९८३ पटक हेरिएको
प्रकाशित: २०७४ चैत्र ०८ , ११:१५ बजे

जारी छ चौधरीको चर्तिकला !

Image

महेन्द्रनगर, । घरेलु तथा साना उद्योग कार्यालय महेन्द्रनगरका प्रमुख र प्रमुख शिक्षकबीच घम्साघम्सी भइरहेको छ । दैनिक मानसखण्डमा कार्यालयका प्रमुख खेमप्रसाद चौधरीका अनियमितता सम्बन्धी समाचार प्रकाशित भएसँगै उनले आफूलाई तनावग्रस्त बनाएको प्रमुख शिक्षक कृष्णदेव भट्टको आरोप छ ।

कार्यालय प्रमुखसँग लघुउद्यमशिलता विकास तालिम सञ्चालन गरे बाफतको रकम माग गरेपछि चौधरीले आफूसँग पटक–पटक स्पष्टिकरण लिएको भट्टको दावी छ । चौधरी विवादास्पद कर्मचारी मानिन्छन् । यसअघि उनी महाकाली अञ्चल यातायात कार्यालयमा हुँदा सेवाग्राहीले कालोमोसो दलेका थिए ।

घरेलु कार्यालयमा सरुवा भएपछि पनि चौधरीका अनियमित कार्य समाचारका विषय बन्दै आइरहेका छन् । पछिल्लो समय उनीमाथि अनियमित तरिकाले आफ्नो छोरोलाई नियुक्त गरेको र प्रशिक्षणको बजेट दुरुपयोग गरिरहेको आरोप छ ।

चौधरीले तालिम सञ्चालन गरे बाफतको भत्ता नदिएको प्रमुख शिक्षक भट्टले बताए । पुनर्वासमा लघुउद्यमशिलता तालिम सञ्चालन गर्न नगएको भन्दै चौधरीले आफूलाई हाजीर समेत लगाउन नदिने गरेको शिक्षक भट्टले बताए । चौधरीले तालिम सञ्चालन गरे बाफत पाउने भत्ता नदिएपछि तालिम सञ्चालन गर्न नगएको भट्टको दावी छ ।

‘एक कक्षा सञ्चालन गरे बाफत १ हजार रुपैयाँ पाउँछु, चालु आर्थिक वर्षदेखि तालिम भत्ता दिएको छैन्, मेरो काम विशेषले पनि तालिम सञ्चालन गर्न सकिएन्, केहि दिनपछि तालिम सञ्चालन गर्छु भनेको थिए,’ उनले भने ।

तालिम सञ्चालन नगरेको भन्दै २ हप्तादेखि पटक–पटक चौधरीले स्पष्टीकरण सोधेको उनले बताए । ‘मैले प्रशासनका कर्मचारीलाई जानकारी गराएको थिए केही दिनपछि तालिम सञ्चान गर्छु भनेर तर कार्यालय प्रमुखले प्रत्येक दिन स्पष्टीकरण सोधिरहेका छन्,’ भट्टले भने ।

विदा माग्दा समेत विदा नदिने गरेको शिक्षक भट्टले बताए । ‘चौधरीले धम्की दिने गरेका छन्, आफ्नो कर्यकक्षमा मात्र बस भन्ने गरेका छन्, अन्य लेखाफाँट, प्रशासनमा नजानु भनेका छन्,’ शिक्षक भट्टले भने । प्रमुख शिक्षक भट्ट कार्यालय समयमा नआएको, तालिम सञ्चालन गर्न नगएको र कार्यालयमा नआएको भन्दै २ पटक भट्टलाई घरेलु तथा साना उद्योग कार्यालय प्रमुख चौधरीले स्पष्टीकरण सोधेका छन् ।

२/३ हप्ता अघिदेखि विवाद सुरु भएको कार्यालय प्रमुख चौधरीले बताए । ‘भट्ट तालिम सञ्चालन गर्न पनि जादैनन्, कार्यालयमा पनि आउँदैनन्, आएपनि ११ बजेपछि मात्र कार्यालय आउने गरेका छन्,’ उनले भने ।  भट्ट तालिम सञ्चालन गर्न नगएपछि तालिम सञ्चालन गर्न नजानुको कारण सोधेको चौधरीले बताए ।

भट्टले स्पष्टीकरणको चित्त बुझ्दो उत्तर दिएपछि फेरि स्पष्टीकरण सोधिएको चौधरीले बताए । भट्टले कार्यालयको काम नगरेपछि विदा तथा हाजरी लगाउन नदिएको चौधरीले बताए ।

घरलु तथा साना उद्योग कार्यालयको विवाद २.३ दिनभित्र मिलाउन चौधरीलाई निर्र्देशन दिएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए । ‘विवाद नमिलाए कारबाही गरिन्छ, चौधरीलाई विवाद हुनुको कारण लिखित रुपमा जानकारी गर्न भनेको छु,’ खड्काले भने ।