१५७९ पटक हेरिएको
प्रकाशित: २०७५ आषाढ १० , १०:४१ बजे

उपेक्षाको यस्तो पीडा भोग्दैछ दोधारा–चाँदनी !

Image

महाकाली पारीको नेपाली भूभागलाई राष्ट्रको मूलप्रवाहले कहिल्यै आफ्नो ठानेन । ६० वर्षअघिदेखि बस्ती बस्न थालेको त्यो क्षेत्रले आधाभन्दा धेरै समय महाकाली नदीको कोपभाजन बन्नु पर्‍यो । २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना भएर मुलुक बहुदलीय व्यवस्थामा गएपछि भने भोटकै लागि पनि त्यस क्षेत्रका जनतालाई रिझाउने परम्परा सुरु भयो । पञ्चायतकालको अन्त्यतिर बिजुलीका पोल गाडिए भने आधा दर्जन निम्नमाध्यामिक विद्यालय मात्रै अस्तित्वमा थिए २०३० सालको अन्त्यतिर । ४० को दशकमा माध्यामिक विद्यालय नखुल्दासम्म त्यस क्षेत्रका मेधावी विद्यार्थी मात्र नदी पार गरेर महेन्द्रनगरमा माध्यामिक शिक्षा हासिन गर्न आउँथे ।

महाकाली नदीमा झोलुंगे पुल बनेपछि शेष नेपालसँग झिनो तरिकाले जोडिएको दोधारा–चाँदनी क्षेत्र अहिले पनि मूलप्रवाहभन्दा टाढा छ । स्वाभाविक विकासबाहेक त्यहाँ राज्यले विशेष ध्यान दिन सकेको छैन । महाकालीमा निर्माणाधिन चार लेनको पुल र सुख्खा बन्दरगाहको सपना वास्तवमा दोधारा–चाँदनीवासीको दया मानेर गरिएका कुरा होइनन् । भारतसँग नेपाललाई जोड्ने विकल्परहित योजना भएकैले सुख्खा बन्दरगाहको कुरा उठाइएको हो भने महाकालीको पुल त्यही सम्पर्कसूत्र निर्माणमाको एक कडी मात्रै हो ।

दोधारा–चाँदनीको माया गरेर विकासका नयाँ योजना हिजो पनि आएनन् र आज पनि आएका छैनन् । निर्वाचनका बेला आश्वासन जति बाँडिए पनि केही गोटा कल्भर्ट र केही स्कूलका छाना छाउने बाहेकका विकास निर्माण हुन सकेको छैन । झण्डै आधा लाख जनसंख्या बसोबास गर्ने क्षेत्रमा एउटा मात्रै स्वास्थ्य केन्द्र छ त्यो पनि सिरानतिर । पुछारतिर अर्को स्वास्थ्यचौकी नहुँदा जनताले खटिमाको शरण पर्नुपरेको छ । खोनेपानीको एउटा ओभरहेड ट्यांकी चाँदनीमा छ तर त्यसको वितरण प्रणाली निर्माण कछुवा गतिमा छ । दोधारा क्षेत्रलाई भूमिगत खानेपानीकै भरमा छाडिएको छ । त्यति ठूलो क्षेत्रमा स्नातकोत्तर पढाईका लागि सरकारी व्यवस्था छैन । अहिले आएर नगरपालिकाले केही गरेजस्तो छ तर यतिञ्जेल त्यो क्षेत्रका सडकमा ढुंगा हालेर हिंड्न लायक बनाउने गरिएको थियो ।

दोधारा–चाँदनीको माटो अत्यन्त उर्बर छ तर भूमिगत पानीकै भरमा किसानले खेतीपाती गर्नुपरेको छ । महाकाली र जोडबुडा नदीले घेरिएको भए पनि त्यो क्षेत्रका लागि व्यवस्थित र भरपर्दो सिचाई प्रणालीबारे कहिल्यै
सोचिएन । सबैभन्दा आश्चर्यको कुरा त के भने त्यस क्षेत्रमा बिजुलीका पोल गाडिएका छन्, तार झुण्ड्याइएका छन् तर ७५ प्रतिशत जनताले अँध्यारोमा बस्नुपरेको छ । भोल्टेज यति कम छ कि पंखा चल्छ हावा चल्दैन, बत्ती बल्छ केही देखिदैन ।

