१६०५ पटक हेरिएको
प्रकाशित: २०७४ चैत्र ०८ , १०:५९ बजे

नेपाली बजारमा ज्यानमारा भारतीय केरा

Image

महेन्द्रनगर । भारतबाट भित्रिने केराविरुद्धको आन्दोलन फेरि सुरु भएको छ । आन्दोलनसँगै भारतबाट आयात हुने केराको गुणस्तरको रहस्य र सीमानामा रहेका नेपाल र भारतका क्वारेन्टाइन कार्यालयको गैरजिम्मेवारी पनि उदांगिएको छ । केरा खाद्यवस्तु भए पनि गड्डाचौकीमा त्यसको गुणस्तर वनस्पति क्वारेन्टाइनले जाँच्ने गरेको पाइएको छ ।

खाद्य प्रयोगशालाबाट केरामा ३३ प्रतिशत विषादी रहेको प्रमाणित भए पनि वनस्पति क्वारेन्टाइनले आँखाले हेरकै भरमा प्रवेश अनुमति दिने गरेको पनि खुलेको । त्यही केरालाई भारततर्फको क्वारेन्टाइनले भने विषादीको मात्रा शून्य रहेको देखाउने खेल हुने गरेकोे समेत उजागर भएको छ । गत बिहीबार रोली ट्रेडर्सको नाममा केरा नेपाल भित्रियो ।

भारततर्फको वनस्पति क्वारेन्टाइनले त्यसमा विषादीको मात्रा शून्य भएको लेख्यो ।त्यो केरा क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालय गड्डाचौकीमा पुगेपछि कर्मचारीले नाङ्गो आँखाले जाँच गरेर छोडपूर्जी जारी गरिदिए । भारतीय केरासँगको प्रतिष्पर्धा खेपिरहेका नेपाली केरा व्यवसायीले त्यही केरा अत्तरीया स्थित खाद्य प्रयोगशालामा जाँच गराए ।

प्रयोगशालाले त्यसमा ३३ प्रतिशत विषादी भएको प्रमाणित गर्‍यो । खाद्यवस्तुमा ३३ प्रतिशत विषादी मानवस्वास्थ्यका लागि घातक हो । केरा खाद्यवस्तु भए पनि गड्डाचौकीमा त्यसको खाद्य परीक्षण हुँदैन । गड्डाचौकीमैं रहेको खाद्य क्वारेन्टाइनतर्फ आयातित केरा जाँदैन ।

यो अवस्था आश्चर्यजनक नै हो । केरा कृषक संघर्ष समिति कैलाली कञ्चनपुरले रोली ट्रेडर्सले आयात गरेको केराको अत्तरीयास्थित खाद्य प्रयोगशालामा परीक्षणका गराउँदा ३३ प्रतिशत विषादी पाईएको संघर्ष समितिका संयोजक सुरेन्द्र कुमार चौधरीको दावी छ । यसैबीच कैलाली र कञ्चनपुरका केरा व्यवसायी आन्दोलित भएका छन् ।

केरा व्यवसायी संगठनहरुले भारतबाट अवैध तरिकाले आयात गरिने खाद्य समाग्रीमा निगरानी गरिनु पर्ने माग गरेका छन् । बुधबार कैलाली र कञ्चनपुरका विभिन्न केरा व्यवसायी संगठनले संयुक्त रुपमा क्षेत्रीय प्लान्ट क्वारेन्टाइन, भन्सार कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च र कञ्चनपुर उद्योग वाणिज्य लगायतलाई ज्ञापनपत्र समेत बुझाएका छन ।

उनीहरुले भारतबाट आउने विषादीयुक्त केराको आयात रोक्नु पर्ने, विश्व व्यापार संगठनको नियम लागू गरिनु पर्ने, आयातित केरामा भन्सार वृद्धि गरिनु पर्ने र भन्सार चेकजाँचमा कडाई गुर्नपर्ने ५ बुँदे माग सहित ज्ञापनपत्र बुझाएका हुन् । मापदण्ड नै नपुगी आयात भईरहको भारतीय केराले नेपाली केरा व्यवसायी धरासायी भईरहेको उनीहरुको गुनासो छ ।

विगत १० वर्षदेखि केरा व्यवसाय गर्दै आएका प्राविधिक सहयोगी टेकबहादुर सिंहले सरकारले बनाएका नीति नियम कागजमै सीमित रहेको टिप्पणी गर्दै सरकारको वेवास्ताका कारण केरा व्यावसायी मारमा परेको बताए । ‘कैलाली र कञ्चनपुरमा केरा खेतीको प्रचूर सम्भावना रहेको तर भारतबाट आयात हुने गुणस्तरहीन केराले यहाँ उत्पादित केराको बजार खाइदिएको छ,’ उनले भने ।

उनका अनुसार कैलाली र कञ्चनपुर जिल्ला केराखेतीका लागि हावा, पानी, माटो र बजारको दृष्टिकोणले केराखेतीको सम्भावना बढी रहेको क्षेत्र हो । ‘कृषकले केराखेतीबाट छोटो समयमा बढी आम्दानी गर्न सक्छन् । कैलाली र कञ्चनपुरलाई केराको हबका रुपमा विकसित गर्न सकिने तथा धान र गहुँको भन्दा केरा व्यवसायबाट ४ गुणा फाइदाजनक लिन सकिने केरा व्यवसायीले बताएका छन् ।

हाल कैलाली र कञ्चनपुरमा १ हजार हेक्टरमा केरा खेती गरिँदै आएकोमा १ हजार ५ सय बढी कृषक व्यवसायिक रुपमा केराखेतीमा सक्रिय रहेका प्राविधिक टेकबहादुर सिंहले बताए । ‘ ७/८ स्थानमा नर्सरी निर्माण गरी बेर्नामार्फत् बिउ उत्पादन गर्ने गरिएको छ,’ उनले भने ।

कैलाली र कञ्चनपुरमा ८ हजार जना व्यक्ति केराखेतीको आयआर्जनमा निर्भर रहेका छन् । केरा व्यवसायीले क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालयका प्रमुखको कार्यकक्षमा तालाबन्दी पनि गरेका छन् । भारतबाट आयात हुने खाद्य पदार्थको चेकजाँच तथा गुणस्तर निर्धारणमा गैरजिम्मेवार बनेकोले कार्यालय प्रमुुखको कार्याकक्षमा  तालाबन्दी  गरिएको संयोजक सुरेन्द्रकुमार चौधरीले  बताए ।