१९२८ पटक हेरिएको
प्रकाशित: २०७५ आषाढ ०७ , १०:४१ बजे

यस्तो क्रिकेट स्टेडियम बन्दै छ महेन्द्रनगरमा !

Image

महेन्द्रनगर, ७ असार । महेन्द्रनगरमा अन्तर्राष्ट्रिय खेल समेत खेल्न सकिने क्रिकेट स्टेडियम बन्ने भएको छ । केन्द्रीय सरकारले आगामी आर्थिक वर्षको बजेटमा महेन्द्रनगरमा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउन बजेट विनियोजन समेत गरेको छ ।


६५ करोड रुपैयाँको लागतमा स्टेडियम निर्माण हुने छ । राष्ट्रिय खेलकूद परिषदले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन र स्टेडियमको डिपीआर स्वीकृतिको अन्तिम चरणमा रहेको र आगामी आर्थिक वर्षभित्रै निर्माण कार्य सुरु हुने बताइएको छ ।


बहुवर्षीय योजनाअन्तर्गत स्टेडियम निर्माण भएपछि महेन्द्रनगर क्रिकेटका लागि गन्तब्य बन्ने छ । स्थानीय कभर्ड हल क्षेत्रमा स्टेडियम बनाइने भएपछि कञ्चनपुर जिल्ला खेलकूद विकास समितिले लिजमा दिएको जग्गा फिर्ता लिने प्रक्रिया पनि सुरु भएको छ । समितिले १० वर्षका लागि भनेर ४ वर्ष अगाडि जग्गा भाडामा दिएको थियो । लिज सम्झौतामा समितिलाई आवश्यक परे सो जग्गा खाली गराउन सकिने शर्त भएको हुनाले सजिलो भएको जिल्ला खेलकूद विकास समितिका अध्यक्ष शेरबहादुर चन्दले बताए । लिजमा दिइएको जग्गामा अहिले माछा पोखरी निर्माण भएको छ ।


राखेपले तयार पारेको डिजाइन अनुसार स्टेडियम निर्माण गर्दा अहिलेका केही संरचना भत्काइने छ ।


तर, अहिलेका कभर्ड हलकबड्डी हल, मन्दिर र भलिबल कोर्टलाई भने कुनै असर पर्ने छैन । स्टेडियम अन्तर्राष्ट्रिय मापदण्ड अनुसार ३० हजारभन्दा धेरै दर्शक अट्न सक्ने बनाइने बताइएको छ ।


स्टेडियम बाहिर पर्याप्त पार्किङको समेत व्यवस्था गरिएको छ । सामान्य र भीआईपी गरी दुई किसिमका पार्किङ लट निर्माण हुने छन् । नक्सा अनुसार, मोटरसाइकलको भने छुट्टै पार्किङ हुने छ । स्टेडियमभित्र अन्तर्राष्ट्रिय स्टेडियममा हुनुपर्ने सबै सुविधा उपलब्ध हुने छ ।


पुरानो गुरुयोजनालाई समस्या
राखेपले २०६४ सालमा बनाएको गुरुयोजनालाई भने अहिलेको गुरुयोजनाले समस्या पर्ने भएको छ ।


पुरानो गुरुयोजनामा बहुद्देश्यीय स्टेडियम बनाउने गरी कभर्ड हल क्षेत्रको जग्गामा डिजाइन गरेको थियो । त्यो गुरुयोजनामा क्रिकेट स्टेडियम सोनो थियो । अहिलेको डीपीआरमा भने बहुद्देश्यीय स्टेडियमलाई हटाएर कभर्डहल क्षेत्रलाई क्रिकेट स्टेडियमका रुपमा मात्रै विकास गर्ने योजना ल्याइएको छ ।


पुरानो गुरुयोजना बदर गरी नयाँ बनाइएपछि अहिले त्यो क्षेत्रमा बनाइएका र बनाउन लागिएका केही संरचनामा असर पर्ने देखिएको छ । विषेश गरी जिल्ला खेलकूद विकास समितिले आफै बनाएर उपयोग गर्ने गरी हालसालै पूरा गरेको सटर निर्माण कार्यलाई नयाँ गुरुयोजनाले असर पर्ने देखिएको छ । समितिले दक्षिण र पूर्वतर्फको सडकमा ९४ सटर निर्माणका लागि बडाबड गरी सम्झौता गरिसकेको छ ।


अहिलेका संरचना तथा बन्न लागेका सटरलाई असर नपरोस् भन्ने प्रयासमा आफू लागेको अध्यक्ष चन्दले बताए । उनले स्टेडियमलाई केही उत्तर–पश्चिम सारेर डिजाइन संशोधनका लागि रोपलाई अनुरोध गरिएको जानकारी दिए । ‘राखेप सकारात्मक छ’ उनले भने, ‘सटर र अहिलेका संरचनालाई असर नपार्ने गरी स्टेडियमलाई केही उता सारिन्छ होला ।’


About Author
-मानसखण्ड