१३९४ पटक हेरिएको
प्रकाशित: २०७४ फाल्गुण २७ आइतबार, ०९:५३ बजे

भीमदत्तको नगरसभामा बबाल

Image

महेन्द्रनगर । भीमदत्त नगरपालिकाको दोस्रो नगरसभाबाट विभिन्न ऐन र निर्णय पारित गरिएका छन् । भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा शनिबार बसेको नगरसभा ७ वटा निर्णय पारित गरेको हो ।

नगरसभाबाट आर्थिक ऐन २०७४, सहकारी ऐन २०७४ र प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन २०७४ पारित गरिएको नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १८ का अध्यक्ष राजेन्द्र पाण्डेयले बताए । उनका अनुसार नगरसभा व्यवस्थित गर्न नगरसभा सञ्चालन हुने हलमा आवश्यकता अनुसार कर्मचारी रहन अनुमति दिने, पशु सेवा अन्र्तगत छुटेको बजेट विनियोजनका लागि कार्यपालिकालाई अधिकार दिने र विभिन्न ६ वटा समितिका पुनः गठनका लागि नगर कार्यपालिकालाई अधिकार दिने, नगरपालिकाका सबै वडामा एक/एक जना वडा प्रहरी र नगरपालिकाको कार्यालयमा ८ जना नगर प्रहरी गरी २७ जना नगर प्रहरीको दरबन्दी स्वीकृृत गर्ने निर्णय गरिएको छ ।

नगर सभामा नगरपालिकालाई समृद्ध बनाउने लक्ष्य सहित विकास निर्माण समीक्षा, ऐन पारित सहितका विभिन्न निर्णयहरु गरिएको जानकारी प्रबत्ता पाण्डेयले बताए ।
नगरसभा ३ घण्टा अबरुद्ध
शनिबार भएको भीमदत्त नगरपालिकाको नगरसभा वडा सदस्यहरुले ३ घण्टा अवरुद्ध गरेका थिए । विभिन्न माग राख्दै नगरपालिकाका १९ वटै वडाका सदस्यहरुले नगरसभा अबरुद्ध गरेका थिए । नगरसभाबाट पारित हुन लागेका निर्णय तथा एन वडा कार्य समितिसँग छलफल नगरि पारित गरिएको भन्दै वडा सदस्यहरुले नगरसभामा विरोध जनाएको वडा नम्बर ७ का सदस्य सरस्वती नेपालीले बताइन् । उनका अनुसार नगरसभा ३ घण्टा अबरुद्ध भएको थियो ।

वडा सदस्यले पनि नगरपालिका तथा वडा कार्यालयबाट सेवा सुविधा पाउनुपर्ने माग राखेको वडा नम्बर १४ का वडा सदस्य जानकी दमाइले बताइन । उनका अनुसार नगरपालिकाले वडा अध्यक्षहरुलाई मोटरसाइकल दिएको छ । ‘वडा अध्यक्षलाई गाडी दिएको छ, गाडीमा हाल्न तेल दिएको छ, हामीले पनि सेवा सुविधा पाउनु पर्छ,’ उनले भनिन् ।

नगरसभामा वडा सदस्यलाई पनि आर्थिक खर्च बारे जानकारी दिनुपर्ने माग राखिएको वडा नम्बर १३ का वडा सदस्य शंकर उपाध्ययले बताए । उनका अनुसार वडा कार्यालयमा राखिएका नागरिक वडापत्रमा वडा अध्यक्ष र वडा सदस्यको काम कर्तव्यबारे जानकारी दिएको छैन्, । ‘हाम्रो काम कर्तव्यबारे कुनै जानकारी छैन्, नागरिकलाई वडा सदस्यका काम कर्तव्य पनि थाहा हुनुपर्छ,’ उनले भने ।

वडा सदस्यका मागहरु पुरा गर्ने सहमतिपछि नगरसभा चलेको उनले बताए । भीमदत्त नगरपालिकाका प्रवत्ता राजेन्द्र पाण्डेले वडा सदस्य नगरपालिका धेरै दिनपछि आएकाले बिरोध जनाएको बताए । ‘वडा सदस्यहरुका कुनै माग छैनन्.,’ उनले भने ।


About Author
-होम योगी