३१६ पटक हेरिएको
प्रकाशित: २०७४ चैत्र १८ आइतबार, ०९:५३ बजे

दक्ष जनशक्ति नहुँदा क्रायोथेरापी प्रयोगविहिन

Image

महेन्द्रनगर । नेपाल परिवार नियोजन संघ कञ्चनपुर शाखामा दक्ष जनशक्ति नहुँदा पाठेघरको उपचार गर्ने क्रायोथेरापी ८ महिनादेखि प्रयोगविहिन बनेको छ । नेपाल परिवार नियोजन संघ जिल्ला शाखा कार्यालय कञ्चनपुरले पाठेघरको मुखको क्यान्सरको उपचार गर्न उदेश्यले गत असारमा क्रायोथेरापी मेसिन ल्याएको थियो ।

तर, दक्ष जनशक्तिको अभावमा प्रयोग विहिन अवस्थामा रहेको नेपाल परिवार नियोजन संघ कञ्चनपुर शाखाका प्रमुख शिवराज बलायरले बताए । ‘गत असारमा खरिद गरेर क्रायोथेरापी मेसिन लिएका थियौं, दक्ष जनशक्ति नहुँदा प्रयोगमा ल्याउन सकिएको छैन,’ उनले भने ।

नेपाल परिवार नियोजन जिल्ला शाखा कार्यालय कञ्चनपुरमा क्रायोथेरापी मेसिन चलाउन सक्ने तालिम प्राप्त डाक्टर नहुँदा सञ्चालन गर्न नसकिएको उनले बताए । ‘डाक्टर छन् तर, मेसिन चलाउन सक्ने दक्ष डाक्टर छैनन्, उनिहरुलाई आवश्यक तालिम दिन सकिएको छैन’ उनले भने ।

आवश्यक तालिमको लागि राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रलाई पत्राचार गर्दा पनि कुनै सुनवाई नभएको उनले गुनासो गरे । नेपाल परिवार नियोजन संघ जिल्ला शाखा कार्यालय कञ्चनपुरले १ लाखमा धनगडीबाट मेसिन खरिद गरेको शाखा प्रमुख बलायरले बताए । ‘मेसिन सञ्चालनमा ल्याउन नसक्दा यहाँ पाठेघरको मुखको परिक्षण मात्र गर्छौ, संकास्पद बिरामीलाई धनगढी पठाउने गरेका छौं’ उनले भने ।

बिरामी चेकजाँच गर्ने क्रममा पाठेघरको मुखको क्यान्सर भएको शंका लागे थप चेकजाँच र उपचारका लागि सेति अञ्चल अस्पताल धनगढी पठाउने गरेको उनले बताए । ‘सेति अञ्चल अस्पताल धनगढीमा थप चेकजाँच गरि पाठेघरको सानो अंश प्रयोगशाला  परिक्षणका लागी केन्द्रिय प्रयोगशाला काठमाण्डौं पठाईन्छ’ उनले भने ।

पाठेघरको मुखको क्यान्सर भएमा प्रयोगशालामा परीक्षण गर्दा संक्रमित अंग पोजेटिभ देखिए उपचार सेती अञ्चल अस्पतालबाट हुने शाखा प्रमुख बलायरले बताए । ‘परिवार नियोजन संघ शाखा कार्यालय कञ्चनपुरमा क्रायोथेरापी मेसिन सञ्चालनमा आए पाठेघरको मुखको क्यान्सर भएका बिरामीको उपचार कञ्चनपुरमा नै गर्न सकिन्छ’ उनले भने ।

नेपाल परिवार नियोजन संघ शाखा कार्यालय कञ्चनपुरले प्रत्येक शुक्रबार पाठेघरका बिरामीको चेकजाँच गर्ने गरेको उनले बताए । ‘हप्तामा करिब १ सय जनाले चेकजाँच गराउँछन, जसमा पाठेघरको मुखको क्यान्सर भएका शंकास्पद औसतमा १० जनासम्म बिरामी भेट्टीन्छन ।’ उनले भने ।


About Author
-मदन गिरी