६५० पटक हेरिएको
प्रकाशित: २०७५ आषाढ ०८ , ०९:२० बजे

महाकाली अञ्चल अस्पताल : यसरी सुधार होला कि ?

Image

महाकाली अञ्चल अस्पताललाई कसरी सुधार्ने भन्ने बहस महेन्द्रनगरका लागि नयाँ होइन । वर्षैदेखि चल्दै आएको यो बहसले समाधान भने दिन सकेको छैन । विशेष गरी अस्पतालमा अप्रिय घटना भयो वा चुनाव आयो भने यो बहस घनिभूत हुन्छ । तर, घटना सामसुम भयो वा चुनाव सकियो भने बहस पनि सेलाएर जान्छ ।

सिंगो जिल्लाको यो एक मात्र अस्पतालप्रति सेवाग्राहीको बढ्दो अविश्वासले औचित्यहिन जस्तै बनेको छ । पूर्वाधार राम्रै छ, उपकरण पनि राम्रै छन्, कर्मचारी संख्या पनि एक सय नाघ्छ र सरकारले वर्षेनी करोडौं रुपैयाँ यस अस्पतालमा खर्च गरिरहेको छ । तर, यो अस्पताल अस्पताल बन्न सकिरहेको छैन । बरु, भ्रष्टाचार र अनैतिक कार्यको अखाडा भनेर कतिपयले अस्पताललाई अथ्र्याउने गरेका छन् । कोही विरामी पर्‍यो भने उपचारको पहिलो गन्तब्य बन्न सकेको छैन यो अस्पताल । अञ्चलस्तरको यो अस्पताल प्राथमिक उपचार केन्द्रको तहबाट माथि उठ्नै सकेको छैन ।

अस्पतालको यो दुर्गतिको कारण के हो त ? यस प्रश्नको उत्तर पाउन पनि कठीन छ । यो अस्पतालमा विशेषज्ञ डाक्टर आउन मान्दैनन् । धेरैले डाक्टरहरुको अरुचि, स्थानीय वातावारण र अस्पतालका केही कर्मचारीको दादागिरी दुर्गतिको कारण हो भन्छन् भने केहीले डाक्टरहरुले यहाँ पर्याप्त कमाउने जनसंख्या नभएकोले अरुचि बढेको बताउँछन् ।

डाक्टर नआउने समस्या नै अस्पतालको मूल समस्या हो । यसका पछाडि उल्लेखित सबै कारण बराबरका जिम्मेवार हुन् । बनिसकेको सघन उपचार केन्द्र दक्ष जनशक्ति र चिकित्सककै अभावमा माकुराको जालो लगाउने ठाउँ बनेको छ भने भित्र्याइएका आधुनिक उपकरणमा पनि खिया लागेको छ । यस परिस्थितिका पछाडि रहेका कारणको भने गहिरो अध्ययन गरी सुधारका उपाय निकाल्ने गरी अहिलेसम्म कुनै व्यवस्थित पहल भएको छैन ।

यो अस्पताल संघीय सरकारका मातहत रहनु पनि प्रमुख कारण हो । व्यवस्थापन समिति पनि काठमाडौंले नै बनाउने र डाक्टर पनि काठमाडौंले नै खटाउने हुनाले अस्पतालमा स्थानीय सरोकार र नियन्त्रण छैन । अस्पताल दुर्दसाको मूल कारण कतै यही त होइन ? यसतर्फ पनि सोच्ने कि ?

काठमाडौंकै नियन्त्रणमा अञ्चल अस्पताल छ । व्यवस्थापन पूर्णतः उतैबाट हुन्छ । यसबाट स्थानीय सेवाग्राहीले अस्पतालप्रति लगाव महसुस गरेका छैनन् । यो अस्पताल बनाउने दायित्व आफ्नो होइन भन्ने आममानसिकताले काम गरेको छ । त्यसैले बिग्रेको दोष लिन एकजा पनि स्थानीय वासिन्दा तयार छैन । कतिसम्म भने अस्पताल व्यवस्थापन समितिमा नियुक्ति लिएर अवधि गुजार्नेहरुले समेत काठमाडौंलाई नै दोष दिइरहेका हुन्छन् ।


सरकारले अञ्चल अस्पतालहरुको सञ्चालन सरकारी अस्पताल सम्बन्धी कानुनको मातहतमा रही गर्दछ । र, त्यो कानुनले सरकारी अस्पतालको सञ्चालनमा स्थानीय सेवाग्राहीलाई भूमिका नै दिएको छैन । जबसम्म सेवाग्राहीले अस्पतालप्रति अपनत्व महसुस गर्ने वातावरण बन्दैन, हाम्रो अञ्चल अस्पतालको हालत सुधार हुनै सक्दैन ।

त्यसैले, यो अस्पताल सुधारका दुईवटा मात्रै उपाय छन् । पहिलो, कानुन मैं संशोधन गरी अस्पतालको सञ्चालन सेवाग्राहीको निश्चित निर्वाचक मण्डललाई दिने र दोस्रो, सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा स्वास्थ्यविज्ञान संकाय स्थापना गरी आफ्नै मेडिकल कलेज खोल्ने र यो अस्पताललाई शिक्षण अस्पतालको रुप दिने । यसमा कञ्चनपुरका सबै स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारले लगानी गरे अस्पतालको सुधार हुन समय लाग्दैन ।

यी दुबै विकल्पलाई ध्यान दिएर कञ्चनपुरबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरुले केन्द्रीय सरकारलाई दवाव दिने हो भने केही न केही हुने देखिन्छ । विशेष गरी कञ्चनपुर–३ बाट निर्वाचित सांसद डा. दीपकप्रकाश भट्टले यी विकल्पको गम्भीर अध्ययन गर्नु जरुरी छ किनभने निर्वाचनताका उनले यो अस्पताललाई शिक्षण अस्पताल बनाउने सार्वजनिक प्रतिवद्धता प्रकट गरेका थिए ।

महाकाली अञ्चल अस्पतालको सुधारलाई अब अरुको दायित्व भन्दै सेवाग्राहीले उम्कने प्रवृत्ति पनि त्याग गर्नुपर्छ । अस्पताल र चिकित्सकहरुबाट हुने आकस्मिक गल्तीलाई स्वाभाविक रुपमा बुझ्ने मनोवृत्तिको विकासका लागि जागरुकता अभियान सुरु गरेर पहिलो कदम उठाउन सकिन्छ । यो कदम स्थानीय तहहरुले उठाए प्रभावकारी हुन सक्छ । समाजका विभिन्न तहले अस्पताल सुधारको काममा सानोठूलो योगदान दिन सके भने पनि सुधारको वातावरण बन्ने छ । र, सबैभन्दा महत्वपूण कुरा जनस्तरबाट निर्वाचित जनप्रतिनिधिले दवाव महसुस हुने गरी एक–एक सेवाग्राहीले काम गर्नुपर्छ ।

 


About Author
-मानसखण्ड

सम्बन्धित