीय पदमा बसेर गर्नुपर्ने काम कानुनद्वारा निर्दिष्ट हुन्छन् । कुनै पनि कामको निश्चित कानुनी प्रक्रिया हुन्छ र अधिकार प्राप्त पदाधिकारीले त्यो प्रक्रिया पु¥याएर मात्रै काम गर्नुपर्छ । तर, केही निर्वाचितहरुलाई नयाँ नेपालको बेलगाम शासक हुँ भन्ने भ्रम परेको जस्तो देखिन्छ । सबै काम तजविजी तरिकाले गर्ने, प्रक्रियाको धज्जी उडाउने र देख्दै नियतमा खोट भएको तरिकाले काम गरेको पाइएको छ । यस्तो प्रवृत्तिलाई समयमैं लगाम लगाउन सकिएन भने अबका चार वर्षपछि हुने निर्वाचनमा पार्टीले फलामका च्यूरा चपाउनुपर्नेमा शंका नगरे हुन्छ ।

गतल काम गरिरहेका निर्वाचितहरुको विरोध गर्दा पार्टी जोगिन्छ । प्रतिपक्षले गल्ती भेट्टाउनुभन्दा पहिले नेकपाकै कार्यकर्ताहरुले भेट्टाउनु ठूलो कुरा हो । निर्वाचितहरुले गर्ने सबै काम पार्टीका काम होइनन् । उनीहरुले राम्रा काम गरे सबैभन्दा पहिले उनीहरुलाई नै फाइदा हुन्छ । तर, उनीहरुले गर्ने गल्तीले भने सबैभन्दा पहिले पार्टीलाई क्षति हुन्छ । व्यक्तिगत लाभका लागि काम गर्दा मात्रै गल्ती हुने हो । लाभ कसैले लिने क्षति पार्टीलाई हुने हो भने किन चुप लागेर बस्ने ?

कमाउ धन्दामा लागेहरुलाई समाजले चिनिसकेको हुन्छ । आज केही जिम्मेवार पदाधिकारीहरुका बारेमा जनताले कुरा काटिरहेको छ । जति लुकाउन खोजे पनि जनताका नजरमा केही लुक्दैन । हो, जनताको प्रतिक्रिया भने ढिलो आउँछ । कसैका लागि त्यो प्रतिक्रिया निर्वाचनका बेला आउँछ भने कसैका लागि त्यो सडकमैं पोखिन्छ । जनताको बहुसंख्याले गलत व्यक्तिको रुपमा इंगित गर्न थाल्यो भने त्यो व्यक्तिको अवरोह सुरु भइसक्यो भन्ने बुझ्नुपर्छ । गत बाटोमा लागिसकेको पदाशिनलाई समयमैं रोक्नुपर्छ अन्यथा उसले गर्ने क्षति भयावह हुन्छ । आज सत्ताको उन्मादमा रहेको व्यक्ति भोलिका दिनमा जेल जाला तर उसका कारण पार्टीलाई हुने क्षति कसले भर्छ ? यतातर्फ सोच्नु पार्टीप्रति इमान्दार एक–एक कार्यकर्ताको कर्तब्य हो ।

कार्यकर्ताहरुले आफूले सक्दो हदमा गलत व्यक्ति र प्रवृत्तिविरुद्ध औंला उठाउनुपर्छ । टोलमा सक्नेले टोलमैं र प्रदेशमा सक्नेले प्रदेशमा सजग र सतर्क तरिकाले गलतको विरोध गर्न थाले पार्टी जोगिने छ अन्यथा पार्टी एकीकरण पनि अनर्थ भएर जाने छ । 


About Author
-खेम भण्डारी