८३१ पटक हेरिएको
प्रकाशित: २०७४ चैत्र २० , ०८:५२ बजे

आरक्ष पीडितलाई थ्रेसर प्रयोग गर्न दिन वन मन्त्रीको निर्देशन

Image

महेन्द्रनगर। कञ्चनपुरका आरक्ष पीडितलाई थ्रेसरबाट गहुँ चुट्न दिन वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशकलाई निर्देशन दिएका छन् ।

निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य नरबहादुर धामी र बेलडाँडी गाउँपालिका प्रमुख धनबहादुर थापा लगायतको पहलपछि वन मन्त्री बस्नेतले आरक्ष पीडितलाई गहुँ चुट्न दिन राष्ट्रिय निकुञ्ज विभागका महानिर्देशक मानबहादुर खड्कालाई निर्देशन दिएको मन्त्री बस्नेतको निजि सचिवालयले जनाएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले नेपाली सेना खटाएर कञ्चनपुरको विभिन्न शिविरमा बस्दै आएका आरक्ष पीडितलाई थ्रेसरबाट गहुँ चुट्न नदिएपछि सोमबार प्रतिनिधिसभा सदस्य धामी र बेलडाँडी गाउँपालिका प्रमुख थापा लगायतको टोली वन तथा वातावरण मन्त्रालय पुगेर वन मन्त्री बस्नेतको ध्यानाकर्षण गराएका थियो ।

वन मन्त्रीको निजी सचिवालयका अनुसार वन मन्त्री बस्नेतले महानिर्देशक खड्कालाई आरक्ष पीडित परिवारले लगाएको गहुँवाली चाडो उनिहरुको घर भित्र्याउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए । प्रतिनिधिसभा सदस्य धामीले सर्वदलिय बैठक र राष्ट्रिय निकुञ्ज कार्यालयको सहमतिमा आरक्ष पीडित ढाक्का शिविर, तारापुर लगायतका शिविरमा बस्दै आएको बताए ।

‘निकुञ्ज कार्यालयसँग आरक्ष पीडितको व्यवस्थापन नभएसम्म शिविरमा बस्न दिने सर्वदलिय निर्णय भएको छ, अहिले निकुञ्ज कार्यालयले आरक्ष पीडितलाई अनावश्यक रुपमा दुःख दिनु हुँदैन्,’ धामीले भने ।

शुक्लाफाँटा नगरपालिकास्थित तारापुर शिविर र लालझाडी गाउँपालिकाको ढाक्का शिविरमा बस्दै आएका आरक्ष पीडितलाई निकुञ्ज कार्यालय र सेनाले गहुँ चुट्न नदिएको आरक्ष पीडित संघर्ष समितिका अध्यक्ष हिरासिंह भण्डारीले बताए । ‘१५/२० दिन अघिदेखि गहुँ चुट्न दिएको छैन्, सेना शिविरमा आएर थ्रेसर लगाउन दिदैनन्,’ उनले भने ।

आरक्ष पीडितको व्यवस्थापनका लागि २८ आयोग बनेपनि आरक्ष पीडितको व्यवस्थापन हुन सकेको छैन् ।आरक्ष पीडितको व्यवस्थापनका लागि सरकारसगँ पहल भइरहेको प्रतिनिधिसभा सदस्य धामीले बताए ।

‘पहल गरिरहेका छौं, आरक्ष पीडित सरकारबाट पीडित भएकाले उनिहरु व्यवस्थापन चाडै हुन्छ,’ प्रतिनिधिसभा सदस्य धामीले भने । विक्रम सम्वत् २०५८ सालमा शुक्लाफाँटा  वन्यजन्तु आरक्षलाई विस्तार गर्ने क्रममा उनिहरु विस्थापित भएर कञ्चनपुरका विभिन्न शिविरमा बस्दै आएका छन् ।