७६८ पटक हेरिएको
प्रकाशित: २०७५ आषाढ १३ , १२:१७ बजे

मस्त निन्द्राबाट बल्ल जाग्यो कांग्रेस !

Image

–मानसखण्ड
महेन्द्रनगर, १३ असार । नेपाली कांग्रेसका तर्फबाट भीमदत्त नगरपालिकाको कार्यपालिकामा प्रतिनिधित्व गर्ने सातजना वडाअध्यक्षले नगर कार्यपालिकामा बहुमतको आडमा अपारदर्शी तरिकाबाट निर्णय हुने गरेको भन्दै आपत्ति प्रकट गरेका छन् । उनीहरुले असार ४ गते सम्पन्न नगरसभा ‘नाटकीय’ भएको समेत दावी गरेका छन् ।
मंगलबार सातजना वडाअध्यक्षहरुद्वारा जारी विज्ञप्तिमा सोमबार वडा नं. ४ का अध्यक्ष लक्ष्मीदत्त बोहराद्वारा जारी विज्ञप्ति ‘असत्य’ भएको उल्लेख छ ।

नेपाली कांग्रेसकै तर्फबाट निर्वाचित बोहराले दैनिक मानसखण्डमा प्रकाशित एक समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै नगर कार्यपालिकाका सबै बैठकका निर्णय उचित प्रक्रियाबाट भएको आशय प्रकट गर्दै नगरपालिकाकै लेटरहेडमा विज्ञप्ति जारी गरेका थिए । तर, आज उनले मंगलबार आफूले हस्ताक्षर असत्य भन्ने संयुक्त विज्ञप्तिमा पनि हस्ताक्षर गरेका छन् । नगर प्रमुख सुरेन्द्रका सहयोगीहरुले टाइप गराई वडाअध्यक्ष बोहरालाई दस्तखत गराउँदा कुन लेटरहेड प्रयोग गर्नुपर्छ भन्ने समेत हेक्का नराखेको स्रोतको दावी छ ।

वडा नं. १ का अध्यक्ष आसेफ कुँवर, वडा नं. ३ का अध्यक्ष रामबहादुर जप्रेल, वडा नं. ४ का अध्यक्ष लक्ष्मीदत्त बोहरा, वडा नं. ५ का अध्यक्ष मदनबहादुर चन्द, वडा नं. ११ का अध्यक्ष प्रेमप्रकाश जैशी, वडा नं. १२ का अध्यक्ष कृष्णसिंह देउपा र वडा नं. १३ का अध्यक्ष लालबहादुर शाहीले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् । जारी विज्ञप्तिमा सोमबार वडा नं. ४ का अध्यक्षद्वारा जारी विज्ञप्ति असत्य भएको दावी गर्दै मंगलबार दैनिक मानसखण्डमा प्रकाशित ‘भीमदत्त नगरपालिका : काले–काले मिलेर भाले खाने ठाउँ’ शीर्षकप्रति आफूहरुको ध्यानाकर्षण भएको उल्लेख छ ।

विज्ञप्तिमा बहुमतका आडमा नगरपालिकामा भइरहेका अपारदर्शी कार्यप्रति आपत्ति जनाउँदै नगरसभामा प्रतिपक्षी सभासदहरुलाई बोल्न समेत नदिएर अपमान गरिएको आरोप लगाइएको छ । ‘छलफलविना नै नगरसभा समापन गरिनु गैरलोकतान्त्रिक चरित्र’ भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा कार्यपालिका सदस्यहरुले दीर्घकालिन महत्वका विषयमा पनि अपारदर्शी तरिकाले निर्णय हुने गरेकोप्रति आफूहरुको आपत्ति रहेको उल्लेख गरिएको छ । तत्काल पारदर्शी तरिकाले काम गर्न समेत विज्ञप्तिमा माग गरिएको छ । नगर प्रमुख सुरेन्द्र विष्ट हैकमवादी प्रवृत्ति देखाएर अपारदर्शी काम जारी राखे आफूहरुले संघर्ष गर्ने विज्ञप्तिमा जनाइएको छ ।

 

 


About Author
-मानसखण्ड