१९१० पटक हेरिएको
प्रकाशित: २०७४ फाल्गुण २९ , १०:३९ बजे

यो हो नेपाल प्रहरी !

Image

महेन्द्रनगर । आपराधिक मुद्दाको अभियोजन प्रहरीले गर्ने हो । राज्यले प्रहरी अधिकृत र अधिकारीलाई विश्वास गरेर अभियोजन अर्थात् मुद्दा चलाउने अधिकार दिएको हो । प्रहरीले पहिलो दृष्टिमैं आपराधिक देखिने घटनाको वहृत् छानविन गर्छ भन्ने आम विश्वास पनि छ । तर, भीमदत्त नगरपालिका वडा नम्बर १३ मा सोमबार भएको एक घटनामा प्रहरीले ‘सामान्य’ भन्दै पक्राउ परेकालाई समेत छाडिदिएको छ । पहिलो दृष्टिमा हेर्दा सो घटना ‘जघन्य’ देखिन्छ ।

घटनाको प्रकृति सामान्य होइन, जघन्य देखिन्छ । बिहान करिब ८ बजे तीनजना सवार मोटरसाइकल (से३प १९८८) भीमदत्त नगरपालिका वडा नं. १३ बर्मे चौराहा नजिक रोकिन्छ । मोटरसाइकलको बीचमा एक युवती थिइन् । चालक र पछाडि बस्ने पुरुष थिए । बर्मे चौराहा नजिक चालक र पछाडि बस्ने व्यक्तिले बीचमा बसेकी युवतीलाई मोटरसाइकलबाट झारेर हिंडे ।  दुई पुरुष मोटरसाइकल चलाएर बेपत्ता भएको केही मिनेटमैं ती युवती बेहोस भएर ढलिन् । बर्मेचोकमा चिया खान जम्मा भएका स्थानीय वासिन्दाले अपरिचित युवती मुर्छा परेपछि झोलुंगे पुल प्रहरी चौकीलाई खबर गरे ।

प्रहरी घटनास्थल आउने बेलासम्म स्थानीय वासिन्दाले मुर्छित युवतीको उद्धार जारी राखे । ‘युवतीको हालत खराब थियो, लुगा च्यातिएको थियो र शरीरमा डाम थियो’ घटनास्थलमैं पुगेका मानसखण्डकर्मीसँग एक प्रत्यक्षदर्शीले भने, ‘१७–१८ वर्षकी देखिने ती युवतीमाथि अत्याचार भएको महसुस भयो ।’ ती प्रत्यक्षदर्शीका अनुसार युवति रगताम्य थिइन् ।स्थानीय वासिन्दाको खबरपछि झोलुंगे पुल प्रहरी पोष्टबाट खटिएका प्रहरीकर्मीले युवतीलाई महाकाली अञ्चल अस्पताल पुर्‍याए । 

सूचना नै दर्ता भएन
पीडित हुने युवती भीमदत्त नगरपालिकाको हल्दुखाल निवासी रहेको प्रहरीले नै सनाखत गरेको छ । १७ वर्षीया ती युवतीलाई बर्मे चौराहमा छोड्ने मध्यका एक युवकलाई केही समयपछि मोटरसाइकल समेत प्रहरीले पक्राउ गर्‍यो भने अर्का व्यक्तिलाई दिनभरि प्रहरीले खोजी गरिरह्यो । तर,  प्रहरीले पक्राउ परेका युवक र मोटरसाइकललाई साँझ पख छोडिदियो । घटनाको सूचना समेत प्रहरीले आधिकारिक रेकर्डमा राखेको छैन । दिउँसो प्रहरीले पक्राउ गरेका युवक महाकाली नगरपालिका–२ बस्ने १८ वर्षीय सुरेन्द्र दमाई थिए ।

मेडिकल नै भएन
अचेत र अस्तव्यस्त रगतपच्छे शारिरीक अवस्था भएकी युवतीलाई प्रहरीले नै महाकाली अञ्चल अस्पताल पुर्‍याए पनि पीडितको मेडिकल जाँच गरिएन । प्रहरीले केसफाराम नगराएपछि इमर्जेन्सीमा भर्ना गरिएकी ती युवतीलाइृ त्यहिंबाट फर्काइयो । अस्पताल पुगेपछि मात्रै युवतीको होस आएको थियो । पारिवारिक स्रोतका अनुसार युवतीसँग प्रहरीले कुनै वयान लिएन ।

प्रहरीले ‘कुरा मिलिसकेको’ भन्दै अस्पताल प्रशासनलाई केसफाराम नदिएको अस्पताल स्रोतको दावी छ । प्रहरीले घटनास्थलमा देखिएको मोटरसाइकल सहित पक्राउ परेका दमाईलाई कार्यालय समय अर्थात बेलुका ५ नबज्दै छोडेको थियो । गम्भीर प्रकृतिको घटना भए पनि  प्रहरीले हतार गर्नु अर्थपूर्ण मानिएको छ । इमर्जेन्सीबाटै युवतीलाई पनि प्रहरीले आफन्तको जिम्मा लगाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक डिल्लीराज विष्टले युवकको कुनै गल्ती नदेखिएको बताएका छन् । ‘युवकको गलत नियत देखिएन्, किशोरीलाई राम्रो नियतले झोलुङ्गेबाट ल्याएर बर्मी चौराहमा छोडेको रहेछ,’ प्रहरी उपरीक्षक (एसपी) विष्टले भने । तर, एसपी विष्टले युवतीको शरीरमा भएको चोट र उनी मुर्छित हुने अवस्थाका बारेमा प्रष्ट बताएनन् ।
मेडिकल जाँच नै नगराइएकी युवती मानसिक रुपमा अस्वस्थ रहेको ठोकुवा एसपी विष्टले गरेका छन् ।

एसपी विष्टसँगको टेलिफोन सम्वाद मानसखण्डसँग सुरक्षित छ । सम्वादमा विष्ट आफै न्यायाधीशको तरिकाले प्रस्तुत भएका छन् । प्रहरी उपरीक्षक (एसपी) विष्टसँगको टेलिफोन सम्वादमा उनले पीडित युवतीमाथि नै दोष थोपर्ने कोशिस गरेका छन् । पीडित युवती अस्पातलमा करिब ३ घण्टा बसिन् । प्रहरीले केसफाराम नै नगरी उनलाई जिल्ला प्रहरी कार्यालय ल्यायो र साझ  ५ बजे छोडिदियो ।

एसपीको कथन दैनिक मानसखण्डले आफ्नो यूट्युब चयनलमा समेत अपलोड गरेको छ । युवतीको हालत देख्दाहेर्दा उनीमाथि ठूलो अत्याचार भएको देखिए पनि प्रहरीले यो घटनालाई ‘मामुली’ ठानेको आभाष भएको छ ।जिल्ला प्रहरी कार्यालयका डीएसपी ज्ञानबहादुर सेटीले घटना समाचारको विषय नभएको बताएका छन् । उनले भने, ‘यो समाचारलायक होइन, सामान्य घटना हो ।


About Author
-मानसखण्ड