६९४ पटक हेरिएको
प्रकाशित: २०७५ आषाढ ०७ , ११:३२ बजे

मेयर सा’बको कम्पनी झन् बदनाम !

Image

– मानसखण्ड
महेन्द्रनगर, ७ असार । डडेल्धुराको पर्शुराम नगरपालिकाका मेयर भीमबहादुर साउद सञ्चालक रहेको कम्पनी राजेन्द्र निर्माण सेवा कस्तो काम गरिरहेको भन्ने भीमदत्त नगरपालिका वडा नं. ११ मा निर्माणाधिन माताकुटिया पुलले नै देखाइरहेको छ ।


सो पुल निर्माणका लागि दिइएको १८ महिने म्याद गुज्रन ६ महिना बाँकी रहदा पनि ४२ मिटर लामो, ११ मिटर चौडाई र करिब ५ करोड ३५ लाख रुपैयाँको सो पुलको काम ३ प्रतिशत पनि हुन सकेको छैन ।


राजेन्द्र निर्माण सेवा मिलेर बनेको जेभी कञ्चनपुरकै अन्य तीन योजना निर्माणमा ढिलासुस्ती गरेको कारण गृहमन्त्रालयको निगरानी सूचीमा रहेको छ ।


गत चैत्रमा दैनिक मानसखण्डले समाचार प्रकाशित गरेपछि केही दिन तम्सिएको कम्पनीले १७ दिनमैं काम
रोके पनि अहिलेसम्म सुचारु गरिएको छैन ।


माताकुटिया नजिक भुजेला खोलामा पिलरजमिनुनी खन्न नसकिएको भन्दै ठेक्का सम्झौता भएको १० महिनापछि सुरु गरिएको काम रोकिएको थियो । सडक डिभिजनका इन्जिनियर खगेन्द्रबहादुर शाहीका अनुसार पिलर खन्नका लागि अर्को मसिन ल्याउने भन्दै काम रोकिएको थियो । सो पुल निर्माणको ठेक्का लिएका मेयर भीमबहादुर साउँद निर्माण क्षेत्रका ‘ठूला’ व्यवसायी मानिन्छन् । उनी ए श्रेणीका निर्माण व्यवसायी हुन् ।


भुजेला खोलामा पक्की पुल निर्माणको लागि २०७४ जेठमा मेयर साउँद सञ्चालक रहेको राजेन्द्र निर्माण सेवा र सडक डिभिजन कार्यालय महेन्द्रनगरबीच ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता अनुसार २०७५ मंसिरसम्म पुल निर्माण गरिसक्नु पर्ने छ । मंसिर आउन अब चार महिना मात्र बाँकी छ ।


निर्माण व्यवसायीले पुल निर्माण नगर्दा खोलामा आवत जावत गर्न समेत समस्या भएको नाथले बताए । ‘जनप्रतिनिधि, सडक डिभिजन कार्यालयले पनि ठेकेदारलाई काममा लगाउन सकेको छैन्, जनप्रतिनिधिलाई पुल कहिले बन्छ भन्दा चाँडै हुन्छ मात्रै भन्छन्,’ नाथले भने ।


निर्माण सेवाले अहिलेसम्म २÷३ ट्राली मात्र बालुवा र गिट्टी फालेको स्थानीय खेम जोशीले बताए । ‘अहिलेसम्म काम सुरु गरेका छैनन्, १/२ महिना अगाडी आएर अलिकति बालुवा र गिट्टी फालेका छन्,’ जोशीले भने । मेयर साउदले गत चैत्रमा दैनिक मानसखण्डसँग भनेका थिए, ‘चाँडै काम सुरु हुन्छ, अन्य ठाउँमा पनि पुल निर्माण गरिरहेकोले ढिला भएको हो, २ वटा मसिन प्रयोग गरेर निर्माण कार्य समयमै सक्छु ।’ उनले यस्तो भनेको केही दिनपछि काम सुरु गरिए पनि १७ दिनमैं रोकिएको थियो ।


दाउ अर्कै
दैनिक मानसखण्डमा समाचार प्रकाशन भएपछि केही दिन काम गरेर फेरि रोक्नुमा ‘प्राविधिक चाल’ भएको निर्माण व्यवसायीहरु बताउँछन् । कामै सुरु नभएको अवस्थामा म्याद बढाउन अप्ठ्यारो हुने भएकाले केही दिन काम गरे जस्तो गर्ने र प्राविधिक जटिलता देखाउन केही दिन काम गरिएको उनीहरुको बुझाई छ ।


पिलर खन्दा ‘पाइल गएको’ले रोकिएको इन्जिनियर शाहीले बताए । ‘अर्को मसिन ल्याउने भनेर केही दिनका लागि मात्रै काम रोकिएको थियो,’ शाहीले भने, ‘तर, अहिलेसम्म मसिन आएको छैन ।’ उनका अनुसार कामीकाँटे खोलामा भने सो कम्पनीले माताकुटीमा चाहिने मसिन प्रयोग गरिरहेको छ ।


निर्माण व्यवसायी स्रोतका अनुसार पाइल गएको निहुँमा ठेकेदारले म्याद थप लिने पक्कापक्कीजस्तो छ । नियतवश नै काम १० महिनापछि सुरु गरिएको तथ्यले भने म्याद थप गर्न नसकिने निर्माण व्यवसायीहरु बताउँछन् ।


अबकाम चार महिनामा निर्माण कार्य पूरा गर्न सम्भव नरहेको पनि निर्माण व्यवसायीहरुको कथन छ । वर्षायामका कारणले पनि त्यो काम पूरा हुन सजिलो देखिंदैन । तर, सडक डिभिजन कार्यालय यसबारेमा ठोस पहल गर्न खोजेको जस्तो देखिदैन । इन्जिनियर शाही भन्छन्, ‘काम गरे त सम्भव पनि छ ।’


मेयर साउदलाई यसबारेमा सम्पर्क गर्दा पाइल गएको हुनाले काम सुचारु हुन नसकेको बताए । उनले ठूलो मसिनको पुर्जा नआएको र आउनेवित्तिकै म्याद भित्रै काम सक्ने दावी गरेका छन् ।


मालिका नामक कम्पनीसँग मेयर साउदको राजेन्द्र निर्माण सेवा मिलेर बनेको कम्पनी ‘राजेन्द्र मालिका जेभी धनगढी’ले परासन–त्रिभुवनबस्ती सडक खण्डको ५५ प्रतिशत, रेडक्रस–बागफाँटा सडकको ८५ प्रतिशत मात्रै निर्माण कार्य पूरा गर्दा म्याद सकिएको भन्दै जिल्ला प्रशासन कार्यालयले गृहमन्त्रालयको निगरानी सूचिमा नाम पठाइसकेको छ ।


About Author
-मानसखण्ड