१३३७ पटक हेरिएको
प्रकाशित: २०७५ आषाढ १२ , ०५:३० बजे

भीमदत्त नगरपालिका : काले–काले मिलेर भाले खाने ठाउँ

Image

मानसखण्ड
महेन्द्रनगर, १२ असार । दैनिक मानसखण्डले भीमदत्त नगरपालिकामा विधि र प्रक्रिया मिचेर काम भइरहेका समाचार प्रकाशन गरिरहेका बेला नगरपालिकामा प्रतिपक्ष भूमिकामा रहेको नेपाली कांग्रेसका एक कार्यपालिका सदस्यले भने नगरपालिकामा सबै काम प्रक्रियासम्मत रहेको प्रमाणित गर्ने आशयको विज्ञप्ति जारी गरेका छन् ।

आइतबार दैनिक मानसखण्डले प्रकाशित गरेको ‘सोझै ३८ लाख झ्वाम’ शीर्षकको मुख्य समाचारमा आफूलाई उधृत गरिएकोमा ध्यानाकर्षण भएको उल्लेख गरिएको विज्ञप्तिमा कार्यपालिका सदस्य तथा वडा नं। ४ का अध्यक्ष लक्ष्मीदत्त बोहराले मेयर सुरेन्द्र विष्टलाई क्लिन चिट दिएका छन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘अहिलेसम्मका १७ वटा बैठकमा अल्पमत र बहुमतमा विभाजित नभई सबै निर्णय सर्वसम्मत गरिएका छन् ।’
नगरपालिकाको लेटरहेडमा अध्यक्ष बोहराले जारी गरेको विज्ञप्ति नेपाली कांग्रेसको धारणा नमानिए पनि उनले आफ्नो वडाको लेटरहेड किन प्रयोग गरेनन् भन्ने प्रश्न उठेको छ । स्रोतका अनुसार नगर प्रमुख सुरेन्द्र विष्टका एकजना सहयोगीले कम्प्युटर टाइप गराएर वडाअध्यक्ष बोहराको दस्तखत गराएका हुन् । बोहराले विज्ञप्ति आफूले पढेको बताए ।

नगरसभामा र कार्यपालिकामा प्रतिपक्षी कांग्रेसको नेताको जिम्मेवारी पाएका कार्यपालिका सदस्य तथा वडा नं. १२ का अध्यक्ष कृष्णसिंह देउपाले विज्ञप्ति आफूले पढ्न नपाएको बताए । उनले १७ वटै बैठकका निर्णय सर्वसम्मत भएको भन्ने दावीको भने खण्डन गरेका छन् । ‘हामीले प्रतिपक्षको भूमिका गरिरहेका छौं,’ देउपाले भने, ‘नोट अफ डिसेन्ट भने अहिलेसम्म लेखेका छैनौं ।’

वडाअध्यक्ष बोहराको विज्ञप्तिले मेयर सुरेन्द्र विष्टलाई भने राहत मिलेको छ । दैनिक मानसखण्डले आइतबारको अंकमा भीमदत्त नगरपालिकामा कानुनले तोकेको प्रक्रिया मिचेर लाखौं रुपैयाँ खर्च गरिएको समाचार प्रकाशित भएको थियो । स्रोतलाई उधृत गरी विवरण प्रस्तुत गरिएको समाचारमा वडाअध्यक्ष बोहराको भनाई उल्लेख थियो । उनले ‘प्रमुख प्रशासकीय अधिकृतले आपत्ति जनाए पनि बहुमतबाट निर्णय गरिएको’ बताएका थिए । वडाअध्यक्ष बोहराद्वारा विज्ञप्तिमा सो समाचारप्रति ‘गम्भीर ध्यानाकर्षण’ भएको मात्रै उल्लेख छ । आफूले जानकारी दिए नदिएको उनले खुलाएका छैनन् ।

