२६३ पटक हेरिएको
प्रकाशित: २०७५ वैशाख ०३ , ११:३२ बजे

‘नगर विकासले तयार गर्‍यो कार्यविधि’

Image

महेन्द्रनगर । महेन्द्रनगर नगर विकास समितले लिज घोटाला छानविन उपसमितिको प्रतिवेदन कार्यान्वयनका लागि कार्यविधि तयार गरेको छ । कार्यविधिमार्फत लिजमा दिइएका केही जग्गामा बनेका संरचना भत्काउने र उस्तै प्रकृतिका केही संरचना जोगाउने चलखेल हुन थालेको संकेत पाइएको छ ।

अवैध रुपमा निर्माण गरिएका भौतिक संरचनालाई हटाइने नगर विकास समितिका अध्यक्ष विष्टले बताए । उनका अनुसार होटेल ओपेरा होटेलको पूर्वपट्टी बनेका संरचना र वनखेतस्थित औद्योगिक क्षेत्रमा निर्माण गरिएका ५०/६० घर हटाइने कार्यविधिमा उल्लेख गरिएको छ ।

अध्यक्ष विष्टले भनेबाहेकका क्षेत्रमा पनि अवैध लिज र संरचना निर्माण भएका छन् । तर, उनले त्यसबारे केही बताएनन् । छानविन उपसमितिको प्रतिवेदनमा होटेल ओपेरा पश्चिम पनि अवैध लिजमा अवैध संरचना बनाइएका उल्लेख भए पनि पूर्वपट्टीका मात्रै भत्काइने कथन आश्चयर्चजनक छ ।

समितिले अहिलेसम्म प्रतिवेदन सार्वजनिक गरेको छैन । नगर विकास समितिको क्षेत्रमा निर्माण भएका सटरको पुनः टेण्डर गरिने उनले बताए । ‘नगर विकास समितको जग्गामा निर्माण गरिएका सटरहरुको टेण्डर गरेर भाडामा लगाउँछौं,’ उनले भने ।
उनका अनुसार १५ दिनको सूचना प्रकाशित गरेर सटर भाडामा दिने कार्यविधिमा समावेश गरिएको छ ।

अवैधानिक रुपमा निर्माण गरिएका भवन भए पनि व्यक्तिको लगानी लागेकोले भवन भत्काउनु अघि सबैसँग छलफल गरिने अध्यक्ष विष्टले बताए । ‘धेरैले लाखौ लगानी गरेका छन्, घर तथा भवन हटाउनु अघि सरोकारवालासँग छलफल गर्छौ, नगर विकास समितिको बोर्ड बैठकमा यस विषयमा छलफल गर्छौ,’ समितिका अध्यक्ष विष्टले भने ।

समितिले बनाएको कार्यविधि नगर विकास समितिबाट पास गर्ने तयारी भइरहेको समितिका अध्यक्ष सुरेन्द्र विष्टले बताए । ‘कार्यविधि तयार गरेका छौं, भीमदत्तका नगरपालिकाका प्रमुख सुरेन्द्र विष्ट जिल्ला बाहिर भएकाले बोर्ड बैठकबाट कार्यविधि पास गर्न सकिएको छैन्,’ अध्यक्ष विष्टले भने ।

उनका अनुसार नगर विकास समितिले प्रतिवेदन कार्यान्वयन कार्यविधि चैत २८ गते समितिको बोर्ड बैठक बोलाएर पास गर्ने तयारी गरेको थियो । ‘नगर प्रमुख नहुँदा समितिको बोर्ड बैठक सारेका छौं, नगर प्रमुख नआएसम्मका लागि बैठक बस्दैन्,’ उनले भने ।

प्रमुख जिल्ला अधिकारी, समितिका सदस्य र समितिको घोटला छानविन उपसमितिका संयोजकको सल्लाह अनुसार बैठक नगर प्रमुख नआउँदासम्मका लागि सारिएको उनले बताए । ‘हामीले २८ गते बोर्ड बैठक राख्ने गरि सम्पूर्ण तयारी गरेका थियौं, सम्बन्धित व्यक्तिलाई बोलाउनका लागि पत्र समेत तयार गरेका थियौं, मेयर नहुँदा रोकियो, बैशाख ३ गते नगर प्रमुख विष्ट महेन्द्रनगर पुग्ने जानकारी पाएका छौं, बैशाख ५ गतेसम्म बैठक बस्छ होला,’ उनले भने ।

तयार गरिएको कार्यविधि नगर विकास समितिको बोर्ड बैठकबाट पास गरेर सहरी विकास मन्त्रालयमा पेस गरिने अध्यक्ष विष्टले बताए । ‘बोर्ड बैठकबाट कार्यबिधि पास गरेर मन्त्रालयमा पठाउँछौं, मन्त्रालयले कार्यान्वयन गर्ने अनुमति दिएपछि मात्र काम अगाडी बढ्छ,’ विष्टले भने ।


About Author
-मानसखण्ड