६३७ पटक हेरिएको
प्रकाशित: २०७४ चैत्र १२ , १०:३२ बजे

ठेकेदारी प्रथाको यो पाटो !

Image

महेन्द्रनगर । पक्की पुल निर्माणको ठेक्का सम्झौता भएको १० महिना बितिसक्दा समेत भीमदत्त नगरपालिका वडा नम्बर ११ माता कुटिया नजिक भुजेला खोला पुल निर्माण सुरु हुन सकेको छैन । ४२ मिटर लामो, ११ मिटर चौडाई र करिब ५ करोड रुपैयाँको सो पुल निर्माणका लागि ठेकेदारलाई दिइएको समय सकिन ९ महिनाभन्दा कम अवधि बाँकी रहे पनि पुलको काम सुरु हुने छाँट पनि देखिएको छैन ।

आश्चर्य त के छ भने, बाँकी अवधिमा पुल निर्माण हुने सम्भावना शून्य रहे पनि सडक डिभिजनले ठेकेदारविरुद्ध कुनै किसिमको कारबाही थालेको छ । अर्को रोचक कुरा के भने – सो पुल निर्माणको ठेक्का डडेल्धुराको पर्शुराम नगरपालिकाका मेयर भीमबहादुर साउँदको कम्पनी राजेन्द्र निर्माण सेवाले लिएको छ । साउँद निर्माण क्षेत्रका ‘ठूला’ व्यवसायी मानिन्छन् ।

भुजेला खोलामा पक्की पुल निर्माणको लागि २०७४ जेठमा मेयर साउँद सञ्चालक रहेको राजेन्द्र निर्माण सेवा र सडक डिभिजन कार्यालय महेन्द्रनगरबीच ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता अनुसार २०७५ मंसिरसम्म पुल निर्माण गरिसक्नु पर्ने हो ।

केही साताअघि ठेकेदार कम्पनीले निर्माणस्थलमा केही ट्रिप बालुवा र गिट्टी फालेको थियो । त्यसयता निर्माणस्थलमा कोही नआएको स्थानीय तेजु नाथले बताए । उनका अनुसार पुल निर्माण व्यवसायीले निर्माणको लागि आवश्यक पर्ने समाग्री संकलन समेत गरेको छैन् । ‘ठेकेदार कम्पनीका कर्मचारी नै गायब छन्,’ नाथले भने ।

निर्माण व्यवसायीले पुल निर्माण नगर्दा खोलमा आवत जावत गर्न समेत समस्या भएको नाथले बताए । ‘जनप्रतिनिधि, सडक डिभिजन कार्यालयले पनि ठेकेदारलाई काममा लगाउन सकेको छैन्, जनप्रतिनिधिलाई पुल कहिले बन्छ भन्दा चाँडै सुरु हुन्छ मात्रै भन्छन्,’ नाथले भने ।

निर्माण सेवाले अहिलेसम्म २/३ ट्राली मात्र बालुवा र गिट्टी फालेको स्थानीय खेम जोशीले बताए । ‘अहिलेसम्म काम सुरु गरेका छैनन्, १/२ महिना अगाडी आएर अलिकति बालुवा र गिट्टी फालेका छन्,’ जोशीले भने ।

निर्माण व्यवसायीले पुल निर्माण गर्दैन कि भन्ने चिन्ता लागेको उनले बताए । ‘अहिलेसम्म आधा काम सक्नु पथ्र्र्यो, पुल निर्माणको काम नै सुरु गरेका छैनन्,’ जोशीले भने ।

ठेकदार कम्पनीलाई २/३ पटक निर्माण कार्य सुरु गर्न अनुरोध गर्दा समेत निर्माण कार्य सुरु नगरेको वडा नम्बर ११ का वडा अध्यक्ष प्रेमप्रसाद जैशीले बताए । ‘निर्माण कार्य बैशाखदेखि सुरु गर्छु भनेको छ, अहिलेसम्म योजना अलपत्र छ,’ उनले भने ।

आफूले स्थानीय चुनावमा समयमा काम गराउने प्रतिवद्धता गरेको बताउँदै वडा अध्यक्ष जैशीले राजेन्द्र निर्माण सेवाले समस्या भएको बताए । ‘स्थानीयले भेट हुने बितिकै पुल कहिले बन्छ भन्छन्, निर्माण व्यवासयीले चाडै काम गर्छु भन्छन् तर काम गर्दैनन्,’ वडा अध्यक्ष जैशीले भने ।

राजेन्द्र निर्माण सेवाका सञ्चालक भीम साउँदले बैशाखदेखि निर्माण सुरु गरिने बताए । ‘चाँडै काम सुरु हुन्छ, अन्य ठाउँमा पनि पुल निर्माण गरिरहेकोले ढिला भएको हो, २ वटा मसिन प्रयोग गरेर निर्माण कार्य समयमै सक्छु,’ उनले भने ।

सडक डिभिजनका अधिकारीहरु भने ठेकेदार कम्पनीकै पक्षमा बोल्छन् । तोकिएको अवधिमा पुल निर्माण सकिने शून्य सम्भावना हेरेर ठेक्का तोड्ने प्रक्रियामा जान सकिने कानुनी सुविधा भए पनि सडक डिभिजनका अधिकारी ढिलाईलाई सामान्य रुपमा लिएको शैलीमा प्रस्तुत हुन्छन् ।

कञ्चनपुरमा राजेन्द्र निर्माण सेवाले ५/६ वटा पुल निर्माण गरिरहेकोले ढिलाइ भएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी खगेन्द्र शाहीले बताए । ‘निर्माण सेवाका सञ्चालकले बैशाखदेखि काम सुरु गर्छु भनेका छन्, चाँडै काम सुरु हुन्छ,’ उनले भने । उनका अनुसार ४२ मिटर लम्बाई र ११ मिटर चौडाईको पक्की पुल निर्माण गरिने छ ।

सडक डिभिजन कार्यालय र निर्माण सेवाका बीच २०७४ जेठ ७ गतेका दिन २०७५ मंसिर ५ गते निर्माण सक्ने गरी ५ करोड ३५ लाख ३ हजार ८ सय २६ रुपैयाँको ठेक्का सम्झौता भएको थियो ।