प्रकाशित समाचारमा कार्यपालिकाका एक सदस्यलाई उधृत गर्दै दैनिक मानसखण्डले चालु आर्थिक वर्षमा नगरपालिकाले विभिन्न वडा र जैविक मार्गमा ग्राभेल हाल्दा प्रयोग गरिएका एक्स्काभेटरको भाडा भुक्तानी तोकिएको प्रक्रिया नपुर्‍याई गरिएको उल्लेख गरिएको थियो । तर, विज्ञप्तिमा बोहराले प्रयोग गरिएका जेसीबीको भुक्तानी दिने निर्णय सर्वसम्मत भएको उल्लेख गरेका छन् ।

वडाअध्यक्ष बोहराको कथनले नगरपालिकामा प्रक्रिया नपुर्‍याई हुनेगरेका सबै निर्णयमा नेपाली कांग्रेसको सहमति रहेको संकेत गरेको छ । तर, नगरपालिकाका कामकारबाही प्रक्रियाविरुद्ध रहेका तमाम संकेतहरु आइरहेका छन् । ग्राभेलमा अनियमितता भएको उजुरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन समेत सुरु गरिसकेको छ ।

यस्तो थियो समाचार
ग्राभेल ढुवानी गर्ने ट्रिपरबाहेक नगरपालिकाले एक्स्काभेटरको भाडा वापत प्रक्रिया मिचेर झण्डै ३८ लाख रुपैयाँ भुक्तानी गरेको ती कार्यपालिका सदस्य स्रोतको दावी छ । स्रोतका अनुसार बैशाख ३१ गते बसेको कार्यपालिका बैठकमा सोझै प्रस्ताव ल्याएर सो रकम भुक्तानी दिने निर्णय गरिएको हो । वडाहरु र जैविक मार्गमा ग्राभेल हाल्दा प्रयोग गरिएका एक्स्काभेटेरका पाँच धनीहरुलाई सम्झौताविनै काममा लगाइएको सो स्रोतको दावी छ । प्रति घण्टा भाडा रकम पनि बजारको चलनचल्तीभन्दा बढी भुक्तानी दिइएको उनले बताए ।

एक्स्काभेटर धनीहरुले दावी गरिेअनुसारकै रकम भुक्तानी भएको स्रोतको कथन छ । काम गर्नुअघि घटाघटको प्रक्रिया नअपनाइएको बताईएको छ । बैठकमा नगर प्रमुख सुरेन्द्र विष्टले सोझै ल्याएको प्रस्तावमा नेपाली कांग्रेबाट निर्वाचित केही वडाअध्यक्ष वडा नं। ४ का वडाअध्यक्ष लक्ष्मीदत्त बोहराले बताए । उनले प्रक्रिया नै नपुर्‍याई दिइएको भुक्तानीप्रति आफ्नो विरोध जारी रहेको बताएका छन् ।

प्राप्त जानकारीअनुसार एक्स्काभेटर धनी शेरराज भट्टलाई प्रति घण्टा दुई हजार पाँच सयका दरले सोझै १५ लाख २२ हजार ५ सय रुपैयाँ दिने निर्णय गरिएको छ । त्यसै गरी सोही दरमा गोरे सिंह ऐरलाई तीन लाख ६३ हजार २ सय ५० रुपैयाँ दिने निर्णय पनि लेखिएको छ ।

अर्का एक्स्काभेटर धनी नरेन्द्रबहादुर बमलाई १० लाख ११ हजार रुपैयाँ भुक्तानी दिइएको छ भने लिलाधर भट्टलाई एक लाख ६३ हजार ३ सय ७५ रकम भुक्तनी दिइएको छ । त्यसै गरी मदनसिंह भण्डारीलाई पनि प्रति घण्टा दुई हजार पाँच सयका दरले ६ लाख ६५ हजार ररकम भुक्तानी दिन निर्णय गरिएको स्रोतको कथन छ ।

यस विषयमा नगर प्रमुख सुरेन्द्र विष्टसँग सम्पर्क गर्न खोज्दा हुन सकेन । नगरपालिकनका ईन्जिनियर हिमालय सिंह ऐरले स्थान अनुसार भाडा समायोजन गर्नुपर्ने भएकाले त्यसै अनुरुप रकम भुक्तान गरिएको बताएका छन् ।


About Author
-मानसखण्ड