१७२ पटक हेरिएको
प्रकाशित: २०७५ आषाढ ०७ , १२:०१ बजे

भीमदत्त नगरपालिका : जथाभावी रोकिएन !

Image

– मदन गिरी
महेन्द्रनगर, ७ असार । भीमदत्त नगरपालिकाले देशका कानुनसँग बाझ्ने गरी कार्यविधि बनाइरहेको खुलेकोे छ । सरोकारवालाहरुले नगरपालिकाले बनाएको स्थानीय स्वास्थ्य तथा सरसफाई कार्यविधि–२०७४ संशोधनको माग गरेपछि सो खुलासा भएको हो ।


बुधबार हेल्थ असिस्टेण्ट संघ कञ्चनपुर (हान)ले स्वास्थ्य सेवा ऐनविपरीत नगरपालिकाले कार्यविधि बनाएको दावी सहित ज्ञापनपत्र बुझाएको छ ।


हान कञ्चनपुका कोषाध्यक्ष महेश पाण्डेका अनुसार नगरपालिकाले देशको कानुन विपरित कार्यविधि बनाएको छ । तहगत बढुवा भएका व्यक्तिलाई विषयगत क्षमताका जिम्मेवारी दिन नहुने कानुनी व्यवस्थालाई उल्लंघन गरिएको हानको दावी छ । ऐनले हेल्थ असिस्टेण्ट तोकेको ठाउँमा तह बढुवा गरिएका अनमी वा अहेव राख्न पाउने गरी कार्यविधि बनाइएको सो संगठनको भनाई छ ।


स्वास्थ्यचौकी तथा नगर स्वास्थ्यको प्रमुख नियुक्त गर्दा तह र श्रेणीको आधारमा गरिने कार्यविधि गैरकानुनी भएको हानको दावी को दावी छ । स्वास्थ्य सेवा ऐन अनुसार स्वास्थ्य कर्मचारीको तह बढुवा हुनसक्ने भए पनि निश्चित कोर्सको अध्धयन पूरा गरेको प्रमाणपत्र नभएसम्म तोकिएको जिम्मेवारी दिन नसकिने कानुनी व्यवस्था छ । ‘सीएमएको तहगत बढुवा हुन सक्छ र उ एमबीबीएस डाक्टर सरहको तहमा पुग्न सक्छ,’ पाण्डेले भने, ‘तर बढुवा भएको सीएमए डाक्टर प्रमुख हुने जिम्मेवारीमा पुग्न सक्दैन ।’


तर नगरपालिकाले निर्माण गरेको कार्यविधि अनुसार भने तह बढुवासँगै जिम्मेवारी समेत दिईने मनसायले बनाईको हानको आरोप छ । पाण्डेका अनुसार कार्यविधिमा तेस्रोे तहबाट सेवा प्रवेश गरेका कर्मचारीले समेत पाँचौ तह बढुवा भएमा नगर स्वास्थ्य केन्द्र प्रमुखको जिम्मेवारी दिने व्यवस्था गरिएको छ । ‘जबकी ऐनमा हेल्थ असिस्टेण्ट मात्रै प्रमुख हुने प्रष्ट उल्लेख छ,’ उनले भने ।


नगरपालिकाले स्वास्थ्य कार्यविधि सात दिन भित्रमा संशोधन प्रक्रिया सुरु नगरेमा आफ्नो संगठनले कानूनी उपचारको बाटो अपनाउने कोषाध्यक्ष पाण्डेको भनाई छ ।


हानले कार्यविधिमा भएको त्रुटी सम्बन्धमा मेयर सुरेन्द्र विष्टलाई ज्ञापनपत्र बुझाउन चाहे पनि सफलता पाएन । पटक–पटक प्रयास गर्दा पनि नगर प्रमुखले समय नदिएपछि बुधबार हानले उपप्रमुख शुसिला चन्द सिंहलाई ज्ञापनपत्र बुझाएको छ ।