विजुलीको साह्रै सकस भएपछि माहाकाली नगरपालिकाले अरु सबै खर्च कटाएर डेढ करोडका ट्रान्सफर्मर खरिद गर्‍यो । ३० वटा ट्रान्सफर्मर वडा–वडामा थन्किएका छन् तर विद्युत प्राधिकरणलाई कुनै चिन्ता छैन । ती ट्रान्सफर्मर जडान गरिदिए मात्रै अधिकांश जनताले उज्यालो पाउने थिए । महिनैपिच्छे पूरापूर महसुस असुल्ने प्राधिकरणले बिजुली भने मधुरो दिइरहेको छ । तै पनि उपभोक्ताको करबाट नगरपालिकाले ट्रान्सफर्मर किनेको छ । विद्युत प्राधिकरण आफैले किन्नु पर्नेमा डेढ करोड जनताको पैसा खर्चेर ट्रान्सफर्मर खरिद गरिनु उल्लेखनीय कुरा हो । तर, विद्युत प्राधिकरणको आङ फुरेको छैन । फाइदा प्राधिकरणलाई नै छ र पनि उसले त्यता ध्यान दिएको छैन ।

प्राधिकरणले दोधारा–चाँदनीप्रति गरेको यो व्यवहार प्रतिकात्मक मात्रै हो । राज्यका सबै अंगले त्यो क्षेत्रलाई हेपेकै छन् । प्रभावशाली नेताको क्षेत्रमा भए ट्रान्सफर्मरका लागि जनताको करबाट उठेको रकम खर्च गर्नुपर्ने थिए, गरे पनि ट्रान्सफर्मर त्यसरी थन्किएर बस्ने थिएनन् । उसो त यसपटक प्रदेशसभामा त्यही क्षेत्रबाट सदस्य निर्वाचित भएका छन् तैपनि किन उनले यो विषयमा दवाव दिइरहेका छैनन् भन्ने प्रश्न गम्भीर छ । प्रतिनिधिसभाका सदस्य पनि दोधारा–चाँदनीकै मतले जितेका हुन् उनको कानमा किन तेल पसेको छैन भन्ने जिज्ञासा पनि स्वाभाविक हो ।

यो बर्खाभरि ट्रान्सफर्मर थन्किएर बस्ने लगभग निश्चित छ । जडान र केही ठाउँमा विस्तारका लागि बजेट नभएको बाहनामा प्राधिकरणले यस वर्ष ती ट्रान्सफर्मर जडान गर्ने सम्भावना कम छ । यस्तो अवस्थामा सांसदहरुले पनि पहल गर्नुपर्ने थियो तर उनीहरुबाट पहल भएको सुन्न पाइएको छैन ।

दोधारा–चाँदनीलाई हेप्ने पुरानो प्रवृत्ति अहिले पनि कायम छ भन्ने प्रमाण हो ट्रान्सफर्मर प्रकरण । त्यस क्षेत्रका जनतालाई जनता नमान्ने, त्यस क्षेत्रलाई भूगोल नै नठान्ने तर निर्वाचनका बेला बडेमानका आश्वासन बाँड्ने प्रवृत्तिविरुद्ध जबसम्म त्यहाँका जनता सजग हुँदैनन् अवस्था यस्तै रहने निश्चित छ ।

स्थानीय राजनीतिक नेतृत्व सबल हुँदै गइरहेको पनि दोधारा–चाँदनीलाई चुनाउका बेला मात्रै उपयोग गर्ने राजनीतिक दलहरुको प्रवृत्ति पनि हेपाईको प्रमुख कारण हो र यो कुरा बुझ्न नसक्नु त्यस क्षेत्रका स्थानीय नेताहरुको कमजोरी हो ।


About Author
-मानसखण्ड