१८८० पटक हेरिएको
प्रकाशित: २०७५ आषाढ १० , १०:२४ बजे

भीमदत्तमा अन्धाधुन्ध : सोझै ३८ लाख झ्वाम

Image

– भुवन भट्ट
महेन्द्रनगर, १० असार । भीमदत्त नगरपालिकामा कानुनले तोकेको प्रक्रिया मिचेर लाखौं रुपैयाँ खर्च गरिएको अर्को घटनाको पनि खुलासा भएको छ । कार्यपालिकाका एक सदस्यका अनुसार चालु आर्थिक वर्षमा नगरपालिकाले विभिन्न वडा र जैविक मार्गमा ग्राभेल हाल्दा प्रयोग गरिएका एक्स्काभेटरको भाडा भुक्तानी तोकिएको प्रक्रिया नपुर्‍याई गरिएको छ । ग्राभेल ढुवानी गर्ने ट्रिपरबाहेक नगरपालिकाले एक्स्काभेटरको भाडा वापत प्रक्रिया मिचेर झण्डै ३८ लाख रुपैयाँ भुक्तानी गरेको ती कार्यपालिका सदस्य स्रोतको दावी छ ।

स्रोतका अनुसार बैशाख ३१ गते बसेको कार्यपालिका बैठकमा सोझै प्रस्ताव ल्याएर सो रकम भुक्तानी दिने निर्णय गरिएको हो । वडाहरु र जैविक मार्गमा ग्राभेल हाल्दा प्रयोग गरिएका एक्स्काभेटेरका पाँच धनीहरुलाई सम्झौताविनै काममा लगाइएको सो स्रोतको दावी छ । प्रति घण्टा भाडा रकम पनि बजारको चलनचल्तीभन्दा बढी भुक्तानी दिइएको उनले बताए । धेरै परिमाणको काममा लगाउँदा बजारमा प्रतिघण्टा एक जार पाँच सयदेखि एक हजार आठ सय रुपैयाँ प्रतिघण्टामा एक्स्काभेटर पाइने भए पनि कार्यपालिकाले प्रतिघण्टा दुई हजार पाँच सयका दरले भुक्तानी दिने निर्णय भएको बताइएको छ ।

एक्स्काभेटर धनीहरुले दावी गरिेअनुसारकै रकम भुक्तानी भएको स्रोतको कथन छ । काम गर्नुअघि घटाघटको प्रक्रिया नअपनाइएको बताईएको छ । बैठकमा नगर प्रमुख सुरेन्द्र विष्टले सोझै ल्याएको प्रस्तावमा नेपाली कांग्रेबाट निर्वाचित केही वडाअध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले आपत्ति जनाए पनि बहुमतबाट निर्णय गरिएको वडा नं. ४ का वडाअध्यक्ष लक्ष्मीदत्त बोहराले बताए । उनले प्रक्रिया नै नपु¥याई दिइएको भुक्तानीप्रति आफ्नो विरोध जारी रहेको बताएका छन् ।प्राप्त जानकारीअनुसार एक्स्काभेटर धनी शेरराज भट्टलाई प्रति घण्टा दुई हजार पाँच सयका दरले सोझै १५ लाख २२ हजार ५ सय रुपैयाँ दिने निर्णय गरिएको छ । त्यसै गरी सोही दरमा गोरे सिंह ऐरलाई तीन लाख ६३ हजार २ सय ५० रुपैयाँ दिने निर्णय पनि लेखिएको छ ।

अर्का एक्स्काभेटर धनी नरेन्द्रबहादुर बमलाई १० लाख ११ हजार रुपैयाँ भुक्तानी दिइएको छ भने लिलाधर भट्टलाई एक लाख ६३ हजार ३ सय ७५ रकम भुक्तनी दिइएको छ । त्यसै गरी मदनसिंह भण्डारीलाई पनि प्रति घण्टा दुई हजार पाँच सयका दरले ६ लाख ६५ हजार ररकम भुक्तानी दिन निर्णय गरिएको स्रोतको कथन छ । यस विषयमा नगर प्रमुख सुरेन्द्र विष्टसँग सम्पर्क गर्न खोज्दा हुन सकेन । नगरपालिकनका ईन्जिनियर हिमालय सिंह ऐरलेस्थान अनुसार भाडा समायोजन गर्नुपर्ने भएकाले त्यसै अनुरुप रकम भुक्तान गरिएको बताएका छन् ।

 


About Author
-भुवन भट्ट

भट्ट दैनिक मानसखण्डका सम्वाददाता हुन् । उनी दुई वर्षदेखि पत्रकारितामा क्रिाशील छन् ।