१७६१ पटक हेरिएको
प्रकाशित: २०७४ फाल्गुण ३० , ०९:११ बजे

किर्ते हस्ताक्षर गरेर ९ लाख हजम

Image

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ शान्तिपुरस्थित शान्ति अधारभूत विद्यालयका निमित्त प्रधानाध्यापकले विद्यालय व्यवस्थापन समितिका अध्यक्षको हस्ताक्षर किर्ते गरी नेपाल राष्ट्रिय बैंकबाट रकम निकासा गरेका छन् । निमित्त प्रअ ओम भण्डारीले नेपाल राष्ट्रिय बैंकमा विद्यालयको नाममा रहेको खाताबाट अध्यक्षको हस्तार किर्ते गरेर रकम निकासा गरेका बताइएको छ ।

विद्यालयका निमित्त प्रअ भण्डारीले अध्यक्षलाई जानकारी समेत नदिएर विद्यालयको नाममा रहेको राष्ट्रिय बैंकको खाता नम्बर १९७० बाट ९ लाख २७ हजार ३ सय ९६ रुपैयाँ निकालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऐतु बोहराले जानकारी दिए । उनका अनुसार निमित्त प्रअले फरक–फरक मिति उक्त रकम निकालेका हुन् । ६ वटा चेकमा अध्यक्षको किर्ते हस्ताक्षर गरेर निमित्त प्रअले रकम निकालेको अध्यक्ष बोहराले बताए ।

उनका अनुसार निमित्त प्रअ भण्डारीले मिति २०७४/७/ ९ गते १ लाख ७० हजार, पस ३ गते २ लाख ३७ हजार २ सय ६०, २ लाख ६ हजार ४ सय र ३ गते नै ७३ हजार १ सय ३६ सय रुपैयाँ रकम निकालेका छन् । त्यस्तै मिति २०७४ पुस ११ गते १ हजार ६ सय र माघ १७ गते २ लाख ४० हजार रकम हस्ताक्षर किर्ते गरेर निकालेको अध्यक्षले दाबी गरेका छन् ।

विद्यालयका खातामा रहेको रकम निकासा गर्न निप्रअ र अध्यक्षको हस्ताक्षर चाहिने भएपनि निप्रअ भण्डारीले अध्यक्षलाई जानकारी नदिई किर्ते हस्ताक्षर गरेर रकम निकासा गरेका हुन् । जिल्ला शिक्षा कार्यालय कञ्चनपुरले विद्यालयमा २ कोठे पक्की भवन निर्माणका लागि दिएको रकम किर्ते हस्ताक्षर गरी निमित्त प्रअ भण्डारीले निकालेको अध्यक्ष बोहराले बताए । ‘निमित्तप्रअले मेरो नाममा किर्ते हस्ताक्षर गरी विद्यालय जस्तो पवित्र सस्थाको रकम निकालेका छन्, रकम हिनामिना गरेका छन्,’ अध्यक्ष बोहराले भने ।

निमित्त प्रअ भण्डारीले राष्ट्रिय बैंकबाट निकासा गरेको रकम हिनामिना गरेको अध्यक्ष बोहराले बताए । ‘निमित्त प्रअ भण्डारीले विद्यालय व्यवस्थापन समितिसँग कुनै समन्वय नगरेर विद्यालयको रकम हिनामिना गरेका छन्, बैंकको खाताबाट रकम निकालेर पनि विद्यालय व्यवस्थापन समितिलाई जानकारी दिएन्,’  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोहराले भने ।


विद्यालयको २ कोठे भवनको निर्माणको लागि गत वर्ष जिल्ला शिक्षा कार्यालयबाट १६ लाख रुपैयाँ दिएको अध्यक्ष बोहराले बताए । ‘७/८ लाख पहिला नै रकम निकालेका थियौं, बाँकी रहेको रकम निमित्त प्रअले मेरो हस्ताक्षर किर्ते गरेर रकम निकालाका छन,’ अध्यक्ष बोहराले भने ।

निमित्त प्रअलाई कारबाहीको लागि नगरपालिकाको न्यायिक समितिमा निवेदन दिएको अध्यक्ष बोहराले बताए । ईलाका प्रहरी कार्यालयमा निप्रअ भण्डारीको नाममा जाहेरी दर्खास्त दिएपनि प्रहरीले मुद्दा दर्ता नगरेको उनले बताए । ‘प्रहरी लेनदेनको विषय भनि मुद्दा दर्ता गर्न मानेको छैनन्, अब जिल्ला अदालतमा मुद्दा दार्ता गर्छु,’ अध्यक्ष बोहराले भने ।

निमित्त प्रधानाध्यापक ओम भण्डारीले अध्यक्षले चेकमा हस्ताक्षर गर्न नमानेकाले आफैले बैंकबाट रकम निकास गरेका बताएकी छन् । ‘विद्यालयको भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालयले १६ लाख दिएको थियो, अध्यक्षलाई पटक÷पटक रकम निकाल्न चेकमा हस्ताक्षर गर्न आग्रह गर्दा पनि मानेन, त्यसपछि आफैले निकाले,’ निप्रअ भण्डारीले भनिन् ।

ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक मोहन साउँदले विद्यालयका निप्रअले हस्ताक्षर किर्ते गरेर बैंकबाट रकम निकासा गरेको प्रमाण विद्यालय व्यवस्थापन समितिका अध्यक्षसँग नभएकाले मुद्धा दर्ता नगरेकोे बताए । ‘लेनदेनको विवाद भएकोले चासो लिएनौं,’ उनले भने ।